Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पाँच गाविसमा विद्यालय नजाने बालबालिका छैनन्

Published on: // ,
धुर्कोट (गुल्मी), ५ फागुन । सबै बालबालिका विद्यालय जाने भएपछि गुल्मीको शान्तिपुर स्रोत केन्द्रलाई विद्यालयबाहिर बालबालिका नभएकोे केन्द्र घोेषणा गरिएको छ । जिल्ला शिक्षा कार्यालयले जिल्लामा पहिलोपटक त्यहाँका पाँच गाविसलाई विद्यालयबाहिर बालबालिका नभएको घोषणा गरेको हो ।

जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत हरिलाल अर्यालले पश्चिम नेपालमा नै स्रोत केन्द्रस्तरमा सम्पूर्ण बालबालिका विद्यालय जान्छन् भनेर घोषणा गरिएको यो पहिलोपटक भएको बताउनुभयो । स्रोत केन्द्रले ठूलो गृहकार्य गरेर सम्पूर्ण बालबालिकालाई विद्यालय भर्ना गराएकाले यो उपलब्धि भएको उहाँले बताउनुभयो ।

“स्रोत व्यक्ति तथा विद्यालयहरूले विद्यालयबाहिर रहेका सम्पूर्ण बालबालिकाको पहिचान गरी विद्यालय भर्ना गराएका छन्”–उहाँले भन्नुभयो–“विद्यालयबाहिर बालबालिका नभएको घोषणा गरिएको यो पश्चिम नेपालमै पहिलो स्रोत केन्द्र हो ।”

स्रोत केन्द्रका ८६ जना विपन्न परिवारका बालबालिकालाई जिल्ला शिक्षा कार्यालय गुल्मीले पैसा उपलब्ध गराएपछि उनीहरू विद्यालय भर्ना भएका छन् । कार्यालयले विपन्न परिवारका बालबालिकालाई सुरुमा विद्यालय भर्ना भई कापीकलम किन्नका लागि छात्रवृत्ति प्रदान गरेपछि उनीहरू विद्यालय भर्ना भएका हुन् ।

शान्तिपुर स्रोत केन्द्रमा पर्ने शान्तिपुर, हेरवा, विश्वुखर्क, हर्राचौर र दिब्रुङ गाविसमा रहेका सबै विपन्न परिवारका बालबालिकालाई विद्यालय भर्ना गराइएको जिल्ला शिक्षा कार्यालय गुल्मीले जनाएको छ ।

शान्तिपुर स्रोत केन्द्रका स्रोतव्यक्ति कृष्ण गैरेले विद्यालयबाहिर रहेका सम्पूर्ण बालबालिका शिक्षा कार्यालयले छात्रवृत्ति दिएपछि स्कुल भर्ना भएको बताउनुभयो । उहाँका अनुसार यसअघि विद्यालय भर्ना भएर विद्यालय जान छोडेका सबै विद्यार्थी पनि नियमितरूपमा विद्यालय जाने गरेका छन् ।

सरकारको नीतिअनुसार विपन्न परिवारबाट पहिलोपटक विद्यालय जाने बालबालिकालाई जनही रु ४०० का दरले छात्रवृत्तिसमेत प्रदान गर्दै आएको अर्यालले बताउनुभयो । गत वर्ष शिक्षा कार्यालयले मर्भुङ गाविसलाई पनि विद्यालयबाहिर बालबालिका नभएको घोषणा गरेको थियो, तर  स्रोत केन्द्र नै घोषणा गरिएको यो पहिलो अवसर हो ।

शिक्षा कार्यालयले शान्तिपुर स्रोत केन्द्रलाई जिल्लामा नै नमुना स्रोत केन्द्र बनाउने तयारी गरेको छ । शान्तिपुर क्षेत्रका विद्यालय निरीक्षक झबिलाल विश्वकर्माले शान्तिपुर स्रोत केन्द्रलाई नमुनाका रूपमा विकास गरेर अरू स्रोत केन्द्रहरूलाई पनि यस्तो घोषणा गर्ने तयारी भएको जानकारी दिनुभयो । रासस

जिप दुर्घटनामा आठ घाइते

र्वत- पर्वतको दुर्लुङ गाविसमा गएराति भएको जिप दुर्घटनामा आठ यात्रु घाइते भएका छन्। कुस्माबाट दुर्लुङतर्फ जाँदै गरेको ध१ख ४७४ नम्बरको जिप दुर्लुङ–४ सल्यानमा दुर्घटना भएको हो।
दुर्घटनामा परी घाइते हुनेमा शिवालय–६ का २८ वर्षीय जयबहादुर पुन, दुर्लुङ–५ की २७ वर्षीया माया सार्की, सोही ठाउँकी २७ वर्षीया गङ्गाकुमारी सार्की, दुर्लुङ–८ का ४५ वर्षीय मनकुमार थापा, दुर्लुङ–७ का इमान गुरुङ, सोही ठाउँका २३ वर्षीय रोशन सुनार, दुर्लुङ–४ का ४८ वर्षीय नेत्रप्रसाद शर्मा र सोही ठाउँका ३४ वर्षीय हरि क्षेत्री रहेका छन्।
घाइतेमध्ये इमान गुरुङ र हरि क्षेत्रीलाई थप उपचारका लागि पोखरा पठाइएको छ। अन्य घाइतेको पर्वत जिल्ला अस्पतालमा उपचार भइरहेको छ। जिपका चालक दिलबहादुर गुरुङ अहिले प्रहरी नियन्त्रणमा छन्। उनी स्थानीय जनताको कुटपिटबाट सामान्य घाइते भएको प्रहरीले जनाएको छ। बाटोमा रहेको ढुङ्गा छलेर अघि बढ्ने क्रममा गाडी सडकबाट १० मिटर तल खसेको बताइएको छ। रासस

विवाह दर्ता गरेबापत रु १५०० घुस

धुर्कोट (गुल्मी), १५ माघ । विवाह दर्ता गरिदिएबापत गुल्मीको दोहोली गाविस सचिवले रु एक हजार ५०० घुस लिएको रहस्योद्घाटन भएको छ ।

दोहोली–९ निवासी रामबहादुर खत्री र श्रीमती लोकमायासँग विवाह दर्ताको प्रमाणपत्र बनाउँदा गाविस सचिव भीमप्रसाद पोखरेलले सो रकम घुस लिएको रहस्योद्घाटन भएको हो । “पहिला नागरिकता बनाउँदा केही लाग्दैन भनेर विवाह दर्ता गरेको रु ५०० दिएँ,” खत्रीले भन्नुभयो पछि नागरिकता आउनेबेला उहाँले श्रीमतीसँग रु एक हजार मागेर लानुभयो ।

ती दम्पतीले नागरिकता बनेपछि आफूसँग भारत जाने बाटो खर्च नभएको भन्दै मितभाइलाई गुहारेपछि यस्तो पोल खुलेको हो । उनका मितभाइ देवराम गिरीले गाविस सचिवले बाटो खर्चबापतको रकम घुस लिएपछि दाजुहरु समस्यामा परेको भन्दै पत्रकारलाई गुहारेका थिए । “भारत जान भाडा पुगेन भनेर दाजु भाउजूले फोन गर्नुभयो, बुझ्दै जाँदा गाविस सचिवले बाटा खर्च खाइदिएछन्” उहाँले भन्नुभयो ।

पत्रकार बोलाएपछि सचिव पोखरेलले घुसबापतको रु एक हजार फिर्ता मागेमा नागरिकता जफत गरीदिने धम्की दिएको लोकमायाले बताउनुभयो  । “सचिवले यति दुःख गरेर बनाइयो, अलिअलि चियापानी त हाम्लाई पनि चाहियो नि भन्नुयभो”, लोकमायाले भन्नुभयो “हतार थियो, दियौँ, अहिले पैसा फिर्ता मागे नागरिकता जफत हुन्छ भन्नुभएको छ ।”

गाविस सचिव पोखरेलले पनि रकम लिएको स्वीकार गरेका छन् । गोरखा माइत भएकी लोकमायाका कागजपत्र मगाउन र प्रशासनमा कर्मचारीलाई कागजपत्र मिलाउनका लागि आफू पुल बनेर पैसा लिएको उनको भनाइ थियो ।

“उहाँहरु चार÷पाँच दिनदेखि सदरमुकाम बस्नुभएको छ, छिटो काम गराउनका लागि मैले पनि प्रशासनमा खर्च बुझाउनु पर्छ । केही रकम गोरखाबाट फ्याक्स मगाउँदा खर्च भयो” भन्दै उनले यसरी आफ्नो सफाइ दिए ।  रासस

नेपाल प्रवेश गर्न भिसा लिन चाहनेले अब अनलाइनमार्फत आवेदन दिन पाउने

काठमाडौं - नेपाल प्रवेश गर्न भिसा लिन चाहनेले अब अनलाइनमार्फत आवेदन दिन पाउने भएका छन्। अध्यागमन विभागले सोमबारबाट यस्तो व्यवस्था सुरु गरेको छ।

वातावरणमैत्री सेवा र कागज खपत कम गर्ने उद्देश्यले अनलाइनबाट भिसा आवेदन दिन पाइने व्यवस्था सुरु गरिएको विभागले जनाएको छ।विभागका अनुसार नेपाल भ्रमण गर्न र बसोबास गर्न चाहने विदेशी नागरिकले 'नेपाल इमिग्रेसन डट जिओभी डट एनपी' लगइन गरी जतिबेला पनि भिसा आवेदन दिन सक्नेछन्।

यसरी आवदेन दिएपछि १५ दिनसम्म सिस्टममा सुरक्षित रहने तथा नेपाल प्रवेश वा भिसा अवधि थप गर्नुअघि अनलाइनमार्फत यस्तो आवेदन देखाउन सकिने विभागले जनाएको छ। सुरुवातमा काठमाडौंस्थित विभागको कार्यालय र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा यस्तो सुविधा उपलब्ध गराइएको छ। कुटनीतिक र सरकारी भिसा आवेदन भने परराष्ट्र मन्त्रालयको वेबसाइटमार्फत दिन सकिने विभागले जनाएको छ। -रासस

गुल्मीको दिगाम गाउँ फलफूल बगैँचामा रूपान्तरण

Published on: //
धुर्कोट (गुल्मी), ७ माघ - व्यावसायिक कृषितर्फ गाउँलेहरू लाग्न थालेपछि अहिले गुल्मीको दिगाम गाउँ नै फलफूल बगैँचामा रूपान्तरण भएको छ ।

पहिला पहिला मौसमको बेला मात्रै मकै, गहुँ फल्ने बाँकी समय बाँझै रहने दिगामका किसानहरू अहिले व्यावसायिक कृषिमा लागेपछि गाउँ नै बगैँचामा रूपान्तरण हुन थालेका छन् ।

दिगाम–१ का लालबहादुर कँडेलले एक्लै २३ रोपनी जग्गामा फलफूल खेती गरेर राम्रो आम्दानी गर्नुभएको छ । बासठी वर्षीय कँडेलले फलफूलबाटै वर्षमा छ देखि सात लाखसम्म कमाउनुभएको छ । ‘‘यो वर्ष  पाँच लाखको
सुन्तला बेचियो’’– कँडेलले भन्नुभयो, “अरू फलफूल पनि छन्, वर्षमा रु छ सात लाख सजिलै कमाउछौँ ।”

घर छोडेर भारतसम्म पनि नगएका कँडेल ३० वर्ष अगाडिदेखि आफ्नै गाउँमा व्यावसायिक कृषि पेसा अँगालेर बस्नुभएको छ । आफ्नो परिवार कृषि पेसामा सन्तुष्ट रहेको बताउँदै कँडेलले आफ्ना छोराहरू तथा श्रीमतीले पनि कृषिमा आफूलाई सघाइरहेको बताउनुभयो । ¬‘‘विदेश हैन भारत पनि गएको छैन्, छोराछोरी श्रीमती सबै कृषिमै संलग्न छौं, तेइस रोपनी जग्गामा तरकारी, कफी र फलफूल लगाएका छौँ ।’ उहाँले भन्नुभयो ।

उहाँको मेहनेत देखेर दिगामका धेरैजसो व्यक्ति अहिले व्यावसायिक तरकारी तथा फलफूलखेतीमा लागेका छन् । गाउँमै दुर्गा भवानी कृषक समूह खोलेका २८ जना कृषकले आफ्नो बारीमा तरकारी तथा फलफूल लगाएका छन् । सोही स्थानकै रूपसेका तुल्सी कँडेलेको नौ रोपनी बगैँचामा भर्खंरै ७०० सुन्तलाका बिरुवाबाट रु दुई लाख कमाउनुभयो ।

उहाँका बारीमा सुन्तला सँगसँगै गुल्मेली कफी पनि पाक्ने तयारीमा छ । कँडेलले यो वर्ष सुन्तला तथा कफी लगायतका अरू फलफूल बिक्रीबाट रु तीन लाखभन्दा बढी आम्दानी हुने बताउनुभयो ।

जिल्ला कृषि विकास कार्यालयका अनुसार दिगाम सुन्तला उत्पादनको पकेट क्षेत्र हो । उक्त गाविसमा सुन्तला तथा कफी उत्पादन पनि फस्टाउँदै गरेको कृषि विकास अधिकृत चेतनाथ अधिकारीले बताउनुभयो । दिगाम गाविसमा अहिले पनि झन्डै १५ भन्दा बढी व्यक्तिका साना ठूला सुन्तला बगैँचा छन् । -रासस

नौमती र पञ्चेबाजा बजाउँदा बालबालिकाको प्रयोग नगर्न आग्रह

Published on: //
सामाजिक उत्सवहरुमा बजाइने नेपाली नौमती र पञ्चेबाजामा  बालबालिकाको प्रयोग नगर्न र गर्न नदिन सचेत दलित अगुवाले आग्रह गरेका छन् ।

समाजमा हुने विवाह, व्रतबन्ध, पास्नी तथा अन्य विभिन्न उत्सवमा नेपाली पञ्चेबाजाको प्रयोग गर्नु सुखद् भए पनि बाजा बजाउने कार्यमा बालबालिकाको प्रयोगले बालअधिकारको उल्लङ्घन भएको भन्दै सचेत अगुवाले प्रयोग नगर्न र गर्न नदिन आग्रह गरेका हुन् ।

सामाजिक उत्सवमा नेपाली सांस्कृतिको धरोहर राष्ट्रिय बाजाको रुपमा प्रयोग गरिने नौमती एवम् पञ्चेबाजा बजाउने कार्य गौरवपूर्ण भए पनि सदस्य टोलीमा नाबालकलाई यत्रतत्र प्रयोग गरिने गरिएको दलित पत्रकार सञ्जाल पूर्वाञ्चल संयोजक बिरु दर्नालले बताउनुभयो ।

दलित अगुवाले समाजका सबै सचेत व्यक्तिले बाजा बजाउने कार्यमा बालबालिकाको प्रयोग भएको पाइए सम्झाइबुझाई गर्न र नमान्नेलाई कानुनी निकायमा उजुरी दिन आग्रह गरेका छन् ।

पञ्चे र नौमतीबाजा नेपालमा दलित समुदाय खासगरी परियारले बजाउँदै आएको पुख्यौली पेसा हो । सीमान्तकृत गरिबीको रेखामुनि रहेको यो समुदायले पेट पाल्नका लागि आफूसँगै बालबालिकाको पनि प्रयोग गर्दा उनीहरु पढ्ने लेख्ने अधिकारबाट वञ्चित हुँदै आएका छन् । खासगरी सानो ढोल, टयाम्का, झयाम्टा बजाउन बालबालिकाको प्रयोग गर्ने गरिएको छ ।

सर्वत्र बालबालिकाको सर्वोत्तम हित र अनुचित प्रयोगको बारेमा अधिकारकर्मीले आवाज उठाइरहे पनि बाजा बजाउँदा बालबालिकाको प्रयोग भइरहेकोबारे सरोकारवालाको ध्यान पुगेको पाइएको छैन । रासस


आइएफसीको सहयोगमा अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति गरिने

Published on: //
काठमाडौं, मंसिर १ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिको काम द्रुत गतिमा अघि बढाउन अन्तर्राष्ट्रिय वित्तीय निगम (आइएफसी)बाट प्राविधिक सहयोगलगायत अन्य आवश्यक सहायता जुटाउने भएको छ ।

विश्व बैंक समूहअन्तर्गतको उक्त निगमले विश्वका विभिन्न मुलुकका विशाल परियोजना(मेगा प्रोजेक्ट)मा त्यस्तो सहायता उपलब्ध गराएको र त्यो विवादरहित एवम् प्रायः सबै पक्षका निम्ति मान्य हुने भएकाले बोर्ड त्यसै गर्ने निर्णयमा पुगेको हो ।
   
मुलुकको विकास–निर्माणका निम्ति थालिने बृहत् परियोजनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुर गरेर वा अदालतमा रिट दायर गरेर प्रभावित पार्नेहरूलाई गतिलो जवाफ दिन पनि बोर्डले आइएफसीको संलग्नतामा जोड दिएको हो ।
   
बोर्डका अध्यक्ष समेत रहेका मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीको अध्यक्षतामा हालै सम्पन्न लगानी बोर्डको बैठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधार आयोजना कार्यान्वयन गर्न तथा विमानस्थललाई निर्माण, स्वामित्व ग्रहण, सञ्चालन एवम् हस्तान्तरण (बुट) प्रारुप (मोडल)मा लैजान अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्नेलगायत काम अघि बढाउने निर्णय गरेको छ ।
   
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका महानिर्देशक सदस्य रहेको लगानी बोर्डका सहसचिवको अध्यक्षतामा गठित विमानस्थल सुधार समितिले विमानस्थल स्तरोन्नतिको कार्य चाँडोभन्दा चाँडो अघि बढाउने निर्णय भएको बोर्डका प्रमुख कार्यकारी अधिकृत राधेश पन्तले राससलाई बताए ।

उनका अनुसार, बैठकले नाइजेरियाको डाङगोटे कम्पनीलाई वैदेशिक लगानी गर्न स्वीकृति दिनका साथै कम्पनी दर्ताका साथै कारखाना स्थापनाको प्रारम्भिक कार्य सञ्चालनको अनुमति दिएको हो । डाङगोटे कम्पनीले बोर्डसमक्ष सिमेन्ट कारखाना स्थापना गर्न रु ७० अर्ब लगानीको प्रस्ताव गरेको थियो । अफ्रिकाका १४ मुलुकमा सिमेन्ट कारखाना सञ्चालन गरेर अर्बौको कारोबार गर्दै आएको उक्त कम्पनी अन्तर्राष्ट्रियरुपमा ख्यातिप्राप्त मानिन्छ । पहिलोचरणमा उक्त कम्पनीले खनिज उत्खननसहित रु ५५ अर्बको लगानी गर्ने जनाएको थियो ।
   
सातसय ५० मेगावाट क्षमताको पश्चिम सेती जलविद्युत् आयोजना कार्यान्वयन गर्न चीनको सिडब्ल्यूइ इन्भेस्टमेन्ट कर्पोरेसनले जमिन प्राप्ति तथा विद्युत् प्रसारण लाइन योजनालगायतमा  उसले चासो राखेको थियो । उसको चासोलाई सम्बोधन गर्दै बोर्डले सम्बन्धित कम्पनीलाई पत्राचार गर्ने र आयोजनाको आर्थिक पक्ष सुनिश्चित गर्न चीन सरकारलाई अनुदान वा सहुलियतपूर्ण ऋण उपलब्ध गराउन सरकारीस्तरमा अनुरोध गर्ने निर्णय भएको जानकारी प्रमुख कार्यकारी अधिकृत पन्तले दिनुभयो ।
   
    ‘परियोजना विकास सम्झौता(पिडिए) को अन्तिम चरणमा रहेको नौसय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको म्याद एक वर्ष थप्नुका साथै बैठकले भारतीय कम्पनी जिएमआर इनर्जी लिमिटेडसँग समझदारीपत्र आदानप्रदान गर्ने निर्णय गरेको छ,’उनले भने।

    जिएमआरसँगको लगानी प्रस्ताव पनि शीघ्र स्वीकृत हुने बताउँदै उनले भारतीय लगानीकर्ता पनि निकै उत्साहित भएको बताए ।    सरकार र जिएमआरबीच २०६४ मा भएको सम्झौताअनुसार आयोजनाबाट विद्युत् उत्पादन भएको दिनदेखि आठसय मेगावाट बिजुली नेपाललाई निःशुल्क उपलब्ध गराउनेछ । यस्तै २७ प्रतिशत बिना दायित्व सित्तैमा सेयर दिने पनि सम्झौतामा उल्लेख छ । त्यसरी प्रदान गरिने सेयरको मोल रु नौ अर्ब ३३ करोड हुनेछ ।

    मुलुकको आर्थिक विकासमा कायापलट गर्ने सबैभन्दा ठूलो उक्त परियोजनाले आफ्ना सरोकारका विषयलाई सम्बोधन नगरेको भन्दै दैलेख, बाजुरा, दाङ, बैतडी, जुम्ला र सल्यानका बासिन्दाले सर्वोच्च अदातलमा केही महिनाअघि दायर गरेको रिटको विपक्षमा फैसला गरेर सम्मानित अदालतले परियोजना निर्माणको बाटो खोलिदिएको थियो । यो परियोजना नदीको जलप्रवाह (रन अफ द रिभर) मा आधारित हो । रासस

आम हडताल निजी क्षेत्रले तोड्छ : वैद्य

Published on: // ,
बनेपा, कार्तिक २३ - नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष सुरज वैद्यले नेकपा–माओवादीले आह्वान गरेको १० दिने आम हडताल फिर्ता नभए तोड्ने चेतावनी दिएका छन् ।
आज बनेपामा उद्योग वाणिज्य सङ्घ काभ्रेले आयोजना गरेको २३ औँ वार्षिक साधारणसभा तथा अधिवेशनमा उनले भने,'हामी बन्दको विपक्षमा छौ । बन्द भए निजी क्षेत्रले त्यसलाई तोड्छ ।'
उनले बन्दको विपक्षमा माओवादी अध्यक्ष वैद्यसँग कुरा गरेको समेत जानकारी दिए । वैद्य नेतृत्वको नेकपा–माओवादीले संविधानसभाको निर्वाचनलाई लक्षित गरेर आगामी २५ गतेदेखि आम हडतालको घोषणा गरेको छ ।
अध्यक्ष वैद्यले दलहरुको घोषणापत्रमा निजी क्षेत्रको भावनाको कदर भएकामा खुसी व्यक्त गर्दै निजी क्षेत्रले न्यूनतम आर्थिक एजेन्डामा पाँचै क्षेत्रको विकासलाई समेट्ने कोसिस गरेको बताए ।
उनले खासगरी कृषि, पर्यटन, जलविद्युत् र नेपालमा खानी अध्ययनको सम्भाव्यतालाई मूल रुपमा उठाइएको बताए ।
नेपाल उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारले राजस्व छल्ने परिस्थिति सरकारले नै निर्माण गरेको आरोप लगाउँदै जोरजबर्जस्तीमा राजस्व तिर्न नसक्ने बताए ।
उनले काभ्रेमा रहेको आइटी पार्क र पोलिटेक्निकल इन्स्टिच्युट सञ्चालनका लागि निजी क्षेत्रलाई हस्तान्तरण गर्न सरकारलाई अनुरोध गरेको तर सरकारले निर्णय गर्न नसकेको बताए ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष मोहन सुनारले सरकारले अनुगमनका नाममा आतङ्क मच्चाएको आरोप लगाए । -रासस

तीन सातापछि नेपाल नयाँ युगमा प्रवेश गर्छ- रेग्मी

काठमाडौँ, १२ कात्तिक । मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले आजको तीन सातापछि संविधानसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेर नेपाल नयाँ युगमा प्रवेश गर्ने उल्लेख गर्दै निर्वाचन नै अवरुद्ध राजनीतिक प्रक्रियाको उत्तम विकल्प भएको बताउनुभएको छ ।

    अठसट्ठीऔँ राष्ट्रसङ्घीय दिवसको अवसरमा आज ललितपुरस्थित  राष्ट्रसङ्घीय कार्यालयमा आयोजित एक कार्यक्रममा उहाँले विघटित संविधानसभाले गरेका कामबाट पाठ सिकेर समग्रतामा अबको चुनावले शान्तिप्रक्रियालाई पूर्णता दिने बताउनुभयो ।

    “नयाँ संविधान लेखनका साथै राजनीतिक स्थायित्वको आधार, समावेशी आर्थिक उन्नयन एवम् विकासलाई सुनिश्चित गर्न आगामी निर्वाचन महत्वपूर्ण हुनेछ,” उहाँले भन्नुभयो– सबै वर्ग, जाति, समुदाय, लिङ्ग र भौगोलिक क्षेत्रका जनताको प्रजातान्त्रिक अधिकार स्थापना गर्नेछ ।

    राष्ट्रसङ्घीय दिवसले हामी सबैलाई शान्ति, सुरक्षा, विकास र विश्वका सबै जनताको स्वतन्त्रताका लागि सहकार्य गर्न प्रेरणा प्रदान गरोस् भन्दै अध्यक्ष रेग्मीले यस दिवसका अवसरमा महासचिव बानकी मुनले जारी गर्नु भएको सन्देशप्रति नेपालको ऐक्यबद्धता प्रकट गर्नुभयो ।

    मानव समुदायको विकास, विश्वका विभिन्न भागमा उत्पन्न समस्या समाधानका लागि विश्व संस्थाले गरेका समाधानका बहुपक्षीय प्रयास एवम् समझदारीको खोजीका कारण राष्ट्रसङ्घ नेपालीको मन र मस्तिष्कमा रहेको बताउँदै उहाँले राष्ट्रसङ्घको वडापत्रप्रति नेपालको अविछिन्न विश्वास रहेको उल्लेख गर्नुभयो ।

    लामो सङ्क्रमणबाट निस्केर दिगो शान्ति एवम् राजनीतिक स्थायित्व कायम गर्नु नेपाल र नेपालीको अहिलको चाहना भएको उल्लेख गर्दै उहाँले न्याय र समानतामा आधारित दिगो विकास हासिल गर्न इस्तानबुल कार्ययोजना कार्यान्वयनको तयारीमा सरकार रहेको जानकारी दिनुभयो । सहस्राब्दी विकास लक्ष्यको प्राप्ति र सन् २०२२ मा नेपाललाई विकासशील मुलुकमा स्तरोन्नति गर्ने लक्ष्यका साथ सरकार अघि बढेको पनि उहाँले बताउनुभयो ।

    विश्व समुदायको शान्ति, प्रगति एवम् शान्ति प्राप्तिका निम्ति राज्यहरूबीचको सहकार्य र सहयोगका लागि वडापत्रमा निहित उद्देश्य र सिद्धान्तहरू प्रेरणाका स्रोत हुन् भन्दै अध्यक्ष रेग्मीले अन्तर्राष्ट्रिय शान्ति–सुरक्षा, स्वतन्त्रता एवम् मानव अधिकारको सुनिश्चितता, दिगो समृद्धि र साझा चासोका समस्या समाधान गर्ने संस्थाको रुपमा राष्ट्रसङ्घ केन्द्रमा रहेको बताउनुभयो ।

    “गरिबी विश्वव्यापी समस्या हो र दिगो विकासका निम्ति गम्भीर व्यवधान हो, यसविरुद्ध लड्न उपलब्ध स्रोतको सबै पक्ष र स्थानबाट उपयोग हुनुपर्छ,”–उहाँले भन्नुभयो– सहस्राब्दी विकास लक्ष्यलगायत अन्तर्राष्ट्रियरुपमा सहमति जनाइएका विकासका लक्ष्य प्राप्त गर्न सामूहिक प्रयासको खाँचो छ ।

    वित्तीय तथा आर्थिक  सङ्कट, जलवायु परिवर्तनको कुप्रभाव र दैवी विपत्तिका घटनाले अन्तर्राष्ट्रिय समुदायलाई एकीकृत ढङ्गले काम गर्न झक्झक्याएको वास्तविकता पनि उहाँले औँल्याउनुभयो । विकासका उपलब्धिको दिगोपना, सुनिश्चितता र विकासको गतिलाई अझ तीव्र बनाउन अन्तर्राष्ट्रिय समुदायबीच सहकार्य हुनुपर्नेमा उहाँको जोड थियो ।

    आम विनाशका हतियारको भण्डारण र घातक अस्त्रहरूको बढ्दो बिगबिगीले विश्वका विभिन्न भागमा तनाब र द्वन्द्व निम्त्याएको र त्यसले मानव सभ्यताको अस्तित्वलाई जोखिममा पारेको चर्चा गर्दै अध्यक्ष रेग्मीले निःशस्त्रीकरण एवम् हातहतियारको उत्पादन÷प्रयोग निमिट्यान्न पार्न पनि एकीकृत प्रयास अपरिहार्य भएको बताउनुभयो ।

    संसारका समस्याग्रस्त विभिन्न मुलुकमा शान्तिसेना परिचालन गरेर राष्ट्रसङ्ले विश्व शान्ति एवम् सुरक्षा कायम गर्न निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै उहाँले शान्ति सेनामा नेपालको निरन्तर योगदान रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएपछि नेपालको शान्ति प्रयासमा राष्ट्रसङ्को महत्वपूर्ण भूमिका रहेको स्मरण गर्दै उहाँले यहाँको सामाजिक–आर्थिक विकासका निम्ति प्राप्त सहयोगप्रति कृतज्ञता व्यक्त गर्नुभयो । समावेशी विकास, राज्यका महत्वपूर्ण अङ्गहरूको सुदृढीकरण, भौतिक पूर्वाधार निर्माण, जलवायु परिवर्तनका प्रभाव र प्राकृतिक विपत्तिविरुद्धका सरकारी प्रयासमा राष्ट्रसङ्घ र त्यससँग सम्बद्ध अन्य संस्थाले गरेको योगदानको उहाँले प्रशंसा पनि गर्नुभयो ।

    “सरकारका प्राथमिकता र आवश्यकताअनुसार सम्बद्ध सरकारी निकायसँगको परामर्शमा सहायता परिचालन गर्न अनुरोध छ”–उहाँले भन्नुभयो ।

    राष्ट्रसङ्का आवासीय समन्वयकर्ता जिम्मी म्याकगोल्डरिकले नेपालको विकास प्रयासमा राष्ट्रसङ्ले सधैँ सघाउने प्रतिबद्धता व्यक्त गर्दै निर्वाचन आचारसंहिता पालना गर्न सम्बद्ध सबै पक्षलाई आग्रह गर्नुभयो ।

    उहाँले निर्वाचनमा धाक, धम्कीजस्ता गैर प्रजातान्त्रिक चरित्र प्रस्तुत हुननहुनेमा जोड दिनुभयो । राजनीतिक दलहरू नेपालमा शान्ति र स्थायित्व कायम गर्न सफल हुनेमा आफू विश्वस्त रहेको पनि उहाँले बताउनुभयो ।

    समारोहमा उहाँले २५ देखि ३५ वर्षसम्म राष्ट्रसङ्मा सेवा गरेका कर्मचारीलाई प्रशंसापत्र प्रदान गर्नुभयो । समारोहमा ‘मेरो सपनाः संविधान’ लघु नाटक पनि प्रस्तुत गरिएको थियो । रासस

नायक भुवन केसी नेता नेपालसँगै चुनाव प्रचारमा

Published on: // ,
रासस
फिल्म अभिनेता भुवन केसी नेकपा एमाले का वरिष्ठ नेता माधवकुमार नेपालसँगै पार्टीको निर्वाचन प्रचार अभियानमा खटिएका छन् ।
एमालेबाट प्रत्यक्षतर्फ उम्मेदवारको चर्चामा रहेर पनि समानुपातिकतर्फको प्रस्तावित उम्मेदवार बनेका नायक भुवन केसी २ कात्तिकमा एमाले वरिष्ठ नेता एवम् काठमाडौँ निर्वाचन क्षेत्र नं २ का उम्मेदवार माधवकुमार नेपालको घरदैलो कार्यक्रममा सहभागी भएका छन् ।
नेता नेपाल र नायक केसी एमालेलाई मत माग्दै काठमाडौँ महानगरपालिका वडा नं ३५ मा घरदैलो अभियानमा हिँडेका थिए ।
नेता नेपालले गत संविधानसभा निर्वाचनमा जनताले ‘नयाँ माल छान्दा’ एमाओवादीलाई भ्रमवश मत दिएको र अहिले गल्ती भएको महशुस गरेको बताए ।
विगठित संविधानसभामा एमाओवादी आफैंले गरेका सहमतिबाट पछि हट्नु संविधान बन्न नसक्नुको मुख्य कारण रहेको भन्दै एसपटक जनताले एमालेलाई सबैभन्दा ठूलो पार्टी बनाउने पनि नेता नेपालको दाबी छ ।

काठमाडौंमै यसरी भेटियो पैँतीस किलो सुन

Published on: // ,
काठमाडौँ, असार २६ गते । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले गैरकानुनी तरिकाबाट लुकाइछिपाइ ल्याउँदै गरेको ठूलो परिमाणमा आज सुन बरामद गरेको छ ।
चीनको खासाबाट भारत लैजाने उद्देश्यका साथ ल्याइँदै गरेको ३५ किलो सुन आज बिहान ५ः३० बजे प्रहरीले राजधानीको कोटेश्वरबाट बरामद गरेको हो ।
उक्त बरामद गरिएको सुनको बजार मूल्य करिब रु १७ करोड ५० लाख भएको प्रहरीले जनाएको छ ।

चीनको खासाबाट तातोपानी नाकाहुँदै सामान लिएर काठमाडौँ आइरहेको बा३प २५७० नम्बरको कन्टेनरको अघिल्लो भागमा फल्स् बटन बनाएर लुकाइ ल्याइरहेको अवस्थामा एक÷एक किलोग्राम तौलका ३५ टुक्रा सुन बरामद गरिएको व्यूरोका निर्देशक प्रहरी नायब महानिरीक्षक प्रकाश अर्यालले जानकारी दिनुभयो ।

सिन्धुपाल्चोक जिल्ला तातोपानी गाविस–८ का कन्टेनर चालक २४ वर्षीय निमा छिरिङ तामाङसमेतको संलग्नता भएकाले उनीमार्फत मुख्य कारोबारीको खोजतलास भइरहेको तथा कारोबारमा संलग्न केहीको पहिचानसमेत खुलिसकेको व्यूरोले पत्रकार सम्मेलनमार्फत जनाएको छ ।

बरामद गरिएका सबै सुन बिस्कुट आकारमा छन् । सुन ल्याउँदै गरेको कन्टेनर तातोपानी भन्सार कार्यालयले सिलबन्दी गरेकाले त्यो कन्टेनरमा कुन व्यापारीको के सामान छ भन्ने खुलिनसकेकाले अनुसन्धान भइरहेको बताइएको छ ।

तातोपानी नाकाहुँदै काठमाडौँ ल्याइरहेको उक्त कन्टेनरमा ठूलो परिमाणमा सुन राजधानी भित्रिँदै छ भन्ने व्यूरोले सूचना पाएपछि उक्त कन्टेनरलाई प्रस्थान विन्दुबाटै पछ्र्याउदै आएको ब्युरोले जनाएको छ ।

सुन तस्करीमा धेरै समूह र विभिन्न तह र तप्काका व्यक्तिहरुको संलग्नता हुन सक्ने प्रहरीको अनुमान छ ।

सो कन्टेनबाट केही विदेशी मुद्रासहित रु १६ हजार ७०० नगदसमेत बरामद भएको बताइएको छ । रासस

गुल्मीका कुमाल तानसेनमा मृत भेटिए

तानसेन, असार ९ - तानसेनमा आज बिहान एक युवकको मृत अवस्थामा शव भेटिएको छ । पाल्पा–रिडी सडकखण्ड अन्तर्गत तानसेन–४, घुम्ती भन्ने स्थान नजिकै शव फेला परेको हो ।
गुल्मी जिल्ला मानकोट गाविस–७ का ४० वर्षिय मेगबहादुर कुमाललाई आज बिहान प्रहरीले मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । कुमाल केही समयदेखि तानसेन–७ मा बसोवास गर्दै आएका थिए । -रासस

आफुले पढेको गाउँको विद्यालयलाई चार लाख सहयोग


धुर्कोट (गुल्मी), १ जेठ । रोजगारीका लागि विदेशमा पुगेर मजदुरी गरिरहेका एक व्यक्तिले आफूले कखरा सिकेको विद्यालयलाई रु चार लाख सहयोग गरेका छन् । बडागाउँ वडा नं ६ बाँझपाटा घर भई हाल जापानको टोकियोमा कार्यरत राजु कार्कीले बडागाउँको पृथ्वी माध्यमिक विद्यालयलाई रु चार लाख सहयोग गर्नुभएको हो ।

आफूले उक्त विद्यालयबाट अक्षर चिन्न सक्ने भएकाले विदेशमा मजदुरी गरे पनि सम्मानजनक र बढी पारिश्रमिक पाउन सक्ने भएका कारण विद्यालयलाई सहयोग गरेको उहाँले बताउनुभयो । उक्त विद्यालयलाई कुर्घा गाविस वडा नं ९ घर भई टोकियोमा कार्यरत राजु पछार्इंले रु एक लाख पाँच हजार ५५५ सहयोग गर्नुभएको छ । विद्यालयलाई उच्च मावि बनाउन प्रेरित गर्नका लागि उक्त सहयोग गरिएको उहाँले बताउनुभयो । योसँगै पृथ्वी माविलाई उच्च मावि बनाउन रु २३ लाखभन्दा बढी रकम सङ्कलन भइसकेको जानकारी प्रधानाध्यापक दुर्गाबहादुर सूर्यवंशीले दिनुभयो ।

पृथ्वी मावि, उच्च मावि नहुँदा त्यस गाविस र छिमेकी मुसिकोट गाविसका विद्यार्थीले बागलुङ खरबाङ, वामीलगायतका विद्यालयमा दुई घण्टाको उकालोओरालो गरेर उच्च शिक्षा शिक्षा पढ्दै आएका छन् । त्यस्तै बडागाउँ ६, मैदानका समाज सेवी बुद्धकुमार सुनारले रु २० हजार १११, अर्का समाजसेवी धनबहादुर सुनारले रु २० हजार १११ र मित्रबहादुर सुनारले त्यति नै सहयोग गर्नुभएको छ ।

निकै पुरानो र विद्यार्थीको सङ्ख्या धेरै भए पनि सो विद्यालयलाई सरकारी पक्षबाट उच्च माविको पहल नभएपछि स्थानीयवासीले यसरी चन्दा उठाएर उच्च मावि बनाउन लागेका छन् । पृथ्वी मावि बडागाउँका व्यवस्थापन समिति अध्यक्ष पृथ्वीबहादुर थापाले विदेशमा बस्ने स्थानीयवासीले सहयोग गरे समुदाय स्वयम्ले उच्च मावि सञ्चालन गर्न सकिने भन्दै सहयोगको अपिल गर्नुभएको छ । विद्यालयलाई उच्च मावि बनाउन अविभावक तथा व्यवस्थापन समितिले घरदैलो चन्दा अभियान सञ्चालन गरेको छ । रासस

चट्याङले गुल्मीमा नेपाल टेलिभिजन प्रसारण अवरुद्ध

Published on: //

धुर्कोट, ८ वैशाख । शुक्रबार राति परेको चट्याङले विद्युतीय उपकरणमा क्षति पुगेपछि गुल्मीमा नेपाल टेलिभिजनको प्रसारण बन्द भएको छ । सदरमुकाम तम्घासस्थित अर्जुनडाँडामा रहेको नेपाल टेलिभिजनको गुल्मी प्रसारण केन्द्रमा चट्याङ पर्दा एक लाखभन्दा बढीको क्षति भएको छ । चट्याङका कारण विद्युत् आपूर्तिका सबै उपकरणसहित जेनेरेटरमा पनि क्षति भएको केन्द्रप्रमुख जयशङ्कर त्रिपाठीले बताउनुभयो ।

“चट्याङले विद्युत्को मिटरबक्स र चेन्जओभर सबै क्षतविक्षत भएका छन् भने जेनेरेटर पनि बिग्रेको छ”–त्रिपाठीले भन्नुभयो–“अहिले जेनेरेटर समान्य मर्मत गरी टेलिभिजन प्रसारण भए पनि विद्युत् आपूर्तिका सबै सामान पुनः जडान गरेपछि मात्रै नियमति प्रसारण गर्न सक्छौँ ।” टावरमा चट्याङ परेपछि बेहोस भएका टेलिभिजन कर्मचारी चेतमान चुँदाराको एक घन्टापछि होस खुलेको छ । यसैगरी सोही स्थानमा रहेको वर्डलिङ्क र सुविसु नेट तथा रेडियो स्काईको टावरमा चट्याङ पर्दा ८० हजारभन्दा बढीको क्षति भएको छ ।

रेडियो स्काईको विद्युत् आपूर्ति र इन्टरनेटका टावरहरुको डाटा रिसिभिरमा क्षति पुगेको छ । एनसेल मोबाइलको टावरमा पनि चट्याङ परेको भए पनि त्यसको आधिकारिक प्राविधक गुल्मीमा नभएकाले क्षतिको विवरण आउन सकेको छैन । शुक्रबार राति हावाहुरीसँगै परेको वर्षाले जिल्लाका विभिन्न स्थानमा क्षति पु¥याएको छ । पानीसँगै परेको असिनाले नेटा, पौँदीअमराई, दर्लिङ, अर्खावाङ, गौँडाकोट, दुविचौरलगायतका ठाउँमा लगाइएको तरकारी, फलफूल र खेतीबालीमा असर पु¥याएको जिल्ला कृषि विकास कार्याललयले जनाएको छ । रासस

छोराले खुट्टा भाँच्चिदिएका बाबु खर्च अभावमा अलपत्र

Published on: //

धुर्कोट (गुल्मी), वैशाख ५ - छोराहरूको कुटाइबाट खुट्टा र करङ भाँच्चिएर अस्पतालमा उपचार गराइरहेका गुल्मी धुर्कोट रजस्थलका एक व्यक्ति उपचार खर्च तिर्न नसकेर अस्पतालमै अलपत्र परेका छन् ।

चैत २१ गते राति धुर्कोट रजस्थल–९ चौर बस्ने छोराहरू जीवन भण्डारी र कृष्ण भण्डारीको निर्घात कुटाइबाट गम्भीर घाइते भएका तारापति भण्डारी लुम्बिनी अञ्चल अस्पताल बुटवलमा अलपत्र परेका हुन् । “हिजो नै डिस्चार्ज भएको हुँ” गला अवरुद्ध पार्दै भण्डारीले फोनमा भने, “पैसा नभएर अस्पतालमै बन्दी भएँ, न्याय दिलाई दिनुहोस् ।”

दायाँ खुट्टा तीन ठाउँमा भाँच्चिदिएका छन्, दायाँपट्टिका तीनवटा करङ पनि भाँच्चिदिएका छन् तर प्रहरीले उनीहरूलाई छाडिदिएको सुन्छु”, भण्डारीले भन्नुभयो, “उपचार गराउँछौँ भनेका थिए तर फर्केर हेरेनन् ।”

यस सम्बन्धमा प्रहरी नायब उपरीक्षक गुरुविष्णु काफ्लेले आफूले तत्काल सोधखोज गर्ने बताए ो ।

 स्रोतका अनुसार बाबुलाई कुटपिट गरेर अपाङ्ग बनाउने छोराहरू जीवन र कृष्णलाई राजनीतिक दबाबमा उन्मुक्ति दिने प्रयास भइरहेको छ ।

ज्यानै लिने प्रयत्नका साथ भएको अपराधमा संलग्न उनीहरूलाई प्रहरीले कानुनतः हदैसम्मको कारबाही प्रक्रिया अगाडि बढाउनुपर्ने स्थानीय न्यायप्रेमी जनताको माग रहेको छ । -रासस

छोराले आफ्नै बाबुको खुट्टा भाँचे

Published on: // ,
धुर्कोट (गुल्मी), २३ चैत । गुल्मीको धुर्कोट रजस्थलमा छोराले आफ्नै बाबुको खुट्टा भाँचेका छन् । धुर्कोट रजस्थल गाविस – ९ निवासी तारापति भण्डारीलाई बुधबार राति खाना खाएर सुतेका बेला राति आफ्नै छोरा जीवन भण्डारीले कुटेर गम्भीर घाइते बनाएका हुन् । घाइते भण्डारीको खुट्टा भाँचिनुका साथै शरीरका विभितन्न भागमा गम्भीर चोट लागेको स्थानीयवासीले बताएका छन् ।
परिवारजनका अनुसार बाबु छोराबीच अंशवण्डासम्बन्धी मनमुटाव बढ्दै गएको थियो । सोही विषयलाई लिएर कुटपिट भएको हुनसक्ने धुर्कोट प्रहरीले जनाएको छ । बुटवलमा होटल व्यवसाय गरी बसेका छोरा जीवनलाई झिकाउने प्रयास भएको र घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । उनी राति नै बाबुलाई गम्भीर घाइते हुने गरी कुटपिट गरेर बुटवल भागेका छन् । घाइतेको तम्घासमा उपचार हुन नसकेपछि पाल्पा पठाएको प्रहरीले जनाएको छ । रासस

हावाहुरीले विद्यालय उडायो, रु १० लाख बढी क्षति

Published on: //

धुर्कोट, २९ चैत । बुधबार आएको हावाहुरीले गुल्मीमा रु १० लाखभन्दा बढीको क्षति पु¥याएको छ । हावाहुरीले विभिन्न विद्यालय र व्यक्तिका घरका छाना उडाएपछि सो क्षति भएको हो ।  आज साँझपख आएको हावाहुरीले हस्तीचौर गाविसस्थित हिमालय उच्चमाध्यमिक विद्यालयको दसकोठे भवनको छानो उडाएको छ । गुल्मी अर्घाखाँची ग्रामीण विकास परियोजनाले बनाइदिएको उक्त भवनको छाना उडाउँदा रु सात लाखभन्दा बढीको क्षति भएको शिक्षक पद्म जिसीले जानकारी दिनुभयो ।

वार्षिक परीक्षाफलको तयारीमा रहेका शिक्षकहरू भवनमै भएको समय हावाहुरीले विद्यालयको छाना उडाएपछि शिक्षकहरू भागेर बाँच्न सफल भएको उहाँले बताउनुभयो । २०५८ सालमा रु २४ लाख लागतमा निर्माण गरिएको उक्त भवन क्षति भएपछि विद्यालयमा पठनपाठन गर्ने ठाउँको समेत अभाव भएको छ ।

त्यसैगरी मुसिकोटस्थित नेपाल राष्ट्रिय त्रिभुवन माध्यमिक विद्यालय र सहिद मेमोरियल इङ्लिस बोर्डिङ स्कुलको भवनको छाना उडाएको छ । त्रिभुवन राष्ट्रिय माविमा रु २ लाख र सहिद मेमोरीयल स्कुलमा रु १ लाख बराबरको क्षति भएको स्थानीय कृष्ण भट्टराईले जानकारी दिनुभयो ।

सहिद मेमोरीयल स्कुलले भवन अभाव भएपछि आइतबारसम्म विद्यालयको पढाई स्थगित भएको छ ।  साथै विद्यालय नजिकै घर भएकी खिमकुमारी कुँवरको घरको छाना पनि हावाहुरीले उडाएको छ । कुँवरको करिब रु ५० हजार क्षति भएको छ । रासस

छ महिनामा ८६ जनाको मृत्यु, १३३ जना अङ्गभङ्ग


२२ फागुन, धुर्कोट (गुल्मी) । लुम्बिनीका पहाडी जिल्ला गुल्मी, अर्घाखाँची र पाल्पामा दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्या अत्यधिक बढेको छ ।
 दुर्घटनामा छ महिनामा तीन जिल्लामा गरी ८६ जनाको मृत्यु भएको छ भने १३३ जनाको अङ्गभङ्ग भएका छन् । चालु आवमा गुल्मीमा १०, अर्घाखाँचीमा सात र पाल्पामा १८ वटा ठूला दुर्घटना भएका थिए ।  सवारी दुर्घटनामा साउनयता गुल्मीमा २२, अर्घाखाँचीमा २१ र पाल्पामा ४३ जनाको  मृत्यु भएको जनाएको छ ।
 रातिको यात्रा, अप्ठेरो बाटो, चालकले मदिरा सेवन गर्ने लगायतका कारण दुर्घटना हुने गरेको पाल्पाका प्रहरी नायब निरीक्षक स्थानेश्वर रेग्मीले बताउनुभयो । अयोग्य चालक, नराम्रो सडक र पहाडी क्षेत्रमा पुराना गाडी सञ्चालनमा आउँदा दुर्घटना बढी हुने गुल्मीका डिएसपी गुरुविष्णु काफ्लेले बताउनुभयो । रासस
भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग