Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

काठमाडौंमै यसरी भेटियो पैँतीस किलो सुन

Published on 4:27:00 PM //

काठमाडौँ, असार २६ गते । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले गैरकानुनी तरिकाबाट लुकाइछिपाइ ल्याउँदै गरेको ठूलो परिमाणमा आज सुन बरामद गरेको छ ।
चीनको खासाबाट भारत लैजाने उद्देश्यका साथ ल्याइँदै गरेको ३५ किलो सुन आज बिहान ५ः३० बजे प्रहरीले राजधानीको कोटेश्वरबाट बरामद गरेको हो ।
उक्त बरामद गरिएको सुनको बजार मूल्य करिब रु १७ करोड ५० लाख भएको प्रहरीले जनाएको छ ।

चीनको खासाबाट तातोपानी नाकाहुँदै सामान लिएर काठमाडौँ आइरहेको बा३प २५७० नम्बरको कन्टेनरको अघिल्लो भागमा फल्स् बटन बनाएर लुकाइ ल्याइरहेको अवस्थामा एक÷एक किलोग्राम तौलका ३५ टुक्रा सुन बरामद गरिएको व्यूरोका निर्देशक प्रहरी नायब महानिरीक्षक प्रकाश अर्यालले जानकारी दिनुभयो ।

सिन्धुपाल्चोक जिल्ला तातोपानी गाविस–८ का कन्टेनर चालक २४ वर्षीय निमा छिरिङ तामाङसमेतको संलग्नता भएकाले उनीमार्फत मुख्य कारोबारीको खोजतलास भइरहेको तथा कारोबारमा संलग्न केहीको पहिचानसमेत खुलिसकेको व्यूरोले पत्रकार सम्मेलनमार्फत जनाएको छ ।

बरामद गरिएका सबै सुन बिस्कुट आकारमा छन् । सुन ल्याउँदै गरेको कन्टेनर तातोपानी भन्सार कार्यालयले सिलबन्दी गरेकाले त्यो कन्टेनरमा कुन व्यापारीको के सामान छ भन्ने खुलिनसकेकाले अनुसन्धान भइरहेको बताइएको छ ।

तातोपानी नाकाहुँदै काठमाडौँ ल्याइरहेको उक्त कन्टेनरमा ठूलो परिमाणमा सुन राजधानी भित्रिँदै छ भन्ने व्यूरोले सूचना पाएपछि उक्त कन्टेनरलाई प्रस्थान विन्दुबाटै पछ्र्याउदै आएको ब्युरोले जनाएको छ ।

सुन तस्करीमा धेरै समूह र विभिन्न तह र तप्काका व्यक्तिहरुको संलग्नता हुन सक्ने प्रहरीको अनुमान छ ।

सो कन्टेनबाट केही विदेशी मुद्रासहित रु १६ हजार ७०० नगदसमेत बरामद भएको बताइएको छ । रासस

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग