Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

विदेशमा बस्ने नेपालीको उदार मन

Published on 3:35:00 AM //

आफ्नो जन्मभूमि सबैलाई प्यारो हुन्छ। अझ विदेशमा रहँदा स्वदेशको मायाले अझ बढी सताउँछ । त्यही भएर विदेशमा रहेका नेपालीहरू स्वदेशमा भएको दुःखकष्टमा सहयोग गर्न सधैं आतुर हुन्छन् । रोजगारीको कारण होस् वा अध्ययन तथा अन्य विविध कारणले विदेशमा रहेका नेपालीहरू स्वदेशमा परेको दुःखकष्टलाई संवेदनशील भएर बुझ्छन र सहयोग गर्न तत्पर हुन्छन् । यसको पछिल्लो उदाहरण बेलायतमा बसोबास गर्दै आएका गुल्मेलीहरूलाई लिन सकिन्छ । विदेशमा बस्ने अन्य जिल्लाका नेपालीले पनि समयसमयमा सहयोग गदै आएका छन् ।

नेपालको सुदूरपश्चिम क्षेत्रमा हालैको बाढीपहिरोले पुर्याएको जनधनको क्षतिप्रति संवेदनशील बन्दै बाढीपीडितहरूको सहयोगार्थ बेलायतमा बसोबास गर्दै आइरहेका गुल्मेलीहरूले आफ्नो संस्था गुल्मी जिल्ला समाज यूकेमार्फत् नगद १ लाख ११ हजार ८ सय ८८ रुपियाँ सहयोग उपलब्ध गराएका छन् ।

उक्त सहयोगको रकम गुल्मी जिल्ला समाज यूकेका कार्यसमिति सदस्य भेष थापाले सिंहदरबारस्थित श्रम तथा वैदेशिक रोजगार मन्त्रालयको कार्यकक्षमा एक कार्यक्रमबीच मन्त्री हरिप्रसाद न्यौपानेलाई हस्तान्तरण गर्नु भएको छ । सो अवसरमा मन्त्री न्यौपानेले नेपालीहरू विश्वको जुनसुकै ठाउँमा बसे पनि मातृभूमिको सेवा र सहयोगमा जुट्ने गरेको प्रसंग कोट्याउँदै प्रसन्नता व्यक्त गर्नुभएको थियो ।

सोही अवसरमा समाजले प्रथम पटक प्रकाशन गरेको ‘हाम्रो सेवा’ नामक विशेष स्मारिका पनि कार्यसमिति सदस्य थापाले मन्त्री न्यौपानेलगायत अन्य उपस्थित सहभागीहरूलाई उपलब्ध गराउनुभएको थियो । सो स्मारिकामा बेलायतमा बसोबास गर्ने नेपालीहरू तथा नेपालका समेत करिब ४ दर्जन स्रष्टाका साहित्यिक एवम् विविध रचनाहरू समेटिएको छ।

उक्त स्मारिकाको विमोचन लन्डनमा हालै आयोजित एक समारोहबीच बेलायतका लागि नेपालका कार्यबाहक राजदूत तेजबहादुर क्षेत्री, समाजका अध्यक्ष अर्जुन गौतम, समाजका संस्थापक अध्यक्ष ओमप्रसाद थापा तथा एनआरएन यूकेका अध्यक्ष कुल आचार्यले संयुक्तरूपमा गर्नुभएको थियो ।

गुल्मी जिल्ला समाज यूके नामको संस्था सन् २००७ अगस्टमा बेलायतको लन्डनमा स्थापना भएको हो । यस समाजले स्थापनाकालदेखि नै विभिन्न सामाजिक सेवाका कार्यहरूमा सहयोगी हात अगाडि बढाउँदै आइरहेको छ । हालसम्म समाजले गुल्मी जिल्लामा शिक्षा, स्वास्थ्य, संस्कृति, भौतिक पूर्वाधार विकास एवम् अपांग सहयोगका क्षेत्रमा करिब सवा करोड रुपियाँ बराबरको सहयोग पुर्याइसकेको कुरा समाजका अध्यक्ष अर्जुन गौतमले बताउनुभएको छ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग