Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

खाद्यान्नमा गुल्मीबाट वार्षिक साढे २७ करोड बाहिरियो

Published on 8:14:00 AM //

घनश्याम गौतम
गुल्मी । तरकारी खेतीमा व्यावसायिक उत्पादन बढ्दै गए पनि खेतीयोग्य जमिन बाँझोमा परिणत हुँदै जाँदा जिल्लाबाट वाषिर्क २७ करोड रुपैयाँभन्दा बढी रकम खाद्यान्न खरिदमा बाहिरिने गरेको छ ।

जिल्ला कृषि विकास कार्यालयका अनुसार खाद्यान्न, तरकारी, फलफूल, दाललगायतका दैनिक उपभोग्य सामग्री खरिदमा वाषिर्क २७ करोड ४९ लाख ६० हजार रुपैयाँ बाहिरिने गरेको हो । कार्यालयका सूचना अधिकारी रामप्रसाद पाण्डेका अनुसार जिल्लाका लागि ६७ हजार २ सय ५५ टन खाद्यान्न आवश्यक पर्छ । त्यसमध्ये ५७ हजार ५ सय ३५ टन जिल्लामै उत्पादन हुन्छ भने ९ हजार ७ सय २० टन आयात हुने गरेको छ ।

त्यस्तै, जिल्लाबाट तरकारीमा वाषिर्क ६२ लाख रुपैयाँ, आलुमा २ करोड ३४ लाख, बीउबिजनमा ३० लाख, दालमा २५ लाख, तेल आयतमा २० लाख, लसुन प्याजलगायतमा ३५ लाख, फलफूलमा १२ लाख, सुन्तलामा ६ लाख र बेसारमा ३ लाख रुपैयाँ बर्सेनि बाहिरिने पाण्डेले बताए ।

कफीका लागि देशमै प्रख्यात मानिएकोले कफी बिक्रीबाट भने वाषिर्क २ करोड ३६ लाख १३ हजार रुपैयाँको कफी निर्यात हुने गरेको छ । त्यस्तै, गत वर्ष अदुवा बिक्रीबाट जिल्लामा ३ करोड रुपैयाँ भित्रिएको थियो । जिविसले अदुवामा आत्मनिर्भर जिल्ला घोषणा गरेको छ ।

खेती प्रणालीमा आधुनिकीकरण हुन नसक्नु, पर्याप्त सिँचाइको व्यवस्था नहुनु, किसानले आधुनिक खेती प्रणालीभन्दा परम्परागत खेतीलाई प्राथमिकता दिनु र उत्पादनभन्दा स्वादिलो बढी खोज्ने गरेकाले पनि आयातमा बढी निर्भर हुनुपरेको वरिष्ठ कृषि विकास अधिकृत चेतनाथ अधिकारीले बताए ।

'युवा विदेश पलायनले खेतीकिसानी गर्नेहरूको संख्या घट्दो छ,' अधिकारीले भने, 'ग्रामीण क्षेत्रकै किसान आफूले उत्पादन गरेको गाईभैंसीलाई खुवाउने र बजारबाट चामल किनेर खाने प्रवृत्तिले आयात बढ्दो छ ।'

जिल्लाभर १ लाख २४ हजार ९ सय ३७ हेक्टर जमिनमध्ये ८५ हजार ६ सय ७० हेक्टर जग्गा मात्र खेतीयोग्य छ । त्यसमा पनि ४५ हजार हेक्टरमा मात्र खेती हुने कार्यालयको तथ्यांक छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग