Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

भारतबाट ४५ बर्षमा गाउँ फकिदाँ...

Published on 6:40:00 PM //


मनोज बस्नेत
गुल्मी, माघ ४ । नाम केश बहादुर थापा र उमेर ५५ बर्ष बताउने एक व्यक्ती गुल्मीको सदरमुकाम तम्घासमा भेटिनुभयो । उहाँलाई आफ्नो घर गुल्मीको ईश्मामा हो भन्ने सामान्य ज्ञान छ तर वास्तविक ठेगाना थाहा छैन् । आफु भारतबाट आएको बताउने उहाँ एक होटल व्यवशायीको सहयोगमा ईश्माको गाडिमा चढेर ईश्मा पुग्नुभयो, तर उहाँले आफ्नो घर पत्ता लगाउनै सक्नुभएन, न त उहाँलाई कसैले चिन्न सक्यो ।

 ‘म १० बर्षको हुँदा ईश्माबाट हिँड्दै तम्घास आएँ, त्यसपछि पाल्पा हुँदै भारत गएको हुँ’ उहाँले भन्नुभयो ‘ईश्माका मान्छे मरे भने छल्दि पनाहामा लगेर जलाउँछन् मलाई यो चाँही थाहा छ ।’ उहाँले घर ईश्मामै भएको बताउनुहुन्छ तर कहाँ भन्ने थाहा छैन । उहाँले आफ्ना परिवारका केहि सदस्यको नाम पनि सम्झनुभएको छ । ‘मेरो बुबाको नाम लिल बहादुर थापा हो, भाईको नाम दिल बहादुर थापा हो, म चार भाईमा जेठो हुँ तर अरु भाइको नाम बिर्सिसकेँ’ उहाँले भन्नुभयो । साथै आफ्ना २ दिदि र १ बहिनी भएको र ३ दिदि बहिनी मध्ये एउटीको गुल्मीकै दर्लिङमा बिबाह भएको हो ।’ उहाँले थप्नुभयो ।

आफु १० बर्षको छँदा ४ जना साथी मिलेर भारत पसेको उहाँ बताउनुहुन्छ ।  तर त्यतिखेर आफु सगैँ गएका आफ्ना कुनैपनि साथीको नाम याद छैन् । ‘२०२५ सालमा पनाहको झलुङ्गे पुल तरेर पाल्पा हुँदै ईन्डिया गएका हौँ ’ उहाँले भन्नुभयो ‘ त्यसपछि भारतको देहेरादुनमा बस्दै आएको छु ।’ ‘भारतमा त्यहिँको मान्छेको घरमा खेतिपातीको काम गरेर आज सम्म बसेँ’ उहाँले भन्नुहुन्छ ‘बुढेसकालमा घर परिवार चाहिन्छ भनेर नेपाल आएको हुँ ।’ भारतमै २२ बर्षको उमेरमा बिबाह गरेको उहाँले बताउनुभयो । अहिले पत्नी पनि सँगै आउनुभएको छ ।

ईश्माका शिक्षक छवि अधिकारीका अनुसार गाउँमा गाइँगुइँ मच्चिदा समेत उनीहरुलाई खोज्न कोहि पनि आएको छैन् । ‘आज ईश्मा आएका हुन परिवारका केहि कुरा पनि बताउँछन तर उनीहरुलाई घर कहाँ भन्ने थाह छैन्’ अधिकारीले भन्नुभयो ‘तपाईको मिडियाबाट कुनै सहयोग गर्न सकिन्छ कि ।’ थापा दम्पति अहिले ईश्मा मैदानमा रहेको एउटा होटलमा बसेका छन् । उनीहरुले कसैले आफुलाई चिनेमा ईश्मा मैदानमा पुगेर खोज तलास गर्न समेत अनुरोध गरेका छन् ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग