Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

योजना थालेको ५ वर्ष पछि अमरपुर झलमल

Published on 3:08:00 AM //

प्रेम सुनार
साउन २५, गुल्मी । स्थानियबासीको बहुप्रतिक्षित अमरपुर-अर्जै सामुदायिक ग्रामिण विधुतिकरणबाट बिहीवार पहिलो दिन अमुपुर गाविसको सय घरधुरी उज्यालो भएको छ ।
२०६३ सालमा प्रस्तावित उक्त योजनाको काम २०६५ सालवाट सुरुगरी झण्डै ५ वर्ष पछि अमरपुर वुल्म ट्रान्सफर्मरबाट विधुत सुचारु गरी एक सय घरधुरीलाई साँझ ६ वजे देखि उज्यालो पारिएको उपभोक्ता समितिका उपाध्यक्ष ढालबहादुर कुँवरले जानकारी दिए ।
अर्जै, अमरपुर दुवै गाविसमा लाईन छाडिएकोले करेण्ट लाग्ने हुँदा छेउछाउका बासिन्दा सचेत रहन कुँवरले आग्राह गरेका छन् । अर्जैमा एक हप्ता भित्र वत्ति वाल्ने उपभोक्ता समितिका अध्यक्ष लिलबहादर अधिकारीले प्रतिबद्धता जनाएका छन् ।
दुई वटै गाविसका पुरै घरधुरीलाई वत्ति दिन अझै एक महिना लाग्ने अध्यक्ष अधिकारीले बताए । उनले दिएको जानकारी अनुसार योजना कुल ३ करोड ६२ लाखमा सम्पन्न हुँदैछ । त्यस मध्ये २० प्रतिशत अमरपुर, अर्जैबासीले ८१ लाख रुपैयाँ उठाएका थिए भने बाँकी विधुत प्राधिकरणले दिएको थियो । धेरै ढिलो सम्पन्न हुनुको कारण के हो त ? भन्ने प्रश्नमा अध्यक्ष अधिकारीले प्राधिकरण र ठेकेदारलाई दोष थोपरे । उता काठमाण्डौमा रहेका ठेकेदार सागर लुईटेलले प्राधिकरणको ढिला सुस्ती भन्दै आफ्नो बचाउ गरे । भने–‘ढिलै भए पनि काम राम्रो भएको छ, ढिलाई हुनुको कारण त प्राधिकरण नै हो, हामी त जति सक्दो छिटो होस भन्ने पक्ष मै हुन्छौ । ’
‘ढिलै भए पनि बत्ति बाल्न पाएकोमा अमरपुरका गरिव कुमाल समुदाय आज रमाएका छन् । कोही रेडियो त कोही टेलिभिजन हेर्न तँछाड मछाड गरेका छन् ’उपाध्यक्ष ढालबहादुर कुँवरले भने –‘एक प्रकारको उत्साह र आतिसवाजी छ । ’ ढिलै भए पनि विधुत सुचारु गर्न पाएकोमा अध्यक्ष लिलबहादुर अधिकारी लगायतका समितिका पदाधिकारी, सदस्यहरुले सन्तोष प्रकट गरे ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग