Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

नागरिकता फेरेर विवाह गर्दै, अंश माग्दै

Published on 5:58:00 PM //

एक व्यक्ति, दुई नाम, तीन नागरिकता
गगनशिला खड्का
गुल्मी, २ साउन । एक महिलाले नाम परिवर्तन गरेर तीनवटासम्म नागरिकता लिएको खुलेको छ । विवाह भइसकेकी ती महिलाले नाम र थर परिवर्तन गरी अविवाहिता भएको नागरिकता निकालेर पुन: विवाह गरेकी छिन् । उनले विवाह गर्दै अंश माग्ने गरेकी छिन् ।

दिगाम–७ की छोरी तारा भनिने हरिकला झाँक्रीले दुईवटा नाममा नागरिकता निकालेकी हुन् । उनले २ जेठ ०६४ मा पल्लीकोट–१ का लिलबहादुर झाँक्रीको श्रीमतीका रूपमा ४११०१७/६५७११ नम्बरको नागरिकता बनाएकी थिइन् । उनले त्यसपछि ७ कात्तिक ०६५ मा अविवाहिताका रूपमा ४११०२०/७४२६० गीतादेवी सूर्यवंशीको नामबाट नागरिकता बनाएकी छन् । गीतादेवीकै नामबाट उनले १३ चैत ०६६ मा म्याग्दी–८ पुलाचौरका गोविन्द बानियाँ पति भएको तेस्रो नागरिकता म्याग्दी जिल्ला प्रशासनबाट निकालेकी छन् ।

उनका तीनवटा नागरिकतामा जन्ममिति पनि फरक–फरक रहेको छ । हरिकला नामको पहिलो नागरिकतामा जन्ममिति २७ चैत ०४० उल्लेख छ । गीतादेवी नामको दोस्रो र तेस्रो नागरिकतामा २७ चैत ०३८ उल्लेख छ । डेढ वर्षको अवधिमा गुल्मी जिल्ला प्रशासनबाट लिएका दुईवटै नागरिकतामा सहायक प्रमुख जिल्ला अधिकारी पुरन गिरीको हस्ताक्षर छ ।
गिरीले पहिलो नागरिकतामा कायममुकायम प्रमुख जिल्ला अधिकारीका रूपमा र दोस्रो नागरिकतामा सहायक प्रमुख जिल्ला अधिकारीका रूपमा हस्ताक्षर गरी जारी गरेका छन् । नक्कली कागजात जम्मा पार्ने बानी परेकी उनले आफ्ना विभिन्न प्रमाणपत्रमा पनि फरक–फरक नाम राखेकी छन् ।

झाँक्रीले दोस्रो नागरिकताको आधारमा नागरिकता जारी भएको २२ दिनपछि २१ कात्तिक ०६५ मा नेपाली राहदानीको प्रमाणपत्रसमेत बनाएकी छन् । पहिलो श्रीमान्को मृत्युपछि सम्पत्ति आफ्नो नाममा बनाएर म्याग्दीका गोविन्द बानियाँसँग विवाह गरेकी उनले दोस्रो पतिको पनि काठमाडौंमा रहेको घरजग्गा आफ्नो नाममा नामसारी गराइदिन भनेपछि विवाद हुँदा उनको तीनवटा नागरिकता रहेको खुलेको हो ।

विवादपछि म्याग्दी जिल्ला अदालतमा परेको मुद्दामा किर्ते कागजात बनाएको अभियोगमा आफैँ कारबाहीमा परेपछि उनले मुन्द्रेहरूलाई ल्याएर धम्क्याउन थालेको बानियाँले बताए । ‘म्याग्दी जिल्ला अदालतको मुद्दामा हाम्रो विवाह बदर हुने र उसलाई नक्कली कागजातको सजाय भएपछि मुन्द्रे र गुन्डा बोलाएर धम्क्याउन थाली,’ उनले भने, ‘कानुन नै हातमा लिएपछि त के लाग्यो र हैरान भइयो ।’

ती महिलाको गुल्मीको पल्लीकोटस्थित पहिलो श्रीमान्बाट दुई छोरा छन् । ०६५ मा श्रीमान्को मृत्युपछि उनले तुरुन्तै ४ कात्तिक ०६५ मा छोराहरूको संरक्षकका रूपमा अंश पाउनुपर्ने भन्दै जिल्ला अदालत गुल्मीमा मुद्दा दायर गरेकी थिइन् । त्यसको केही दिनपछि नै अविवाहिताका रूपमा नाम र जन्ममितिसमेत परिवर्तन गरी माइतीबाट नागरिकता लिएकी थिइन् ।

म्याग्दी जिल्ला अदालतका तत्कालीन न्यायाधीश विनोदप्रसाद शर्माको इजलासले १२ मंसिर ०६९ मा जालसाज गरेको ठहरमा झाँक्रीलाई मुलुकी ऐन किर्ते कागजको महल १० बमोजिम दुई सय रुपैयाँ जरिवाना गरी विवाहसमेत बदर गर्ने फैसला गरेको थिए । त्यसपछि आफूले अदालतमा न्याय नपाउने देखेर हरिकलाले नेता र गुन्डा गुहारेर आफूलाई दु:ख दिने गरेको बानियाँले बताए ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग