Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सिमिचौरमा विमानस्थल निर्माणका लागि स्थानीयबाटै चन्दा सहयोग

Published on 11:10:00 AM //


घनश्याम गौतम
गुल्मी, जेष्ठ ७ । निर्माण सम्पन्न नहुँदै अलपत्र परेको विमानस्थल निर्माणका लागि स्थानीय सर्वसाधारणले नै आर्थिक सहयोग गर्न कस्सिएका छन् ।
सिमीचौर ५ थालेमालेमा ८ वर्ष अगाडि विमानस्थल निर्माण प्रक्रिया सुरु भएको थियो । आठ वर्ष बित्दा समेत विमानस्थल निर्माण हुने/नहुने भन्ने टुंगो नभएपछि स्थानीयस्तरबाटै चन्दा सहयोग गर्न सुरु भएको हो । निर्माण समितिले घरदैलो एवं थालेमालेमै गरेको छलफलमा स्थानीय सर्वसाधारणले विमानस्थल प्रभावित जग्गाधनीलाई मुआब्जा वितरण गर्नका लागि रकम सहयोग गरेका हुन् । रेसुंगा विमानस्थल निर्माण समितिका अध्यक्ष मधुकृष्ण पन्तले एकै दिनको छलफल कार्यक्रममा ३ लाख २५ हजार रुपैयाँभन्दा बढी सहयोग जुटेको बताए । '२५ रुपैयाँदेखि २५ हजार रुपैयाँसम्म सहयोग गरेका छन्,' अध्यक्ष पन्तले भने, 'संकलित रकम मुआब्जा वितरणका लागि प्रयोग गरिने छ ।'
नागरिक तथा पर्यटन उड्डयन मन्त्रालयले निर्माण सुरु गरेदेखि अहिलेसम्म झन्डै १ करोड खर्च गरिसकेको छ । घरजग्गा मुआब्जा समस्या र रकम अभावका कारण्ा अलपत्र परेको विमानस्थल निर्माणका लागि स्थानीयको सक्रियता बढेपछि समितिलाई समेत काम गर्न सजिलो भएको अध्यक्ष पन्तले बताए । निर्माण समितिका सचिव अशोक थापाका अनुसार मुआब्जा उपलब्ध गराउने ४६ मध्ये अझै १८ परिवारलाई स्थान्तरण गर्न बाँकी छ । त्यसका लागि ६५ लाख रुपैयाँ आवश्यक पर्ने र मन्त्रालयले मुआब्जाका लागि सहयोग नगर्ने भएपछि स्थानीयस्तरबाटै त्यसको स्रोत जुटाउन लागिएको थापाले बताए । 'अझै ६५ लाख रुपैयाँ मुआब्जा दिन बाँकी छ,' थापाले भने, 'त्यसका लागि स्थानीयस्तरबाट, जिविस, गाविस लगायतबाट सहयोग जुटाउने कार्य सुरु गरेका छौं ।'
६ सय १० मिटर धावनमार्गको लम्बाइ रहेको विमानस्थलको क्षेत्र ७८ रोपनी १० आनामा फैलिएको छ । अध्यक्ष पन्तका अनुसार अहिलेसम्म धावनमार्गको केही भाग मैदान सम्माउने र पर्खाल निर्माणको कार्य भइरहेको र यस वर्ष नागरिक उड्डयन मन्त्रालयबाट २ करोड रकम विनियोजन गरेर निर्माणका लागि टेन्डर प्रक्रिया सुरु गरेको छ । 'मन्त्रालयले २ करोडको टेन्डर प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको छ,' पन्तले भने, 'समितिले स्थानीयस्तरबाटै मुआब्जाको समस्या समाधान गरेपछि मन्त्रालयले अन्य निर्माणका कार्य सुरु गर्नेछ ।' विमानस्थल निर्माणका लागि ९ करोड खर्च लाग्ने समितिको अनुमान छ । लामो समयसम्म विमानस्थलको निर्माण कार्य अगाडि नबढेपछि मुआब्जा लिएर अन्यत्रै बसाइँ सरेका स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग