Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बिजुली नहुँदा कर्मचारी कामहीन

Published on 12:13:00 AM //

घनश्याम गौतम
गुल्मी, श्रावण २७ । हरेक दिन बेलुका १० बजे बिजुली जाने र बिहान ६ देखि ७ बजेको बीचमा आउने । दिउँसो पनि पटकपटक जाने-आउने टुङ्गो नहुने । सधैको विद्युत् अनियमितताले सञ्चार संस्था, सञ्चारकर्मी, उद्योगी, व्यवसायीदेखि सर्वसाधारण सबैलाई हैरानी ।

१२ दिनदेखि बिजुली बेलुका जाने र बिहान आउने भएपछि समस्या बुझ्न आइतबार साढे १० बजे विद्युत् प्राधिकरण पुग्दा अधिकांश कर्मचारी कार्यालयमा उपस्थित थिए तर सबैजना कामविहीन थिए । महसुल बुझाउने शाखामा सेवाग्राहीको भीड बढिसकेको थियो । 'बिहानैदेखि विद्युत् छैन, युपिएसले पनि काम गरेन', महसुल शाखाका कर्मचारी कुशल पन्थीले भने, 'हातैले बिल काट्नुपरेकाले सेवाग्राहीलाई ढिलो भएको छ ।' बिजुली नभएपछि उनीहरूका अगाडि रहेका तीन कम्प्युटर प्रयोगविहीन थिए ।

बिजुली नभएपछि कार्यालय प्रमुखकै कोठाको कम्प्युटर र ल्यापटपसमेत बन्द थियो । काम नभएपछि लेखा प्रमुख पनि कार्यालय प्रमुखकै कोठामा थिए । सधै कर्मचारी समस्या भोग्दै आएको प्राधिकरणमा भएका कर्मचारी पनि बिजुली नभएपछि कोही प्राविधिक प्रमुखको कोठामा र कोही कार्यालय प्रमुखकै कोठामा थिए ।

दैनिक बेलुकीमा बिजुली जाने गरेको र बिहान आउने गरेको समस्या राख्दा कार्यालय प्रमुख सुरेन्द्र चौधरीले आफू हालै मात्र सरुवा भएर आएकाले बुझ्दै गरेको प्रतिक्रिया दिए । 'म आएको धेरै दिन भएको छैन', चौधरीले भने, 'पहिले मर्मत सुधार, व्यवस्थापन र कार्यालयको नागरिकसँग छवि बिग्रेकाले सुधारकै क्रममा छु ।' संवाददाता पुग्दा कार्यालय प्रमुख प्राविधिक प्रमुख विनोदसिंह बाँनियाकै कोठामा पुगेर कार्यालय समयसम्म पनि लाइन नआएकाले विकल्पको खोजी गर्दैथिए ।

प्राविधिक प्रमुख बाँनिया विकल्पका बारेमा जानकारी गराइरहेका थिए । बुटवल पावर कम्पनीको झिमरुक प्रसारण केन्द्रको लाइन अर्घाखाँचीबाट ल्याउन सकिने वा स्याङ्जा गल्याङको लाइन जिल्लामा जोड्न सकिने विकल्प रहे पनि क्षेत्र वा केन्द्रीय स्तरबाटै पहल गर्नुपर्ने बाँनियाको सुझावपछि प्रमुख आपmनै कार्यकक्षमा फर्किए । दैनिक बेलुकीमा जाने र बिहान आउने गरेको विषयमा भने कार्यालय प्रमुखले समेत अनभिज्ञता प्रकट गरे । बेलुकीमा रुपन्देहीकै एक स्टिल कम्पनीलाई कर्मचारीको मिलेमतोमा विद्युत् बिक्री हुने गरेकाले पाल्पा र गुल्मीमा दैनिक साँझमा जाने र बिहानमा आउने गरेको क्षेत्रीय कार्यालय बुटवलको स्रोतले जानकारी दिएको छ ।

३३ हजार ग्राहक रहेको प्राधिकरणमा १९ वर्ष अगाडि कार्यालय स्थापना गर्ने समयमै ४६ जनाको दरबन्दी थियो । जतिबेला प्राधिकरणका ४ हजार मात्र ग्राहक थिए । ग्राहक बढेर ३३ हजार पुग्दा भएको ४६ दरबन्दीमध्ये पनि अहिले जम्मा १४ जना कर्मचारी कार्यरत छन् । सरुवा भएर आउने कर्मचारीलाई राजनीतिक संगठनहरूको हस्तक्षेप हुने र आए पनि केही दिनमै र्फकने गरेकाले प्राधिकरणले सधै कर्मचारी समस्या भोग्दै आएको छ । त्यसको प्रत्यक्ष मार सर्वसाधरणमा परेको छ ।

 प्राविधिक प्रमुख बाँनियाले भएका कर्मचारीमध्ये पनि प्रशासनमा ७ जना रहेको र ७ जना मात्र प्राविधिक भएकाले बत्ती जानासाथ फल्ट पत्ता लगाउनै समय लाग्ने गरेको बताए । 'पोलमा चढ्ने कर्मचारी नहुँदा मैले ठेकेदारका मान्छेलाई काममा लगाउने गरेको छु', बाँनियाले भने, 'पोलमा चढाएर काम गराएबापत उनीहरूलाई दिने पारिश्रमिकसमेत हुँदैन ।' पोल चढ्ने कर्मचारी नभएपछि कार्यालयसँगै फिल्डमा विद्युत् मर्मतको काम प्रभावित हुने गरेको उनले बताए ।

जिल्लामा २ सय ४२ किलोमिटर प्रमुख प्रसारण लाइन र ६ सय ७ किलोमिटर स्थानीय प्रशारण लाइन छ । त्यसका लागि कम्तीमा पनि २० प्राविधिक आवश्यक पर्नेमा ७ जनाले मात्र काम चलाउनुपरेको छ । त्यसमा पनि एक जना वीरवास सबस्टेसनमा नियमित बस्नुपर्छ । ७९ गाविस रहेको जिल्लाका ५६ गाविसमा विद्युत् सेवा पुगेको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग