Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दुर्गममा वडैपिच्छे लघु जलविद्युत

Published on 6:39:00 AM //


घनश्याम गौतम
गुल्मी, चैत्र १७ - बिजुली अभाव टार्न यहाँको विकट वाग्ला गाविसका बासिन्दाले एकै गाउँमा रहेका ७ खोलाको उपयोग गरी ८ वटा लघु जलविद्युत् सञ्चालन गरेर २४ सै घन्टा गाउँ झिलिमिली बनाएका छन् ।

विकट भए पनि वाग्लामा लोडसेडिङ हँुदैन न त मैनबत्ती र मट्टीतेलको जोहो गर्नुपर्छ । खानेपानी र सिँचाइका लागि प्रयोग हुने कुलो र खेर गएको पानीको सदुपयोग गर्दै लघु जलविद्युत् सञ्चालनमा ल्याएका हुन् । स्थानीय शिक्षक हिमप्रसाद पन्थीका अनुसार गाविसमा सञ्चालित ८ योजनाका लागि सर्वसाधारणले झन्डै ५० लाख नगद लगानी गरेका छन् भने २० लाख बराबरको जनश्रमदान ।

'गाउँका ७ खोला पूरै थुनिएका छन्,' पन्थीले भने, 'साना खोला भए पनि गाउँलेको परिश्रमले गाउँका ३ सय घर उज्यालोमा बसेका छन् ।' गाउँभरि बिजुली बलेपछि घर सफा हुनुका साथै टिभी हेर्न, रेडियो सुन्न, विद्यार्थीको पठनपाठन, गृहिणीको घर धन्दादेखि मोबाइल चार्ज गर्नेसम्मका सुविधा पुगेको पन्थीले बताए ।

गाउँलेले बिरौटा चिसाखोला लघु जलविद्युत् योजनाबाट २ वडाका ४०, आँपटारी लघु योजनाबाट २ र ३ वडाका २५, खोरघाटबाट ५ वडाका ४२, रियालेखोला लघु जलविद्युत्बाट ७ वडाका ५०, गगनखोली लघुबाट ७ र ८ वडाका ५०, बडाचौर लघुबाट ८ वडाका ३५ घरले बिजुली बालेका छन् । त्यस्तै कुलाका बाँझ लघुबाट २ वडाका ७० घरका लागि र साङ्टा योजनाबाट ९ वडाका ६० घरका लागि विद्युत् उत्पादन भएको गाविसले जनाएको छ । बिजुली बाल्न गाउँलेले हरेक योजनामा ७ देखि १२ लाखसम्म नगद र एकदेखि डेढ महिनासम्म प्रतिपरिवारले श्रमदान गरेका छन् । 'जीवनको सबै उमेर अँध्यारोमै बसेर बिते पनि मर्ने बेलामा घरमा बिजुली बलेकोमा खुसी छु,' वाग्ला ७ का ६५ वषर्ीय शशिधर घिमिरेले भने ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग