Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा दलित महिलामाथि बढ्दो हिंसा

Published on 12:31:00 PM //

-गगनशिला खड्का
जबर्जस्ती करणीपछि जन्मिएको बच्चाको लालनपालन र न्यायका लागि गुल्मीको धुर्कोटवस्तुकी चन्द्रिका नेपालीले अदालतको ढोका ढकढक्याउन थालेको चार वर्ष बित्यो। तर, उनले न्याय पाउनु त कता हो कता उल्टै माइतीबाट समेत तिरस्कृत हुनुप¥यो।
गुल्मीकै धुर्कोटवस्तुकी १६ वर्षीया नेपाली ०६६ मा गाउँकै रामचन्द्र पाण्डेयको जबर्जस्ती करणीबाट १३ वर्षकै उमेरमा छोरीकी आमा बन्न बाध्य भएकी थिइन्। उनले आफूलाई पाण्डेयले फकाएर स्याउला सोर्न जाऊँ भनी जङ्गलमा लगेको र त्यहाँ गइसकेपछि जबर्जस्ती करणी गरेकाले न्याय पाऊँ भनी जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयमा ठाडो उजुरी दिइन् । उनले उजुरी दिन नपाउँदै पीडक पाण्डेय फरार भइसकेका थिए ।
नेपालीको उजुरी प्रहरी र प्रशासन कार्यालयले सम्बोधन गर्ने क्रममा पाण्डेयका बुबालाई बोलायो। तर, उनी छोरो झिकाउने सर्तमा छुटे। त्यसपछि पाण्डेय परिवार गुल्मीको घरबारी बिक्री गरेर बसाइँ स¥यो। पीडित नेपालीले पाण्डेयको विरुद्धमा अंशवण्डा दिलाइपाऊँ भनी दिएको निवेदनका आधारमा जिल्ला अदालत गुल्मीले पीडक रामचन्द्र पाण्डेयले नेपालीलाई मासिक दुई हजार रुपैयाँ नगद र अंश दिनुपर्ने फैसला पनि गरिदियो। तर, अहिले पीडक परिवार पुनरावेदन अदालत बुटवलमा पुगेको छ ।
जिल्ला अदालतको फैसलापछि कानुनी रूपमा न्याय पाएँ भनेर हर्षित बनेकी नेपाली पीडक पक्ष पुनरावेदन गएपछि खिन्न भएकी छिन्। पीडक पक्षको विरुद्धमा मुद्दा लड्न उनीसँग आर्थिक अभाव छ । आफूसँग आर्थिक अभाव भएकै कारण नेपाली पुनरावेदनले पटक–पटक बोलाउँदा पनि अदालत जान सकेकी छैनन्। ‘गाउँमा एक–दुई छाक मागेको भरमा छोरी पालेकी छु, बुटवलसम्म पुगेर अदालतमा मुद्दा लड्नु त मेरा लागि सपनाजस्तै हो कसरी जाऊँ ?’ उनी दुःख पोख्छिन्।
गैरदलित पुरुषको जबर्जस्तीका कारण हिंसामा पर्ने नेपाली मात्रै होइनन् पुर्कोटदहकी सानु विश्वकर्मा (नाम परिवर्तन) पनि न्यायको खोजीमा प्रहरी कार्यालय धाइरहेकी छिन्। पाँच सन्तानकी आमा विश्वकर्मालाई पुर्कोटदह– ६ निवासी ३२ वर्षीय मनोज थापाले जबर्जस्ती शारीरिक सम्पर्क गर्दै आइरहेका थिए । थापाले आफूसँग बिहे गर्ने प्रलोभन देखाई विगत पाँच महिनादेखि शारीरिक सम्पर्क गर्दै आएको विश्वकर्माले बताइन् । विश्वकर्मा र थापाको सम्बन्धबारे गाउँमा हल्ला भएपछि दुईबीच विवाह भयो। तर, समाजका केही व्यक्तिका कारण आफू थापाको घरमा बस्न नसकेको विश्वकर्माको गुनासो छ । थापा अहिले परिवारको सहयोगमा फरार छन् भने विश्वकर्मा अलपत्र अवस्थामा छिन्।
नेपाली र विश्वकर्माजस्तै गुल्मीमा गैरदलित व्यक्तिसँगको सम्बन्धले हिंसामा पर्ने दलित महिलाको सङ्ख्या बढ्दो छ । दलित महिलामा रहेको जनचेतनाको कमी र आर्थिक अभावका कारण अधिकांश महिला गैरदलितको यौनशोषणमा पर्ने गरेका छन्। गुल्मीका अधिकारकर्मी महिलाले दलित महिला गैरदलितबाट बढी हिंसामा पर्नुको कारण दलित महिलामा जनचेतनाको अभाव भएको बताउँछन्। ‘दलितबस्तीका महिला शिक्षित नहुनु र आर्थिक रूपमा सम्पन्न हुन नसक्दा गैरदलित पुरुषको यौनहिंसामा पर्ने गरेको पाइन्छ,’ महिला मानवअधिकार रक्षक सञ्जाल गुल्मीकी अध्यक्ष सीता भुसाल भन्छिन्, ‘उनीहरूसँग न्यायालयसम्म पुग्ने रकम नहुँदा गैरदलित पुरुषले दलित महिलालाई यौन सन्तुष्टिका लागि प्रयोग गर्छन्।’
दलित समुदायका युवती यौनशोषणको चपेटामा पर्ने गरेको दलित महिला सङ्घ गुल्मीका अध्यक्ष कमला बराल पनि बताउँछिन्। गुल्मीमा महिला हिंसाका घटनाको अध्ययन गर्दा तुलनात्मक रूपमा दलित महिलामाथि नै बढी यौनहिंसा हुने गरेको बराल बताउँछिन्।
तम्घासकै लीला परियारले दलित महिलाका लागि प्रभावकारी कार्यक्रम ल्याउन नसक्दा उनीहरू हिंसाको सिकार हुने गरेका बताइन्। ‘एक त राज्यले नै गैरदलित महिलाको तुलनामा हामीहरूका लागि राम्रा कार्यक्रम ल्याउन सकेको छैन, अर्को कुरा दलित पुरुषले अत्यधिक मात्रामा मदिरा सेवन गर्ने गरेका कारण पनि यहाँका महिला बढी हिंसाको सिकार बनेका हुन्छन्,’ उनको विश्लेषण छ । एकल महिला सङ्घकी धना भण्डारी त एकल दलित महिला सबैभन्दा बढी हिंसामा परेका बताउँछिन्। गुल्मीमा पछिल्लोपटक महिला हिंसाका घटनाको उजुरी बढेको तथ्याङ्कले देखाएको छ । जिल्ला प्रहरी कार्यालयमा आर्थिक वर्ष ०६७÷६८ मा ४२ महिला हिंसासम्बन्धी उजुरी प्रहरीमा परेका थिए । गत वर्ष यो सङ्ख्या बढेर एक सय २७ पुगेको छ । जसमध्ये ३६ वटा उजुरी दलित महिला हिंसासँग सम्बन्धित छन्। ‘जिल्लामा महिला हिंसाको अवस्था विकराल छ । अझ दलित महिलाको अवस्था त झनै नाजुक छ,’ जिल्ला प्रहरी कार्यालय गुल्मीकी महिला सेलमा कार्यरत तारा घर्तीमगरले बताइन्।
जिल्ला प्रहरी कार्यालयमा पुग्ने दलित महिलामाथि हुने गरेका हिंसाका उजुरीको तुलनामा अदालतसम्म पुग्ने सङ्ख्या भने निकै कम रहेको जिल्ला अदालत गुल्मीले जनाएको छ । आर्थिक वर्ष ०६९÷७० मा गैरदलित पुरुषको जबर्जस्तीका कारण बिहे गरेर अंश दाबीसम्बन्धी एउटा मात्र उजुरी जिल्ला अदालत गुल्मीमा दर्ता भएको छ । तर, जिल्ला प्रहरी र प्रशासन कार्यालयमा दर्ता भएका गैरदलित पुरुषको जबर्जस्तीका कारण पीडित भएका दलित महिलाको सङ्ख्या भने प्रसस्त भेटिन्छ ।
न्यायका लागि सदरमुकाम तम्घास पुग्ने पीडित आर्थिक अभावका कारण कतिपय प्रहरीमै मिलापत्र गर्न बाध्य छन् भने कतिपय मौन बस्ने गरेकाले यस्तो अवस्था आएको हो। ‘दलित महिला आर्थिक र शैक्षिक रूपमा सबल हुन नसकेकै कारण न्यायका लागि अदालत पुग्न सक्दैनन्,’ उज्ज्वलशील युवा महिला सञ्जाल लुम्बिनी अञ्चल सहसंयोजक गंगा खड्का भन्छिन्, ‘एक-दुईजना दलित महिला ऋण खोजेर कानुनी उपचारका लागि प्रशासनसम्म पुगे पनि अदालती प्रक्रिया झन्झटिलो र ढिला हुने गरेका कारण बीचमै छाड्न बाध्य हुन्छन्।’ कानुनी प्रक्रिया र रकम अभावका कारण गैरदलितको जबर्जस्तीले बच्चा जन्माएका धेरै कुमारी आमा न्यायालयसम्म आउन नसकिरहेको दलित पत्रकार सङ्घ गुल्मीका अध्यक्ष प्रेम सुनारको बुझाइ छ । उनी भन्छन्, ‘छिटो र सरल न्याय मात्र होइन, दोषीलाई कारबाहीको दायरामा ल्याउन नसकेसम्म दलित महिलाको शोषण कम हुन सक्दैन ।’

(गगनशिला खड्काको यो फिचर संचारिका फिचर सेवाको अप्रिल अङ्कमा प्रकाशित भएको थियो ।) 

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग