Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मी जिल्ला समाजको च्यारिटी कार्यक्रम सम्पन्न

Published on 1:20:00 AM //


केशब भण्डारी
युके - गुल्मी जिल्ला समाज, युकेले नेपालमा अपाङ्गहरुको सहयोगका लागि विश्व अपाङ्ग दिवसको अवसर पारेर लण्डनमा एक च्यारिटी डिनर कार्यक्रम सम्पन्न गरेको छ ।

यही डिसेम्बर २ तारिख लण्डनको साउथइष्ट किडब्रोकमा सम्पन्न कार्यक्रम गुल्मी जिल्ला समाजसँग आवद्ध समाजसेवीहरु र अन्य संघसंस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिती थियो । उक्त च्यारिटी डिनर कार्यक्रमको उद्घाटन समाजका अध्यक्ष ओमप्रसाद थापा र बेलायतका लागि नेपाली राजदूताबासका काउन्सीलर तेजप्रसाद खत्रीले संयुक्त रुपमा पानसमा दिप प्रज्वलित गरी गर्नु भएको थियो ।

गुल्मी जिल्लासमाज, युकेले गतवर्ष बेलायतमा पहिलोपटक नेपालका अपाङ्गहरुको सहयोगका लागि एकभब्य च्यारिटी कार्यक्रम गरी करिब १६ लाख रुपिया नेपालमा अपाङ्गहरुको लागि काम गरिरहेको संस्था आशा अपाङ्ग केन्द्रलार्य सहयोग गरेको थियो ।

उक्त रकमबाट गुल्मीमा अपाङ्गहरुको लागि निकै प्रभावकारी कार्य भएकोले त्यसको निरन्तरताको लागि यसवर्ष पनि छोटो तयारीमा कार्यक्रम सम्पन्न गरिएको गुल्मी जिल्ला समाज, युकेले बताएको छ । कार्यक्रममा प्रमुख अतिथि राजदूतावासका काउन्सीलर तेजबहादुर खत्रीले गुल्मेलीहरुको सामाजिक कार्यबाट आफू निकै प्रभावित भएको बताउँदै राजदूतावास र आफ्नो तर्फबाट गुल्मी जिल्ला समाजलाई सधैँ सहयोग र समर्थन प्राप्त हुने बताउनु भयो । एनआरएनका उपाध्यक्ष महेन्द्र कणेलले गुल्मी जिल्ला समाजको कार्य सबैलाई प्रेरणदायी भएको बताउनुभयो ।

गुल्मी जिल्ला समाजका अध्यक्ष ओमप्रसाद थापाले कार्यक्रमको उद्धेश्यबारे प्रकाश पार्दै गतवर्षको सहयोगले आशा अपाङ्ग केन्द्रले गुल्मीका अपाङ्गहरुको लागि गरेको कार्यको भिजुवल सो सहित अपस्थित सबैलाई विस्तृत जानकारी गराउनु भएको थियो । आशा अपाङ्ग केन्द्रलाई एम्बुलेन्स हस्तान्तरण गर्न स्वयम गुल्मी जिल्ला पुग्नु भएका अध्यक्ष थापाले अपाङ्गहरुको लागि सुविधा सहितको भवन विस्तार लगायत अपाङ्गहरुको आत्मनिर्भरका लागि बिभिन्न आयमूलक कार्यक्रममा आशा अपाङ्ग केन्द्रले सहयोग गरेको गुल्मीन्युज डट कमलाई बताउनु भयो । साथै कृत्रिम हातखुट्टा र अन्य औषधी उपचारको व्यवस्था पनि गुल्मी समाजको सहयोगले अपाङ्गहरुको लागि उपलब्ध गराइएको जानकारी गराउनु भयो ।

समाजका महासचिव अर्जुन गौतमले संचालन गर्नु भएको सो कार्यक्रममा समाजका सल्लाहकार पशुपति भण्डारीले गुल्मी जिल्ला समाजले हालै गुल्मीको रेसुङ्गा क्याम्पसलाई गरेको सहयोगबारे जानकारी गराउनु भएको थियो । कार्यक्रममा हेल्थ र सेप्टीबारे समाजका सचिव विनोद ज्ञवाली, स्वागत मन्तव्य कार्यक्रम संयोजक फत्त थापा र धन्यवाद अर्का संयोजक डासुराम पाण्डेले गर्नु भएको थियो । कार्यक्रम उपसंयोजक शिव भण्डारीले चन्दादाताहरुको जानकारी दिँदै सबैलाई धन्यवाद दिनुभयो । कवि गोकुल भण्डारीले राष्ट्रिय भावनाले ओतप्रेरित कविता वाचन गर्नुभयो ।

टोप बहादुर पल्लीले कोअर्डिनेटर गर्नुभएको प्रथम नौमति बाजाको टीमले कार्यक्रमभर पूर्ण मनोरञ्जन प्रदान गरेका थिए भने स्थानीय कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए भने रवि गुरुङले डिजे प्रस्तुत गर्नु भएको थियो, जहाँ कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए । अपाङ्गहरुको लागि सहयोग गर्ने समाजसेवीहरुलाई कदरपत्र र खादाले सम्मान गरिएको थियो ।

कार्यक्रममा नेपाली राजदूतावासका अटैयी विश्वनाथ घिमिरे, सुर्यप्रसाद थापा, एनआरएन युकेका महासचिव रामशरण सिंखडा, पशुपति मन्दिरका अध्यक्ष होम शर्मा, चाल्टन समाजका सुरज केसी, गायक विवेक श्रेष्ठ नर्सिङ एसोसियसनकी उपाध्यक्ष सुसिला कार्की लगायत गुल्मी जिल्ला समाजका पदाधिकारी एंव सल्लाहकारहरुको उपस्थिती थियो ।

समाजका सल्लाहकार गोकर्ण बस्नेत र कम्युनिका प्रिन्टीङ एंव डिजाइन कम्पनीले टिकटको स्पोन्सर गरेका थिए भने खानाको व्यवस्था नेपाली खाना रेष्टुरेन्टले गरेको थियो । कार्यक्रमबाट सहयोग बापत उठेको रकम छिट्टै नै आशा अपाङ्ग केन्द्र, गुल्मी नेपाललाई पठाउने आयोजक गुल्मी जिल्ला समाजले जानकारी गराएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग