Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एघार वर्षको बालकले कक्षामै बन्दुक ल्याए

Published on 3:57:00 PM //


लस एन्जलस, पुस ५ (एजेन्सी)- लस एन्जलसको साल्ट लेक सिटीस्थित वेस्ट केर्न विद्यालयमा पढ्ने ११ वर्षे बालकले आफू र साथीलाई सम्भावित आक्रमणबाट बचाउन कक्षामा हाते पेस्तोल ल्याएका छन्।
अमेरिकाको कनेक्टिकट राज्यको न्युटाउनस्थित स्यान्डी हुक एलिमेन्ट्रि स्कुलमा शुक्रबार एक बन्दुकधारीले २० बालबालिकासहित २७ को हत्या गरेको घटना सेलाउन नपाउँदै यो घटना भएको छ। घटना सोमबार भएको हो।
तर ती बालकले साथीको हत्या गर्न नभई सम्भावित आक्रमणबाट बच्न बन्दुक ल्याएको बताएका छन्। उनले न्युटाउनको स्कुल हत्याकान्डमा २७ मारिएको थाहा पाएर आक्रमणबाट बच्न बन्दुक बोकेको बताएका छन्। उनले बन्दुक ल्याएको आफ्ना साथीलाई बताएका थिए। त्यसपछि उनका साथीले स्कुलका प्रधानाध्यापकलाई स्कुलमा बन्दुक ल्याएको जानकारी गराएका थिए।
विद्यालय प्रवक्ताका अनुसार विद्यार्थीले दिएको जानकारीका आधारमा प्रधानाध्यापकले ती बालकलाई प्रहरीमार्फत झिकाएर सोधपुछ गरेका थिए। निकै बेरको सोधपुछपछि ती बालकले बन्दुक ल्याएको स्वीकारेका थिए।
बालकले पेस्तोल आफ्नो शरीरको पछाडि लुकाएर ल्याएको समाचारमा उल्लेख छ। उनलाई प्रहरी हिरासतमा पठाइएको थियो। हिरासतमै प्रहरीसमक्ष उनले बन्दुक देखाए।
विद्यालयमा बिहान खाना खाने क्रममा सबै विद्यार्थी बाहिर निस्किएको बेला ती बालकले आफूसँग बन्दुक भएको बताएका थिए। उनले सबैलाई निर्धक्क भएर वा सुरक्षित महसुश गर्न भनेका थिए। उनका सबैभन्दा मिल्ने तीन विद्यार्थीका अनुसार ती बालकले आफूसँग बन्दुक रहेको निकै डरलाग्दो पाराले व्यक्त गरेका थिए।
विद्यालय प्रशासनले गोली नभरेको खाली पेस्तोल भएको बतायो। खाली नै भएपनि उसले पेस्तोल निकै जतनसाथ लुकाएर राखेको थियो। अमेरिकामा बन्दुक राख्न पाउने अधिकारबारे विवादास्पद भनाइ बाहिर आइरहेका बेला शुक्रबारको हत्याकान्ड लगत्तै यो अर्काे घटना सार्वजनिक भएको छ।
अमेरिकामा विभिन्न राज्यमा फरक फरक रहेक कानुन परिवर्तन गरी बन्दुकमाथि प्रतिबन्ध लगाउने विषयमा फेरि एकपल्ट ठूलै बहस र विवाद हुने देखिएको छ। शिक्षिका आमाले राखेको बन्दुक ल्याएर न्युटाउनस्थित स्यान्डी हुक इलिमेन्ट्री स्कुलमा शुक्रबार गोलीप्रहार गरी एक २० वर्षे एडम लान्जाले २७ जनाको हत्या गरेको थियो।
तत्कालीन राष्ट्रपति बिल क्लिन्टनले सन् १९९३ मा हस्ताक्षर गरेको कानुनअनुसार अमेरिकामा बन्दुक खरिद गर्नेले आफ्नो पृष्ठभूमि विषयमा राज्यलाई जानकारी दिनुपर्छ। यो कानुनी व्यवस्था फौजदारी अभियोग लागेका र मानसिक अवस्था ठीक नभएकाबारे तत्कालै थाहा पाउन सकियोस् भनी लागु गरिएको थियो।
उक्त कानुनअनुसार अनुमतिप्राप्त बन्दुक व्यापारी, उत्पादक, आयातकर्तालगायत केहीमा मात्र लागु हुन्छ। यसरी राखिएका बन्दुकको दुरुपयोग गरी विभिन्न समयमा अमेरिकामा हत्याकान्ड हुन थालेपछि बन्दुक राख्न पाउने कानुनबारे तीव्र बहस सुरु भएको छ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग