Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

ग्रामिण सडकहरु बन्द हुँदा खाध्यान्न ढुवानी हुन सकेन, आवतजावतमा पनि समस्या

Published on 3:33:00 PM //

घनश्याम गौतम
गुल्मी, ९ असार । वर्षाका कारण पहिरो र खोलाबढेपछि अवरुद्ध भएको गुल्मीको रिडी-रुद्रवेणी-वामीटक्सार सडक एक साता देखि संचालन हुन नसक्दा खाध्यान्न ढुवानी र आवतजावतमा समस्या परेको छ ।
रिडी देखि जोहाङ्गको साघाटसम्म दर्जनौं स्थानमा पहिरोले सडक अबरुद्ध गराएको छ । त्यस्तै तिन खोला बढेका छन् । सडक अवरुद्ध भएपछि सर्वसाधरण तिन चार सवारी साधन परिवर्तन गरेर हिंड्न बाध्य छन् । लामो समयसम्म सडक अबरुद्ध हुँदा समेत जिविसले मर्मतमा चासो नदिएको सर्वसाधरणको गुनासो छ । रिडी-वामीटक्सार सडक खण्डमा धेरै ठुला पहिराहरु नभएपनि त्यसको मर्मतका लागि जिविसले कुनै पहल नगर्दा सर्वसाधरण समस्यामा परेको वामीटक्सारका देवबहादुर बोहोराले बताउनु भयो । जिविसले डोजर लगाईदिएमा एकै दिनमा रिडी वामीटक्सार खण्डमा यातायात सुचारु हुन सक्ने बोहोराले जानकारी दिनुभयो ।
रिडी-रुद्रवेणी खण्डकै साँघुरेमा जिविसले वर्षा लागेपछि शुरु गरेको सडक छेउको वाल निर्माण समयमै सम्पन्न गर्न नसक्दा त्यस क्षेत्रका तिन दर्जन बढी गाविसमा खाध्यान्न अभाव शुरु भएको छ ।
गुल्मीका ३० गाविस र बाग्लुङ्गका झण्डै १२ गाविसमा एक महिना देखि खाध्यान्न ढुवानी हुन सकेको छैन् । खाध्यान्न ढुवानी हुन नसक्दा व्यवसायीहरुले दैनिक उपभोग्य सामाग्रीहरुमा समेत दुई गुणासम्म मुल्य बृद्धि गरेका छन् । बाग्लुङ्गको दोस्रो ठुलो बजार मानिने बुर्तिबाङका व्यवसायीहरुले बुटवल, पोखरा, बाग्लुङ्ग हुँदै खाध्यान्न ढुवानी गराउँदा दोब्बर ढुवानी खर्च लाग्ने गरेको बुटवलबाट दैनिक उपभोग्य सामाग्री विक्रि गर्दै आएका व्यवसायी दुर्गा पौडेलले बताउनु भयो । रिडी-रुद्रवेणी-वामीटक्सार सडक खण्डमा यात्रु ओसारपसार र खाध्यान्न ढुवानीका लागि गरी दैनिक १ सय ३० भन्दा बढी सवारी साधनहरु ओहोरदोहोर गर्ने गर्दछन् । त्यस्तै जिल्लाको पश्चिमी क्षेत्रमा सवारी संचालन हुने तम्घास, सिमलटारी, तम्घास पुर्कोटदह सडक खण्ड पनि एक साता देखि ठप्प छ । उता निस्ती खोलामा आएको बाढी र विभिन्न स्थानको पहिरोका कारण जिल्लाकै दुर्गम क्षेत्र नेटा दर्लिङ्ग सम्म चल्ने सवारी साधन झण्डै एक महिना देखि ठप्प छन् । सर्वसाधरणहरु सामान्य कामका लागि पनि एक दिन पैदल यात्रा गरेर सदरमुकाम आउन बाध्य छन् ।
आयातित खाध्यान्नमा निर्भर हुने जिल्लाका चार दर्जन बढी गाविसमा सवारी साधन ठप्प भएपछि खाध्यान्न ढुवानीमा समस्या थपिएको व्यवसायीहरुको गुनासो छ । अधिकांश सडकमा ठुला ठाढा खोलाहरु पर्ने गरेकाले पानी रोकिएपनि खाध्यान्न ढुवानीमा समस्या हुने गरेको छ ।
खोला र पहिलाकै कारण सडकहरु अवरुद्ध हु“दा वर्षातको तिन महिना बिरामी, सुत्केरी र बृद्धबृद्धाहरु बढी प्रभावित हुने गरेका छन् । स्थानीय विकास अधिकारी हरीप्रसाद ज्ञवालीले अवरुद्ध भएका ठुला सडकहरुमा डोजर लगाएर मर्मत गर्ने कार्य भैरहेको बताउनु भयो । एकै साथ धेरै तिर बाढी पहिरोको समस्या देखिएकाले सडकहरुको तत्काल मर्मतमा समस्या देखिएको ज्ञवालीले जानकारी दिनु भएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग