Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

लोक दोहोरी गायिका सम्झना लामिछाने तीज मनाउन दुबईमा आउने

Published on 2:34:00 AM //

लालबहादुर ढेंगा
दुबई । महिलाहरुको महान चाड हरितालिका तीजलाई बिदेशमा छरिएर रहेका दाजुभाई तथा दिदीबहिनीहरुले आ–आफ्नो परम्परागत रीतिरिवाज र धुमधांमका साथ मनाउने प्रचलन विगतदेखि नै ल्याएका छन् । यसपालिको तीज मनाउन भने चर्चित लोक दोहोरी गायिका सम्झना लामिछाने युएईमा आउने भएकी छिन् । आगामी ३० अगस्तको दुबईमा आयोजना गरिने “तीज बिशेष सांझ २०७०” को कार्यक्रमको निमन्त्रणामा आउने भएकी हुन् ।
 जुकेना–९, अर्घाखांचीमा जन्म भई हाल काठमाण्डौंमा बसोबास गर्दै आएकी सम्झना लामिछाने लोक दोहोरी क्षेत्रका चर्चित गायिकाको रुपमा चिनिन्छिन् । आफ्नै एल्बम “आंसु तथा सलाई” तीजको गीत “नाच्ने हो ढल्की–ढल्की” बाट ख्याति कमाएकी थिइन् भने १० दर्जनभन्दा बढी गीतहरुमा आफ्नो सुरिलो आवाजहरु पस्किसकेकी छिन् ।
विगत ३ बर्षदेखि संगीतको दुनियामा सफर गर्दै आफ्नै ४ वटा एल्बमहरु बजारमा भित्र्याउन समेत सफल भएकी छिन् । सुरिलो स्वरकी धनी गहुंगोरो आकर्षक चेहरा पाएकी गायिका लामिछानेले युएईको भ्रमण दोस्रो पटक गर्दै छिन् भने अर्को महिना अगस्तमा मलेशियामा जाने पक्का गरेकी छिन् । त्यसैगरी विभिन्न गीतहरुमा मोडलिङ र मगर भाषाको फिल्म “म्यारमिन” (नाम) मा अभिनय पनि दिएकी छिन् ।
“तीज बिशेष सांझ २०७०” कार्यक्रम आगामी ३० अगस्त शुक्रबारका दिन दुबईको इम्पिरियल स्वीट्स होटलमा सम्पन्न हुने भएको छ । अर्घाखांची सम्पर्क समिति युएई र गुल्मी सेवा समाज युएईको संयुक्त आयोजनामा हुन गइरहेको सांगीतिक कार्यक्रममा लोक दोहोरी गायिका सम्झना लामिछानेका साथ स्थानीय कलाकारहरु होमनाथ कुंवर, सविता आचार्य, सीता ठकुरी, सृजना भण्डारी, मौसम केसी, आशिकी पाण्डे, मुस्कान भुसाल, यमलाल पराजुली, चुमन काउंछा, सूर्य केसी, मन्जु केसी, शर्मिला पौडेल, दीपक शाह र चिरन केसीको बेजोड प्रस्तुतिहरु रहने छन् ।
युएईमा आयोजना गरिने अन्य कार्यक्रमको तुलनामा महिलाहरुको हरितालिका तीजको कार्यक्रममा धेरै सहभागिता रहने गरेकाले आयोजक समितिलाई पनि चुनौतीहरु समेत झेल्न परेको हुन्छ । कार्यक्रमलाई सांगीतिक र मनोरञ्जनात्मक तुल्याउनका लागि आयोजक समिति संशक्त ढंगले लागिपरेको अर्घाखांची सम्पर्क समिति युएईका अध्यक्ष राजु खड्काले जानकारी दिनु भएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग