Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गाउँमै खुल्यो साबुन उद्योग, मासिक एक लाख आम्दानी

Published on 3:44:00 AM //


धुर्कोट, ९ माघ । उद्योग र कलकारखानाहरू सहरमात्रै केन्द्रित छन्, गाउँमा विकासका सम्भावनाहरू कम छन् भनेर धेरै सहर पस्छन् तर गुल्मी र बाग्लुङको सिमानामा पर्ने दगातुम्डाँडाका किसानले गाउँमै साबुन उद्योग खोलेर उत्साहजनक आम्दानी लिएका छन् ।
गुल्मी जिल्लासँग सिमाना जोडिएको बाग्लुङ सदरमुकामबाट ७० किमी दक्षिण पश्चिम दगातुम्डाँडा गाविसमा जङ्गलभरि खेर गइरहेको चिउरीको सदुपयोग गर्दै किसानले गाउँमै साबुन उद्योग खोलेका हुन् । जङ्गलमा खेर गइरहेको चिउरीबाट स्थानीय कामदारको उपयोग गरी उत्पादन गरिएको साबुन बिक्रीबाट राम्रो प्रतिफल पाएपछि त्यहाँका बासिन्दा अहिले मक्ख छन् ।
तीन वर्षअघि संयुक्त राष्ट्रसङ्घीय विकास परियोजनाअन्तर्गत लघुउद्यम विकास कार्यक्रम नामक गैरसरकारी संस्थाले खर्बाङमा चिउरीको सम्भाव्यता र त्यसको उपयोगबारे अध्ययन गरी गाउँमै साबुन उत्पादन हुने देखेपछि उक्त संस्थाले स्थानीयलाई तालिम दिएर यसतर्फ प्रेरित गरेको हो ।
लघुउद्यम विकास कार्यक्रमको पहलमा स्थानीय जनता, स्थानीय सहकारीहरू, सामुदायिक वनलगायतको २० लाख लगानीमा खर्वाङ साबुन उद्योग सञ्चालन भएको बताउनुहुन्छ उद्योगका अध्यक्ष यमबहादुर भुजेल मगर ।
गाउँका जनताले जङ्गलमा खेर गएको चिउरी जम्मा पारेर उद्योगमा ल्याउँछन् । उद्योगले सामुदायिक वनबाट उपभोक्ताले सङ्कलन गर्ने चिउरी प्रतिकेजी २० रुपैयाँमा किन्ने गरेको छ । तीन केजी चिउरीबाट एक केजी घिउ र एक केजी घिउबाट २० वटा साबुन बन्छन् ।
चिउरी सङ्कलन गर्नेले पनि रोजगारी पाएका छन् भने उद्योगमा काम गर्नेले पनि । सङ्कलन गरिएको चिउरी पेलेर निकालिएको घिउमा स्थानीय कच्चापदार्थ मिश्रण गरी साबुन बनाउने गरेको बताउनुहुन्छ अध्यक्ष भुजेल । साबुन बनेपछि बाँकी रहेको चिउरीको पिनासमेत विभिन्न कामका लागि प्रयोग हुने गरेको छ ।
उक्त साबुनले भर्खरै नेपाल गुणस्तर विभागबाट गुणस्तर प्रमाणको चिह्नसमेत पाएको छ । गुणस्तर चिह्न पाएपछि उक्त साबुनलाई सजिलै बजारमा लैजाने बाटो खुलेको छ । उक्त साबुनमा चिउरीको घिउबाहेक नरिवलको तेल, केस्टर, फम बुस्टर, गिल्सिरिन, स्प्रिट, सेन्ट आदि पदार्थ प्रयोग हुन्छ । यस्तै अदुवा, कागती, तितेपाती, अमला र बकाइनोको रस पनि साबुनमा प्रयोग हुने भुजेलले जानकारी दिनुभयो ।
स्थानीय बजारमा धमाधम बिक्री हुन थालेको यो साबुनलाई पोखरा, बुटवल, चितवन, काठमाडौँलगायत ठूला सहरमा पु¥याउन सरकारी तथा अन्य सरोकारवाला निकायले ध्यान दिने हो भने स्थानीय उत्पादनको सदुपयोग हुने बताइन्छ । रासस

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग