Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मुसाले दु:ख दिएको छ? यसरी घरमा आँफै बन्ध्याकरण गर्दिनोस

Published on 3:43:00 PM //


लक्की चौधरी
    काठमाडौं, माघ ८ गते । के तपाईलाई मुसाले हैरान गरेको छ ? तपाईको नयाँ सुट, विजुलीको तार, घरको भित्तामा दुलो पारेर अचाक्ली गरेको छ । राती हल्ला गरेर सुत्न दिएको छैन या खेतबारीको बालीनाली सखाप पारेको छ ? अब हैरान नहुनुस्, मुसाको बन्ध्याकरण गर्ने प्रविधि आफ्नै घरमा तयार गरी मुसाको संख्या घटाउन सकिने भएको छ ।
    नेपाल कृषि अनुसन्धान परिषद (नार्क) ले ललितपुरको खुमलटारस्थित आफ्नो कार्यालयमा मुसालाई बन्ध्याकरण गरी तिनको संख्या घटाउने प्रविधि तयार गरेको छ । सो प्रविधिलाई आफ्नो घरमै प्रयोग गर्न सके मुसाको संख्यामा केही समयपछि नै कटौती गर्न सकिने दावी नार्कका मुसा विज्ञहरुको छ ।
    नार्कका अनुसार निमको विउँ र सरिफाको विउँलाई पिसेर गहुँ, चामल, दुधको पाउडर लगायतका खाद्यान्नमा मिसाएर साना केक बनाएर खुवाउने हो भने मुसाको प्रजनन शक्ति समाप्त हुन्छ । चाहे भाले मुसाले खावस् या पोथी मुसाले जसले खाए पनि प्रजननक्रिया रोकिन्छ । नार्कको विज्ञान महाशाखाले लामो समय अध्ययन अनुसन्धान गरी सो कुराको पुष्टि गरेको हो । वि.सं. २०२२ सालदेखि नार्कको सो महाशाखाले मुसाको प्रयोगशाला बनाई परीक्षण गर्दै आएको छ ।
    महाशाखामा अहिले पनि विभिन्न पाँच प्रजातिका मुसाको २० जोडीलाई प्रयोगशालामा राखेर परीक्षण गरिरहेको नार्कका पदाधिकारीहरुले बताउनुभयो । पछिल्लो छ महिना यता सो वनस्पतिको धुलो मिलाएर खुवाउँदा मुसाको प्रजननक्रिया पूर्णतः रोकिएको दावी प्रयोगशालामा आवद्ध मुसा विज्ञहरुको छ । मुसा प्रायः जन्मेको ११ सातामै सन्तान जन्माउनका लगि वयस्क हुन्छ । एक पटकमा कम्तिमा चार देखि १४ वटासम्म सन्तान एउटै मुसाले जन्माउने गरेको नार्कका प्रवक्ता मनोज ठाकुरले बताउनुभयो ।
    विश्वमा करिब दुई हजार प्रजातिको मुसा पाउने गरे पनि नेपालमा मात्रै ४५ प्रजातिका मुसा पाइने गरेको नार्कका किट विज्ञान महाशाखाका प्राविधिक अधिकृत पूर्णदास धौवजी श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार नार्कको प्रयोगशालामा अहिले पाँच प्रजाति खेत मुसा, घर मुसा, घर डुकुरे मुसा, ठूलो खेत मुसा र खेतको डुकुरे मुसा राखिएका छन् । तिनमा गरिएको सफल परीक्षणबाट नार्कले मुसाको संख्या नियोजन गर्न सकिने पुष्टि गरेको श्रेष्ठको ठहर छ ।
    मुसा विज्ञ श्रेष्ठले नार्कको प्रयोगशालामा सफल परीक्षण भएपछि अब जिल्ला, गाउँमा सो बारे आवश्यक जानकारी दिने तयारी नार्कले गरिरहेको छ । देशभर रहेको नार्कको शाखा कार्यालय मार्फत् आवश्यक प्राविधिक तालिमको तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । यद्यपि मुसाको संख्या नियन्त्रण गर्न भने सोचेजस्तो सजिलो नरहेको उहाँको तर्क छ । प्राविधिकरुपमा सबैलाई तालिम र जानकारी गराउन सकिए हरेक घरका सदस्यले आफै मुसा नियोजन कार्यमा जुट्न सके केही समयमा मुसाको संख्यामा नियन्त्रण गर्न सकिने उहाँको दावी छ ।
    नार्कका अनुसार भाले मुसा जन्मेको ११ हप्ता र पोथी मुसा १३ हप्तामा सन्तान जन्माउने परिपक्व हुन्छ । बच्चा जन्माउँदा प्रायः भाले र पोथीको संख्या बरोवरी हुन्छ । खाने, वस्ने वातावरण उचित भए एकजोडी मुसाले वर्षमा दुई हजार सन्तान जन्माउँछ । भाले र पोथी मुसाबीच योन सम्पर्क भएको २१ दिनमै मुसाले बच्चा जन्माउँछ ।
    मुसा विज्ञ पूर्णदास धौवजी श्रेष्ठका अनुसार मुसाले दिउँसोभन्दा राती स्पष्ट देख्छ । सुन्ने, सुंघ्ने शक्ति एकदम तेज भएको मुसाले रङ छुट्याउन भने सक्दैन । प्रायः मुसा एउटै बाटोबाट हिड्ने गर्छ । आपतकालि समयमा मात्रै उसले बाटोहरु बदलेर हिड्छ । मुसाको प्रजातिअनुसार तिनको तौल पनि फरक फरक हुने गर्छ । प्रायः २० ग्रामदेखि अढाई किलोसम्म मुसाको तौल हुने गरेको विज्ञ श्रेष्ठको भनाई छ ।
    मुसाको दाँत तिखो हुने हुँदा टोक्न सजिलै सक्छ । कुनै बेला मुसाको टोकाइले प्लेग जस्तो डरलाग्दो रोग लाग्ने हल्ला भएपनि त्यस्को पुष्टि आजसम्म नभएको विज्ञ श्रेष्ठले बताउनुभयो । मुसाले टोक्दा घाउ हुनुका साथै उसको मलमुत्र, विर्य खाद्यान्नमा मिस्सिइ खानाले विषम ज्वरो र कमलपित्त समेत हुन्छ श्रेष्ठले भन्नुभयो । छुचुन्द्रोले टोक्दा भने खतरा हुने हुँदा तत्काल एन्टीबायोटिक लिनुपर्ने विज्ञ श्रेष्ठले बताउनुभयो ।
    विदेशमा मुसा बन्ध्याकरणको कुनै प्रविधि नभए पनि अष्ट्रेलियाले सामान्य प्रविधि प्रयोगमा ल्याएको श्रेष्ठले बताउनुभयो । नेपालमा परीक्षण गरिएको प्रविधि नेपालकै विज्ञहरुको चेतना र ज्ञानले गरिएको दावी उहाँको छ । निम र सरिफा प्रायः गाउँघरमा सजिलै पाइने बनस्पति भएकाले गाउँघरका मान्छेले सो औषधि तयार गरी मुसालाई नियन्त्रण गर्न सकिने श्रेष्ठको बुझाई छ ।-गोरखापत्रबाट

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग