Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुमीबाट बिरेन्द्रनगर जाँदै गरेको बस दुर्घटना, १५ को मृत्यु १७ घाईते

Published on 5:53:00 PM //


 सुर्खेत, पुस १३ - गुमीबाट वीरेन्द्रनगर आउँदै गरेको बस आज बिहान धुलियाबिट-भेडावारी सडकको दशरथपुरस्थित गमखोलामा दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ। दुर्घटनामा १७ घाइते भएका छन्। मध्यपश्चिम यातायातको ना२ख ५७४१ नम्बरको बस बिहान करिब सवा आठ बजे सडकदेखि ५० मिटर खोलामा खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा तीन सैनिकको मृत्यु भएको छ।
भीमदल गणमा कार्यरत चितवन भरतपुरका रामबहादुर रानाभाट, चण्डीप्रसाद गणमा कार्यरत सुर्खेत गुमीका गजेन्द्र गुरुङ र कालीदल गणमा कार्यरत सुर्खेत दशरथपुरका मानबहादुर गाहाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी विनोद घिमिरेले जानकारी दिए।
अन्य मृतकमा सुर्खेत दशरथपुरका ममता खड्का, दीपा ढकाल, कुमार पौडेल, गुमीका केशर श्रीषमगर र उनका १२ वर्षीय छोरा प्रज्वल, साटाखानीका यमन मिदुन, कल्याणका चन्द्रकला रावत, दैलेख चौराठाका पूर्वलडाकू टंकराज बिक र लेखफर्साकी वुद्धिकला फौजा, अजित सुनार र बसचालक ललित भण्डारी छन्। मृतकमध्ये एकजनाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ।
१३ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने बसचालक भण्डारीको कोहलपुरस्थित शिक्षण अस्पताल र फौजाको वीरेन्द्रनगरस्थित मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको डिएसपी घिमिरेले बताए।
घटनाको कारण खुल्न सकेको छैन। विपरित दिशाबाट आइरहेको सवारीलाई जोगाउन खोज्दा खसेको हुनसक्ने अनुमान प्रहरीले गरे पनि त्यसको पुष्टि नभएको घटनास्थल पुगेका सुर्खेतका प्रहरीप्रमुख एसपी विश्वनिरञ्जन प्रधानले बताए।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग