Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

युएईमा देउसी भैलो कार्यक्रम सम्पन्न

Published on 9:30:00 PM //


लालबहादुर ढेंगा, दुबई, युएई
दुबई । नेपालीहरुको महान चाड तिहारको पावन अवसरमा युएईमा कार्यरत दाजुभाई तथा दिदीबहिनीहरुले धुमधांमका साथ देउसी भैलो कार्यक्रम सम्पन्न गरेको छ । विदेशको भूमिमा आफ्नो मौलिक भाषा, रीतिरिवाज र चाड पर्वहरुलाई कायम राख्दै नेपाली संस्कृतिको पनि उत्थान गरेको छ । सो कार्यक्रम नेपाली एकता समाज युएईको आयोजनामा युएईस्थित आपत विपतमा परेका प्रवासी नेपालीहरुको उद्धार तथा सहयोग गर्ने हेतुले गरेको हो ।
उक्त देउसी भैलो कार्यक्रम नेपाली एकता समाज युएईका अध्यक्ष कृष्ण केसीको अध्यक्षतामा गत १५ नोभेम्बर बिहीबार र १६ नोभेम्बर शुक्रबारका दिन दुबई, शारजाह, अबुधावी र अजमानमा गरी ४ वटा सहरमा खेलेको थियो । यस एतिहासिक कार्यक्रममा दुबईमा आएको भर्खर १६ दिन मात्र भएको अनिता सापकोटाले विदेशमा आएर पनि तिहारको पर्वमा देउसी र भैलोको गीतमा रम्न पाउंदा नेपालमै रहेको अनुभूति भएको बताईन् भने दुबईमा आएको २ महिना भएको बसन्ता बन्जाडेले नेपाली दाजुभाईहरुसंग भेटघाट र नेपाली पसल र नेपाली रेष्टुरेण्टहरुमा जान पाउंदा सोचेभन्दा धेरै मनोंरञ्जन भएको बताईन् । स्थानीय कलाकारहरुको प्रस्तुतिमा देउसी भैलोको गीतसंगै लोकभाकाका गीतले पनि कार्यक्रमलाई अझै तताएको थियो । लगभग ३० जनाको टोलीमा संस्थाको व्यानरसहित माडलको ताल, खैजेडुको झन्झनात, हारमोनियमको लय र बांसुरीको मिठो धुनले आफैमा अलग संगम बनाएको थियो । त्यसमाथि पनि सेतो दौंरा र सुरुवालसंगै कम्बरमा रातो पटुकी कसी पाल्पाली ढाका टोपीमा सजिएको कलाकार डम्बर भण्डारीको नृत्यमा बसन्ता बन्जाडे र अनिता सापकोटाको साथले अझै सुनमा सुगन्ध थपिएको थियो ।
यस २ दिने दिउसी भैलो खेल्ने योजना अन्तर्गत दुबईमा– याक एण्ड यति वार एण्ड नेपाली रेष्टुरेण्ट, नेपाली रेष्टुरेण्ट, संजय गार्मेन्टस, सिल्वर स्पून नेपाली रेष्टुरेण्ट, काठमाण्डौं हाईल्याण्ड रेष्टुरेण्ट, बागलुङ सेवा समाज युएईका अध्यक्ष गोपाल कंडेल र शिवराज जैसीको कोठा साथीहरु रहेका छन् । त्यस्तैगरी अबुधावीमा– नेपाली राजदूतावास, हिमालयन रेष्टुरेण्ट, काठमाण्डौं रेष्टुरेण्ट र ग्रीन लाईन ट्राभल्स रहेका छन् भने शारजाहमा– फुड कोर्नर रेष्टुरेण्ट, नेपाली समाज युएईका अध्यक्ष कृष्ण ढकाल र बागलुङ सेवा समाज युएईका कोषाध्यक्ष पिताम्बर पाण्डे रहेका छन् । साथै अजमानमा– नेपाली रेष्टुरेण्ट रहेको छ ।
शुभ दिपावली २०६९ को पावन अवसरमा शुभकामना तथा देउसी भैलो कार्यक्रम आयोजक समितिलाई धन्यबाद दिनेहरुमा नेपाली राजदूतावासका राजदूत धनन्जय झा, उपनियोग प्रमुख दीपक अधिकारी, द्धितीय सचिव ललितमान श्रेष्ठ, श्रम सहचारी हिरा पौडेल, नेपाली समाज युएईका अध्यक्ष कृष्ण ढकाल, सिल्वर स्पून नेपाली रेष्टुरेण्टका संचालिका दिपा पाण्डे, फुड कोर्नर रेष्टुरेण्टका संचालक विदुर रावत, बागलुङ सेवा समाज युएईका अध्यक्ष गोपाल कंडेल र बागलुङ सेवा समाज युएईका कोषाध्यक्ष पिताम्बर पाण्डे रहेका छन् । उक्त देउसी भैलो कार्यक्रमबाट ५ हजार दिराम संकलन भएको आयोजक समितिले जानकारी दिएका छन् ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग