Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बेलायत बसेर गुल्मीको विकास

Published on 10:36:00 AM //

जनार्दन घिमिरे

गुल्मी । जीवनमा दुईचार पैसा कमाएर परिवारलाई राम्रोसँग पाल्न सकिएला कि भन्ने आशमा घरपरिवारलाई चटक्क छाडेर सात समुन्द्र पारि पुगेका गुल्मेलीहरु यतिबेला आफ्नो जिल्लाको विकास निर्माणमा सहयोग गर्न तम्सिएका छन् । छ वर्षअघि गुल्मी जिल्ला समाजको नाममा बेलायतमा दर्ता भएको संस्थाले हालसम्मको अवधिमा गुल्मीलाई एक करोडभन्दा बढी आर्थिक सहयोग गरिसकेको संस्थाका उपाध्यक्ष मोतीराज भण्डारीले जानकारी दिनु भयो । गुल्मीबाट बेलायतमा अध्ययन एवं कामको शिलशिलामा पुगेका व्यक्तिहरुले विभिन्न कार्यक्रमको आयोजना गरी सहयोग संकलन गर्दै आइरहेका छन् ।

संस्थाले गुल्मीमा चारवटा एम्वुलेन्स हस्तान्तरण गरिसकेको छ । जिल्लाका जोहाङ्ग, वामीटक्सार, धुर्कोट र तम्घासमा प्रदान गरिएका ती एम्बुलेन्सवाट गुल्मीका अधिकांश बिरामीहरुले राहत पाएका छन् । जिल्लामा अपाङ्गताको क्षेत्रमा काम गर्दै आइरहेको आशा अपाङ्ग केन्द्रमार्फत पनि सीपमूलक तथा आयमूलक कार्यक्र सञ्चालन गर्नुका साथै बिरामीहरुको उपचारमा समेत आर्थिक सहयोग गर्दै आइरहेको संस्थाकी उपाध्यक्ष गंगा रायमाझी बताउनुहुन्छ । सहयोगकै क्रममा बिहीवार उक्त संस्थाको तर्फवाट संस्थाका उपाध्यक्ष मोतीराज भण्डारीले एक थान पावरप्वाइण्टका साथै दुई लाख २७ हजार बराबरको चेक रकम संस्थालाई हस्तान्तरण गर्नुभएको छ । सो कार्यक्रमा हाल यूकेमा कार्यरत सुरेश गौतमद्वारा स्थापना गरिएको सामुदायिक विद्यालयका तर्फबाट एसएलसी परीक्षामा उत्कृष्ट अंक प्राप्त गर्ने एकजना छात्र र एकजना छात्रालाई गुल्मी जिल्ला समाज यूकेको संयोजनमा सम्मानसमेत गरिएको छ ।

गुल्मी जिल्ला समाजले यसअघि विभिन्न समयमा आशा अपाङ्ग केन्द्रलाई १८ लाख बराबरको रकम सहयोग गरिसकेको छ । उक्त रकमवाट गुल्मीका अपाङ्गहरुले च्याउ खेती, कुखुरापालन, मौरी पालन, वाख्रा पालन, मोवाइल पसल तथा खुद्रा पसल राखेर आफ्नो जिविका चलाइरहेका छन् ।गुल्मी समाज यूकेले विद्यालय, खानेपानी, मोटरबाटो, वाढीपीडित तथा आर्थिक अवस्था कमजोर भएका छात्रछात्राहरुलाई पनि सहयोग गर्दै आइरहेको भण्डारीले बताउनुभयो ।स्थापना समयमा २० जना सदस्यबाट शुरु गरिएको उक्त संस्थामा हालसम्म दुईसय आजीवन सदस्य र एक हजार साधारण सदस्य रहेका छन् । उनीहरुले संस्थामा आजीवन आवद्धताका लागि १ सय ५ पाउण्ड र साधारण सदस्यका लागि १० पाउण्ड सदस्यता शुल्क उठाउने गर्दछन् । “यसैबाट जम्मा भएको रकमबाट हामीले विदेशमा दुःख पाएका नेपालीहरुको सहयोगमा खर्चिने गरेका छौं । आगामी दिनमा यो सहयोगलाई निरन्तरता दिँदै विदेश पलायन हुन खोज्ने युवाहरुलाई नेपालमै रोजगारी दिनेखालका कार्यक्रम सञ्चालन गर्ने लक्ष छ ।”-उपाध्यक्ष भण्डारीले गुल्मीन्युज डट कमलाई भन्नुभयो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग