Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दलितहरुले पनि मानवअधिकार सञ्जाल गठन गरे

Published on 3:08:00 AM //

प्रेम सुनार
असार १९, काठमाण्डौ । अन्य समुदायबाट दलितहरूको माधवअधिकार रक्षा हुन नसकेको भन्दै नेपालमा दलित समुदायबाटै मानवअधिकार रक्षक सञ्जाल गठन गरिएको छ ।
नेपाल, भारत र बंगलादेशको दलित आन्दोलनकारीहरूको काठमाडौंमा भएको भेलाले त्यस्तो सञ्जाल निर्माण गरेको हो । सञ्जाल निर्माण पछि समता फाउन्डेसनले काठमाडौंमा देशका विभिन्न जिल्लाका दलित समुदायका युवालाई मानवअधिकार सम्बन्धी तालिम दिएर परिचालन गरेको छ । ६ दिने तालिमको समापन कार्यक्रममा समता फाउन्डेशनका अध्यक्ष पदम सुन्दासले दलितहरूको मानवअधिकार रक्षासंगै दलित आन्दोलनलाई शान्तिपूर्ण बनाउन मानव अधिकार रक्षक निर्माण गर्न लागिएको बताउनुभयो । उहाँले चार हजार वर्ष पुरानो जातीय विभेदविरुद्ध ४० वर्षदेखि आन्दोलन गर्दै आएपनि विभेद अन्त्य हुन नसकेको बताउनुभयो ।
दलित वर्ग विकास समितिका उपाध्यक्ष खिमबहादुर विश्वकर्माले हरेक क्षेत्रमा दलितहरूको मानव अधिकार हनन् भइरहेको दलित समुदायबाटै मानव अधिकार रक्षक निर्माण गरिनु सकारात्मक भएको बताउनुभयो । पूर्वसभाषद विनोद पहाडीले मानवअधिकार रक्षक भनिने कतिपय संस्थाले भक्षकको भूमिका निभाउने गरेको धारणा राख्नुभयो ।
युरोपेली युनियनको सहयोगमा दलिल अधिकारको पक्षमा नेपाल, भारत र वंगलादेशमा क्रियाशिल क्रिश्चन एड भारतका कन्ट्री डाइरेक्टर आनन्द कुमारले दलित मुक्ति आन्दोलन सफल पार्न त्यही समुदायबाटै मानव अधिकार रक्षक निर्माण गर्न लागिएको जानकारी दिनुभयो । कुल ३५ जना युवालाई संस्थाले मानव अधिकार रक्षकको तालिम दिएर परिचालन गरेको छ । भविष्यमा ७५ वटै जिल्लामा त्यस्ता युवा परिचालन गरिने समता फाउन्डेसनका अध्यक्ष पदम सुन्दासले जानकारी दिनुभयो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग