Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एक हजार बैंकमा जम्मा गर्न दुई हजार बाटो खर्च

Published on 3:05:00 AM //

प्रेम सुनार
जेठ २४, गुल्मी । गुल्मीको सदरमुकाम तम्घासबाट पश्चिमको अन्तिम गाविस अग्लुङ लगायतका १३ वटा गाविसका जनताले एक हजार रुपैँया बैँकमा जम्मा गर्न आउँदा दुई हजार रुपैयाँसम्म बाटो खर्च खर्चिने समस्या भोग्दै आएका छन् ।
स्थानिय स्तरमा कुनै बैंकिङ्ग सुविधा नहुँदा अग्लुङ्ग, म्यालपोखरी, मलायगिरी, बाँझकटेरी, वाग्ला, सिर्सेनी, पुर्कोटदह, भनभने, धुर्कोट रजस्थल, वस्तु, जैसीथोक, हाडहाडे, नयाँगाउँ सहित  १३ वटा गाविसका जनताले सदरमुकामको बैंक धाउँदा यस्तो समस्या भोगेका हुन् । ‘आफुहरुको यहि समस्यालाई दृष्टिगत गर्दै वषौंदेखिको माग पछि २०५० सालमा कृषि विकास बैंक उप शाखा पुर्कोटदहमा स्थापना गरिएको थियो’ स्थानिय वयोबृद्ध समाज सेवी चक्रबहादुर कुँवरले भने –‘त्यो उपशाखा २०५८ सालमा माओबादी द्धन्द्धकालमा असुरक्षाका कारण विस्थापित भयो जसलाई अहिले सम्म पुनःस्थापना गर्न नसक्दा यस्तो समस्यामा पिल्सीएका छौं ।’
पुर्कोटदहकै शिक्षक दशरथ घिमिरेले त्यहाँ कृषि विकास बैकको उपशाखा नहुँदा निकै मुस्कील परेको बताए ।  ‘सदरमुकामका बैंकहरुमा कहिले काँही एक हजार मात्रै जम्मा गर्नु पर्दा पनि २ हजार भन्दा बढि खर्च गर्नु परेको एक पात्र म पनि हुँ ’ उनले भने –‘यस तर्फ संवन्धीत निकायको यथासिघ्र ध्यान जान जरुरी छ ।’ समाजसेवी कुँवरले धेरै पटक कहिले कृषि विकास कार्यालय त कहिले सिडिओ कार्यालमा धाएको बताए । उनले भने ‘धेरै पटक धाईयो सुनुवाई हुन सकेन सञ्चार माध्यमले ध्यानकृष्ट गराई दिनु प¥यो । ’
त्यस भेगको सिमलटारीमा साईन रेसुङ्गा बैकको शाखा रहे पनि सिर्सेनी, वाग्ला, बाहेक पुर्कोट दह लगायतका माथील्लो  भेगलाई अपायक पर्दछ । त्यहाँ भन्दा उनिहरुलाई सदरमुकाम नजिक पर्ने गरेको छ । उनिहरुको समस्या सदरमुकाममा आयोजित एक कार्यक्रममा पनि उठ्यो । स्थानिय अगुवा कृषकहरुले यो समस्या उठाए पछि प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपालले ध्यनकृष्ट भएको बताए । "नेपालको पश्चिमेली क्षेत्रमा साना किसानको समस्या र समधानका उपाय" बिषायक सार्वजानिक सुनुवाई कार्यक्रममा उक्त स्थान लगायतका क्षेत्रमा कृषि विकास बैंक सुविधा पुग्न सके कृषकहरु कृषि उत्पादनमा थप प्रोत्साहित हुने सहभागिहरुको जोड थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग