Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा विद्युत अवरुद्धको रहस्य: हाकिमले कजाउन नजान्ने, कर्मचारीले नटेर्ने

Published on 4:45:00 AM //

प्रेम सुनार
जेठ २५ गुल्मी । गुल्मी जिल्लामा पटक-पटक विद्युत अबरुद्ध हुनुमा नेपाल विद्युत प्राधिकरण गुल्मी शाखाका कर्मचारीहरु बिचको विवाद नै प्रमुख कारण रहेको खुल्न आएको छ। प्राधिकरण गुल्मी शाखामा कार्यालय प्रमुखको कडा स्वभाव र कर्मचारीहरुको अटेरी तथा गुट उपगुटका कारण सर्बसाधारण अँध्यारोमा बस्नु परेको हो ।  
तीनपटकसम्म लोडसेडिङ्गमुक्त घोषणा गरीएको गुल्मीमा विना तालिका र जानकारी दिनमा दर्जनौँ पटक विद्युत अवरुद्ध हुने गरेको छ । पछिल्लो पटक ९ दिन देखि बिजुली साँझ, विहान र राती बल्ने तर विहान १० देखि साँझ ४-५ बजेसम्म जाने समस्या देखिएको थियो ।
दिनभरी विद्युत नभएपछि यहाँका सञ्चारमाध्यम, विभीन्न संघ-संस्थाहरु र विद्यार्थी संगठन आन्दोलनमा उत्रिए । दिर्घकालिन समस्या समाधानका उपाय खोज्ने विषयमा छलफल हुँदा कार्यालय प्रमुख र कर्मचारीहरुको विबादका कारण जनता अँध्यारोमा बस्नु परेको रहस्य खुलेको हो । कार्यालय प्रमुख नवलकिशोर गोईत उपचारका लागी काठमाण्डौ गएको समयमा विहान साँझ, रातभरी लाईन आउने र दिनभरी बन्द हुने समस्या देखिएको थियो । समस्या पत्ता नलागेपछि बुटवल क्षेत्रीय कार्यालयका ईन्जिनियर विनोद पन्थीलाई सस्या नै पत्ता लगाउन पठाईएको थियो ।

बिद्युत अनियमितता बिरुद्द बिरोधका कार्यक्रम

गोईतले अव विद्युत नियमित हुने प्रतिवद्धता जनाएपछि तीन दिनदेखि बन्द यहाँका चारवटा रेडियोहरु खुलेका छन् भने तम्घासका क्लवहरुको संयुक्त संघर्ष समितिले एकातिर र अनेरास्ववियू तथा यूवा संघ नेपालले अर्कोतिर गरी बेग्लाबेग्लै आन्दोलन जारी राखेका छन् । शुरुमा सञ्चारमाध्यम, उद्योग वाणिज्य संघ, पत्रकार महासंघ र नागरीक समाजले शुरुवात गरेको शान्तिपूर्ण आन्दोलनकै क्रममा यूवा संघ, अनेरास्ववियू र संयुक्त संघर्ष समितीले विद्युत कार्यालयमा छुट्टाछुट्टै तालाबन्दी गरेका थिए ।

हाकिमले कजाउन नजान्ने, कर्मचारीले नटेर्ने

छलफलका क्रममा आफू सन्तुष्ट हुँदा सम्म अनियमितता पनि ढाकछोप हुने र आफूलाई चित्त नबुझ्ने वित्तीकै पार्टि कार्यालयमा पुगेर कुरा लगाउने त्यहाँका कर्मचारीको प्रबृत्तिले पछिल्लो चरण यति ठूलो समस्या खडा गरीएको सरोकारवालाले ठहर गरेका छन् । ‘गएको फागुनको आन्दोलनमा तोडफोडबाट कार्यालय बचाउनुपर्ने त्यहाँका कर्मचारीले आफै उग्र भएका आन्दोलनकारीलाई अलि पर गाडी छ त्यसलाई पनि जलाउनुस भनेको मैले नै सुनेँ – प्याव्सन गुल्मीका अध्यक्ष श्री प्रसाद भलामीले भने – सरकारी सम्पत्ति जोगाउनुपर्ने त्यहाँका कर्मचारीले नै आगो लगाउनुस भनेपछि कति जिम्मेवार छन् भन्ने कुरा प्रष्ट भएकोले हाकीमलाई मात्रै दोष थोपर्नु गलत होला ।’ उनले गुल्मीमा शाखा प्रमुख आठौँ तहको ईन्जिनीयर हुनुपर्ने, अन्य तीन जना ईन्जिनीयर सहित ४६ जना हुनेपर्नेमा जम्मा २०-२२ जना मात्रै रहेको र आपसी विवादले बेलैमा मर्मत नगर्ने, एकले अर्कोलाई नटेर्ने गरेकोले पनि समस्या भएको बताए ।  ‘हाकीमले पनि कजाउन नजान्ने, कर्मचारीले नटेर्ने – भलामीले भने – यस्तो विवाद भएपछि हाकीमलाई हटाउँदा मात्रै समस्या समाधान हुँदैन ।’
 
अनेरास्ववियू, यूवा संघले कार्यालय प्रमुख भ्रष्ट भएकोले कार्वाही हुनुपर्ने र लोडसेडिङ्गमुक्त जिल्ला व्याबहारमा कार्यान्वयन गर्नुपर्ने भन्दै आन्दोलन गरेका छन् भने संयुक्त आन्दोलन समितिले दिर्घकालिन समस्या समाधान गरी जिल्लालाई लोडसेडिङ्गमुक्त बनाउनुपर्ने माग राखेको छ । आन्दोलनका क्रममा दिनहुँ हुने गरेका छलफल भने विना निष्कर्ष टुंगीने गरेका छन् । दलका नेता र प्रमुख जिल्ला अधिकारीले कार्यालयको ताला खोलेर आन्दोलनका अन्य कार्यक्रम जारी राखि समस्या समाधान गर्न भनेका छन् भने आन्दोलनरतहरुले क्षेत्रीय प्रमुख वा माथील्लो निकायको आधिकारीक व्यक्ति नआएसम्म वार्तामा बस्नुको औचित्य नै नभएको अडान लिएका छन् ।

गुल्मी उद्योग वाणिज्यसंघका अध्यक्ष अखिलेश्वर पाण्डेले पनि शाखा प्रमुख हटाएर मात्रै समस्या समाधान नहुने बताए । ‘२०६५ सालदेखि हामीले विद्युत अनियमिततको विरुद्ध पटक पटक आन्दोलन गर्यौ – उनले भने – कति हाकिम फेरीए तर समस्या समाधान भएन, त्यसैले सरुवा मात्रै समस्या होईन दिर्घकालिन समाधानका लागी क्षेत्रीय प्रमुखसंग नै वार्ता गर्नुपर्छ ।’ आन्दोलनरत नेपाल पत्रकार महासंघका अध्यक्ष घनश्याम गौतमले पनि व्यक्ति सरुवा मात्रै समाधानको अन्तिम विकल्प नभएको बताए । ‘यो हाम्रो दिर्घकालिन समस्या हो, कर्मचारीको सरुवा भन्दा पनि कमजोरी पत्ता लगाएर समाधानको उपाय निकालिनु पर्छ ।’ श्रोतका अनुसार गोईतलाई अन्यत्र सरुवा गरी बुटवल क्षेत्रीय कार्यालयका ईन्जिनियर विनोद पन्थीलाई गुल्मीको शाखा प्रमुख भएर ल्याउने तैयारी भएपनि त्यो प्रकृया रोकिएकोले पन्थी गुल्मी आएर मात्रै विद्युत मर्मत हुने देखाउन खटाईएको थियो । वर्तमान कार्यालय प्रमुख गोईत विरामी परेर उपचारका लागी काठमाण्डौ गएको बखत देखिएको यो समस्या समाधान गर्न आएका पन्थीले तीन दिन सम्म पनि अनौठो समस्याको कारण पत्ता लगाउन नसकेका बेला गोईत आएपछि समस्या पत्ता लगाई विद्युत सुचारु भएको थियो ।

स्याङ्जा राङ्गखोलाको विद्युत मर्मतपछि ३३ केभी लाईन सर्किटमा फूल चार्ज हुँदा फूल भोल्टेजले पाल्पा, गुल्मीको ब्रेकरमा असर गरेको र पहिला कम विद्युत हुँदा मिलाएका विद्युत उपकरणले नथेगेको कारण समस्या आएको विद्युत कार्यालयले बताएको छ । त्यसको कारण बलेटक्सासमा रहेको हाईटेन्सनको पोलमा उल्टो पारेर राखिएको पिनमा वास्पीकरण हुँदा घाम लागेको बेला चार्ज नभई विद्युत अवरुद्ध हुन पुगेको मर्मत कार्यमा संलग्न दुवै ईन्जिनीयरले बताए । आन्दोलनरत संयुक्त संघर्ष समितीका सदस्य छवि पाण्डेले आन्दोलन बत्ती नियमित गराउनका लागि भएको र अन्य राजनैतिक कुरा जोड्न नमिल्ने बताए । ‘हाम्रो आन्दोलन बत्तिका लागि हो, प्राधिकरणको प्रशासन वा कर्मचारी विरुद्ध होईन ।’ – उनले भने ।

"गोईत आएपछी समस्या झन थपियो"

अनेरास्ववियूका अध्यक्ष ओम कार्की र सचिव राजेन्द्र विक्रम कुँवरलेले नेताहरु र पत्रकारसंग चिल्लो बोल्ने र जनताका समस्याको वेवास्ता गर्ने हाकीमलाई कार्वाही नगरी समस्या समाधान नहुने बताए । उनीहरुले आफूहरुले गोईतलाई भ्रष्ट अभियुक्त किटान गरीसकेकोले उनीसंग वार्ता नै नगर्ने अडान लिए । ‘हाकीमले ठेकेदार संग मिलेमतो गरेको, नेताहरुलाई रीझाउन एक ठाउँमा लैजानुपर्ने पोल अर्को स्थानमा लगेर दिएको, विद्युत चुहावट वापत कार्वाही गर्नुपर्ने नेतालाई कार्वाही नगरेको र निःशुल्क दिनुपर्ने सेवा रकम लिएर गरेको कुरा यस भन्दा पहिलाका हाकिमहरु हुँदा पनि बाहिर आएका थिए ।’– विद्युतकै एक कर्मचारीले भने –  ‘जव नेताकी श्रीमति पुर्याउन प्राधिकरणको गाडी नदिएपछि गोईत एक नम्बरको भ्रष्ट हुने, यस्तो पनि कहिँ हुन्छ ?’  उनका अनुसार पछिल्लो पटक श्रीमतिलाई गाडी नदिएर रुष्ट भएका ति नेता त्यसपूर्व भने दिनहुँ कार्यालयप्रमुख गोईतको निवासमा चियापान गर्न गईरहन्थे ।  उनले नेताको र आफ्नो नाम भने गोप्य राख्न चाहे ।

जिल्लाका विभीन्न गविसमा जनता आफैले गाडेका तीन सय काठको पोल ठेकेदारले गाडेको भनेर सिफारीस गर्न ति नेताले दिएको दवाव तथा कागजपत्र र प्रकृया नै नमिलाई पोल ढुवानीको भुक्तानिका लागि दिएको दवाव हाकीमले नमानेपछि नेतापक्षिय कर्मचारी र हाकीम पक्ष विच विबाद भएको थियो । त्यही विवादलाई लिएर कर्मचारीहरुकै साँठगाँठमा आन्दोलन भएको विद्युतका एक कर्मचारी बताउँँछन् । नेकपा एमालेका जिल्ला सचिव सोमनाथ सापकोटाले गोईत नै कार्यालय प्रमुख भएर आएपछि विद्युतमा यतिठूलो समस्या र भ्रष्टाचार बढेको आरोप लगाए । ‘हामी प्रमण नै जुटाएर देखाईदिन सक्छौँ, उहाँलाई कार्वाही हुनुपर्छ ।’– उनले भने ।
 
जस लिन माओवादी र कांग्रेसको तँछाड-मछाड

एकीकृत नेकपा माओवादीका बुद्धि जिसीले विद्युतको समस्या समाधान गर्न आफूहरु लागिरहेको र अव पनि सबै बसेर यहाँको विद्युतको अल्पकालिन र दिर्घकालिन समस्या समाधानको उपाय खोजिनुपर्ने धारणा राखे । ‘तालाबन्दी शुरु भएपछि विद्युत सुचारु भएको होईन, हामीले पहिला देखि नै सम्बन्धित निकायमा समस्या समाधानका लागि पहल गरेका थियौँ ’ – जिसीले भने – विद्युत नियमितिताका लागि शान्तिपूर्ण आन्दोलन गर्नु जायज हो तर तालाबन्दी र हाकीमको सरुवाले मात्रै समस्या समाधान हुँदैन, सबैको साझा प्रयत्नबाट दिर्घकालिन रुपमा समस्याको समाधान खोजीनुपर्छ ।’ उनले कार्यालयमा गुट उपगुट बनाएर आन्दोलन गर्ने त्यहाँका अरु कर्मचारीले पनि काम गरेका छन् कि आन्दोलन मात्रै हो राम्ररी छानविन गरीनुपर्ने बताए ।
 
नेपाली काँग्रेसका उपसभापति भुवन श्रेष्ठले भने काँग्रेसले कुनै कर्मचारीको राजीनामा नमागी विद्युत समस्या समाधान खोजेको बताए । ‘काँग्रेसले प्राधिकरण प्रमुख गोईतको राजनीनामा मागेको भन्ने समाचार आएको छ त्यो गलत हो – उनले भने – राजीनामाले समस्या समाधान हुने होईन, लोडसेडिङ्ग मुक्त जिल्ला बनाउनका लागि आवस्यक विजुली र जनशक्ति चाहियो ।’
यसबारेमा प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपालले विद्युतको प्राधिकरणको आन्तरीक समस्या पनि विद्युत अनियमित हुनुको कारण भएको बताए । कार्यालय प्रमुख गोईतमाथी ठूलो नेता नटेर्ने, केहीलाई नजिक पारेर सर्बसाधारण उपभोक्ताहरुलाई अपाच्य शब्द प्रयोग गर्ने र पहुँचको धम्की दिने गरेको आरोप लाग्दै आएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग