Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बिऊलाई धितो राखी कर्जा प्रबाह गरिदिन कृषकको माग

Published on 4:20:00 PM //

पि.एम.मगर
गुल्मी, भदौ ९ । जिल्ला स्थित कृषि सहकारी संस्थाहरुले मकैको बिउलाई धितो मानेर कर्जा प्रबाह गर्न सरोकारवाला कार्यालयहरुसँग माग गरेका छन् । कृषकहरुसँग व्यक्तिगत रुपमा लगानी गर्न सक्ने पूँजी थोरै हुने हुँदा उनीहरुसँग उपलव्ध बिऊलाई आधार मानेर कर्जा प्रबाह गर्न सकेमा गुल्मीमा मकैको उन्नत बिऊ उत्पादनमा वृद्धि हुने उनीहरुको तर्क थियो ।

जिल्ला कृषि विकास कार्यालय तथा पहाडी मकै बाली अनुसन्धान परियोजनाको संयुक्त आयोजनामा सदरमुकाममा आयोजित अन्तरक्रिया कार्यक्रममा उनीहरुले यस्तो माग गरेका हुन् । उनीहरुको मागको बारेमा वाणिज्य वैंक गुल्मीका प्रवन्धक घनश्याम ज्ञवालीले कृषकहरुले उठाएका मागहरु जायज हुँदाहुँदै पनि वैंककोे बिना धितो लगानी गर्न सक्ने स्थिति नरहेको वताउनुभयो । कार्यक्रममा जिल्ला कृषि विकास वैंकका प्रबन्धक पदम प्रसाद गौतमले कृषकहरुले आफ्नो उत्पादन र व्यवसायलाई निरन्तरता दिनका लागि वर्तमान अवस्थामा बाली बिमा अपरिहार्य भएको जानकारी दिनुभयो ।
बाली विमा गराउँदा कृषकहरुलाई उत्पादनको क्रममा भएको नोक्सानी उनीहरुले गरेको बिमाबाट प्राप्त गर्न सकिने हुँदा लगानीको जोखिम नहुने उहाँको तर्क थियो । सोही कार्यक्रममा सिमिचौर स्थित मालिका कृषि सहकारी संस्थाका प्रतिनिधी कृष्णप्रसाद अर्यालले मकैको बिऊलाई धितो मानेर लगानी गर्न सके कृषकहरुले त्यही बिऊ बिक्री गरेर कर्जा तिर्न सक्ने धारणा राख्नुभयो । जिल्लामा पम्परागत रुपमा उत्पादन हुने बिउले उत्पादनमा वृद्धि दिन नसकेको अवस्थामा गुल्मीमा पहाडी मकैबाली अनुसन्धान परियोजना अन्र्तगत सिमिट नेपालको आर्थिक सहयोग र लिवर्ड पोखराको प्राविधीक सहयोगमा गुल्मीमा मकैको जातीय विकास गर्ने कार्यक्रम संचालन हुँदै आईरहेको छ ।
गत १४ वर्ष अघि सिमिचौर र दरवार देविस्थान गाविसमा सहभागितामूलक बाली प्रजनन कार्यक्रम सञ्चालन गरिएपछि बिस्तारै बिस्तारै कृषकहरुमा नयाँ जातको मकै उत्पादन गर्ने रहर जागेको हो । जिल्लामा मालिका कृषि सहकारी संस्था सिमिचौर र रेसुङ्गा सिर्जनशील कृषक समूह दरवार दबिस्थानले कृषकहरुले मन पराएको नयाँ जातको मकैको विकास गर्नुका साथै बाली अनुसन्धान र बिउ उत्पादन कार्यक्रम संचालन गर्दै आईरहेको छ । जिल्लामा मालिका कृषि सहकारी संस्थामार्फत सिमिचौर गाविसमा ५ सय ४० रोपनी र रेसुङ्गा सिर्जनशील कृषक समूहमार्फत दरवारदेविस्थान गाविसमा २ सय २० रोपनी जग्गामा देउती, रेसुङ्गा कम्पोजिट गुल्मी २, मनकामना ३, मनकामना ५ र रामपुर कम्पोजिट गरि छ प्रकारका नयाँ जातका मकैको बिउ उत्पादन गरिदैं आएको छ । गत वर्ष ४० टन मात्र बिउ उत्पादन गरेकोमा यस पटक भने एक सय टन भन्दा वढी बिउ उत्पादन गर्ने लक्ष्य रहेको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत चेतनाथ अधिकारीले बताउनुभयो ।
परम्परागत रुपमा उत्पादन गर्दै आएको मकै भन्दा नयाँ जातको मकै खेती शुरु गरेपछि उत्पादनमा बृद्धि हुनुका साथै आम्दानीमा समेत वृद्धि भएको पानी टङ्की जैविक वहुउद्देष्यीय कृषक समूहकी दुर्गा ज्ञवालीले वताउनुभयो । कार्यक्रममा पहाडी मकै बाली अनुसन्धान परियोजनाका बजार विज्ञ डा. डिल्ली बहादुर के.सी., क्षेत्रीय प्रमुख रमेशराज पुरी तथा लि–वर्ड पोखराका प्रतिनिधि खम बहादुर प्रजा लगायतले वित्तिय संघ संस्थाहरुले सहज रुपमा कृषकहरुलाई कर्जा प्रबाह गर्न सक्ने वातावरण निर्माण गरिदिन आग्रह गर्नु भएको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग