Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जिल्लाको शान्ति सुरक्षाका बिषयमा के भने नयाँ सिडिओले? सुनौ उनकै आवाजमा (अडियो)

Published on 12:08:00 AM //

प्रेम सुनार
अडियो: पि.एम.मगर
गुल्मी, साउन ३० गते । वर्तमान समयमा जिल्लाको शान्ति सुरक्षाको अवस्था सामान्य रहेको प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले वताउनुभएको छ । अहिलेको आफुहरुको प्रमुख जिम्मेवारी भनेको शान्ति सुरक्षा कायम गर्ने र आसन्न संविधानसभाको निर्वाचन सम्पन्न गर्ने रहेको वताउँदै प्रमुख जिल्ला अधिकारी ढकालले जिल्लामा शान्ति स्थायित्व कायम गर्नका लागि कटिवद्ध रहेको वताउनुभयो ।
सदरमुकाम तमघासमा बुधवार रेसुङ्गा सामुदायिक सेवा केन्द्र, गुल्मीले “शान्ति सुरक्षामा जनता र प्रहरी प्रशासनविच संवन्ध, सहकार्य विषयक अन्तरकृया कार्यक्रममा उहाँले गुल्मीमा ठुल्ठुला जघन्य खालका अपराधीक घटनाहरु नदेखिएपनि शान्ति सुरक्षाको क्षेत्रमा उच्च सतर्कता अपनाएको बताउनुभयो । भौगोलिक अवस्था लगायतका विभिन्न कारणले जिल्लाका सवै स्थानहरुमा समानरुपमा सरकारी सेवाहरु मजवुद हुन नसकेको वताउँदै प्रमुख जिल्ला अधिकारी ढकालले त्यसका लागि आफुहरु विभिन्न कार्यक्रम तथा अभियानहरु तय गरी लागिरहेको वताउनुभयो । अपराधिक घटनाको होस या शान्ति सुरक्षा सवै सुचनाहरु प्रशासन कार्यालय वा प्रहरीलाई दिन उहाँले आग्रह् गर्नुभयो । साथै उहाँले आसन्न संविधानसभाको निर्वाचनका लागि जिल्लाको क्षेत्र नं. १ मा ३८, क्षेत्र नं. २ मा ४८ र क्षेत्र न.. ३ मा ४३ गरी १ सय २९ वटा मतदान केन्द्रका लागि प्रस्ताव गरेको जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी ढकालले जिल्लाको जनसंख्या अनुपातमा प्रहरीको दरवन्दी कम रहेको समेत वताउनुभयो । त्यस्तै उहाँले शान्ति सुरक्षामा मात्र नभई जिल्लाको विकासका कार्यमा जनतासँग हातेमालो गरेर आफु अगाडी वढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
सोही कार्यक्रममा जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक राजकुमार लम्सालले जिल्लाका नागरिकको सुरक्षाका लागि प्रहरी प्रशासन कटिवद्ध भएर लागिरहेको वताउनुभयो । मानवअधिकारको सम्मान, प्रवद्र्धन, पुराना मुद्धाहरुको फलो अप, चोरीका मोटरसाईकल तथा सवारी साधन नियन्त्रणमा लिई कानुनी कारवाहीका लागि भन्सार तथा राजश्व अनुसन्धान कार्यालयमा दाखिला गरिएको लगायतका विषयमा जानकारी गराउनुभयो । समग्रमा जिल्लाको शान्ति सुरक्षाको अवस्था सामान्य रहेको वताउँदै उहाँले जिल्लाका राजनीतिक दल, नागरिक समाज, सुरक्षा निकाय समेतका पक्षहरुसँग समन्वय गरेर अगाडी वढ्ने समेत उहाँले वताउनुभयो ।
त्यस्तै ढकालले जिल्लाका दुर्गम स्थानहरुमा पनि अस्थायी प्रहरी पोष्ट स्थापनाका लागि प्रस्ताव समेत गरिएको वताउनुभयो । गुल्मीमा आत्महत्याको घटनामा अत्यधिक वृद्धि भएको जानकारी गराउँदै त्यसको गहन अनुसन्धानमा जाने योजना रहेको उहाँले वताउनुभयो । साथै उहाँले विद्यार्थी केन्द्रीत कार्यक्तमहरु पनि प्रहरीले सञ्चालन गर्दै जाने वताउनुभयो । कार्यक्रममा सहभागीहरुले जिल्लाको सुरक्षा अवस्था, हिँसात्मक घटनामा वृद्धि, ट्राफिक व्यवस्थापन लगायतका विषयमा जिज्ञासा तथा सुझावहरु  राखेका थिए । उनीहरुले प्रहरीका विगतका राम्रा कार्यक्रमहरुलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा एकीकृत नेकपा माओवादीका निमवहादुर पाण्डेय, नेपाली काँग्रेसका भुवनप्रसाद श्रेष्ठ, नेकपा एमालेका टोमलाल पाण्डेय, राप्रपाका भरतवहादुर चन्द, नेकपा माओवादीका घनवहादुर थापा लगायत विभिन्न पार्टीका प्रमुख तथा प्रतिनिधीहरुको सहभागिता रहेको थियो । त्यस्तै गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष अखिलेश्वरप्रसाद पाण्डे, निवर्तमान अध्यक्ष कृष्णप्रसाद भण्डारी, पुर्व अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ, रेडक्रस सोसाईटीका जिल्ला अध्यक्ष अनुपकुमार श्रेष्ठ, स्थानीय विकास अधिकारी हरिप्रसाद ज्ञवाली, अनुसन्धान अधिकृत महेशमान श्रेष्ठ, गुल्मपति दिलविक्रम सुव्वा लगायत विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधी, पत्रकार समेतको सहभागिता रहेको थियो । कार्यक्रममा रेसुङ्गा सामुदायिक सेवा केन्द्र, गुल्मीका अध्यक्ष हरिकुमार श्रेष्ठले केन्द्रको भावी योजनाका विषयमा जानकारी गराउनुभएको थियो भने सञ्चालन ताराप्रसाद भुसालले गर्नुभएको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग