Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

आफुले पढेको गाउँको विद्यालयलाई चार लाख सहयोग

Published on 10:43:00 AM //


धुर्कोट (गुल्मी), १ जेठ । रोजगारीका लागि विदेशमा पुगेर मजदुरी गरिरहेका एक व्यक्तिले आफूले कखरा सिकेको विद्यालयलाई रु चार लाख सहयोग गरेका छन् । बडागाउँ वडा नं ६ बाँझपाटा घर भई हाल जापानको टोकियोमा कार्यरत राजु कार्कीले बडागाउँको पृथ्वी माध्यमिक विद्यालयलाई रु चार लाख सहयोग गर्नुभएको हो ।

आफूले उक्त विद्यालयबाट अक्षर चिन्न सक्ने भएकाले विदेशमा मजदुरी गरे पनि सम्मानजनक र बढी पारिश्रमिक पाउन सक्ने भएका कारण विद्यालयलाई सहयोग गरेको उहाँले बताउनुभयो । उक्त विद्यालयलाई कुर्घा गाविस वडा नं ९ घर भई टोकियोमा कार्यरत राजु पछार्इंले रु एक लाख पाँच हजार ५५५ सहयोग गर्नुभएको छ । विद्यालयलाई उच्च मावि बनाउन प्रेरित गर्नका लागि उक्त सहयोग गरिएको उहाँले बताउनुभयो । योसँगै पृथ्वी माविलाई उच्च मावि बनाउन रु २३ लाखभन्दा बढी रकम सङ्कलन भइसकेको जानकारी प्रधानाध्यापक दुर्गाबहादुर सूर्यवंशीले दिनुभयो ।

पृथ्वी मावि, उच्च मावि नहुँदा त्यस गाविस र छिमेकी मुसिकोट गाविसका विद्यार्थीले बागलुङ खरबाङ, वामीलगायतका विद्यालयमा दुई घण्टाको उकालोओरालो गरेर उच्च शिक्षा शिक्षा पढ्दै आएका छन् । त्यस्तै बडागाउँ ६, मैदानका समाज सेवी बुद्धकुमार सुनारले रु २० हजार १११, अर्का समाजसेवी धनबहादुर सुनारले रु २० हजार १११ र मित्रबहादुर सुनारले त्यति नै सहयोग गर्नुभएको छ ।

निकै पुरानो र विद्यार्थीको सङ्ख्या धेरै भए पनि सो विद्यालयलाई सरकारी पक्षबाट उच्च माविको पहल नभएपछि स्थानीयवासीले यसरी चन्दा उठाएर उच्च मावि बनाउन लागेका छन् । पृथ्वी मावि बडागाउँका व्यवस्थापन समिति अध्यक्ष पृथ्वीबहादुर थापाले विदेशमा बस्ने स्थानीयवासीले सहयोग गरे समुदाय स्वयम्ले उच्च मावि सञ्चालन गर्न सकिने भन्दै सहयोगको अपिल गर्नुभएको छ । विद्यालयलाई उच्च मावि बनाउन अविभावक तथा व्यवस्थापन समितिले घरदैलो चन्दा अभियान सञ्चालन गरेको छ । रासस

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग