Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रेसुङ्गामा लागेको आगो अझै नियन्त्रणमा आएन

Published on 12:52:00 PM //

पि.एम.मगर
गुल्मी, चैत्र २९ गते । ऐतिहाँसिक तथा धार्मिक क्षेत्र रेसुङ्गामा हिजो वुधवार मध्यान्हदेखि लागेको आगो अझै नियन्त्रणमा आएको छैन । जिल्ला स्थित गुरु गोरख गुल्मवाट गएको नेपाली सेनाको एक टोली, रेसुङ्गा मन्दिर व्यवस्थापन समिति, रेसुङ्गा संरक्षण समिति, रेसुङ्गा सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीहरुको संयुक्त प्रहलमा राती अवेरसम्म आगो नियन्त्रणमा लिने प्रयास भएपनि भिरालो जमिन र हावाहुरी चलेका कारण नसकिएको वताईएको छ ।
वुधवार मध्यान्हदेखि लागेको आगो अपरान्ह नियन्त्रणमा आएको भनिएपनि बेलुकीदेखि पुन आगलागी पुन शुरु भएको र अहिले भिषण रुप लिएको छ । अहिले नेपाली सेना, नेपाल प्रहरी, रेसुङ्गा संरक्षण समिति, रेसुङ्गा सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारी तथा स्थानीय उपभोक्ताहरु आगो नियन्त्रणमा जुटिरहेको रेसुङ्गा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष श्रीप्रसाद भलामी मगरले जानकारी दिनुभयो । आगलागीवाट वनमा रहेका स–साना वोटविरुवाहरु, काठ दाउरा जल्नुका साथै चराचुरुङ्गी तथा वन्यजन्तुहरुलाई समस्या परेको छ । आगो कस्ले र किन लगाएको हो भन्ने वारे केही खुल्न सकेको छैन । यता जिल्ला प्रशासनले भने आगो लगाउने जो कोहीलाई पनि कानुन अनुसारको कारवाही हुने वताउँदै आएको छ । रेसुङ्गामा प्रत्येक वर्ष यसरी नै आगो लाग्ने गर्दछ ।
यस्तै गुल्मीको वम्घा गाविस स्थित एक घरमा विहीवार आज विहानै आगलागी भएको छ । वम्घा २ निवासी हिमकला वोटेमाझीको घरमा आज विहान ४ वजेतिर एक्कासी आगलागी भएको हो । आगलागीवाट घर पुर्णरुपमा क्षतिग्रस्त वनेको छ । घरको कोठामा वुहारीले मैन वत्ती सल्काएर वाहिर काम गरिरहेको अवस्थामा भित्तामा टाँसिएको पोष्ट कार्ड तथा कागजवाट आगो सल्किएको पारिवारीक श्रोतको भनाई छ । इलाका प्रहरी कार्यालय जोहाङ्ग र स्थानीयवासीको पहलमा झण्डै २ घण्टापछि आगो नियन्त्रणमा आएको थियो । क्षतिको एकिन भने अझै भएको छैन । अनुसन्धान जारी रहेको जोहाङ्ग इलाका प्रहरी कार्यालयले जनाएको छ । सोही घर नजिकै रहेको अर्को घरलाई भने पानीले छ्यापेर आगोवाट जोगाउन सफल भएको हेम त्यागीले जानकारी दिनुभएको छ ।
यस्तै गुल्मीकै अमरअर्वाथोक गाविसमा एक व्याक्तिको घरमा हिजो वुधवार आगलागी हुँदा करिव ५० हजार वरावरको क्षति भएको छ । अमरअर्वाथोक गाविस वार्ड नं. ७ निवासी कमल सोमै मगरको पुरानो घरमा दिउँसो आगो लाग्दा उक्त रकम वरावरको क्षति भएको हो । आगलागीवाट पुरानो घरमा राखिएका काठ, दाउरा लगायतका सामाग्री एवं नजिकै राखिएको घाँसपात पनि जलेको कृष्ण कण्डेलले जानकारी दिनुभयो । आगो स्थानीयवासीको सक्रियतामा नियन्त्रणमा आएको र आगो कस्ले लगाएको भन्ने खुल्न नसकेको कण्डेलले वताउनुभयो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग