Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

नक्कली विद्यार्थी २७ हजार

Published on 11:39:00 AM //

घनश्याम गौतम
गुल्मी, भाद्र ८ । विद्यालय क्षेत्र सुधार योजनाअन्तर्गत दाताको सहयोग रकम विद्यालयहरूले नक्कली विद्यार्थी पेस गरेर दुरुपयोग गर्ने गरेको फेला परेको छ । शिक्षा कार्यालयले २ वर्षयता गरेको छड्के अनुगमनमा विद्यालयले भर्ना नै नभएका विद्यार्थी देखाएर अनुदान रकम निकासा लिई दुरुपयोग गर्ने देखिएको हो ।
आफूखुसी विद्यार्थी संख्या पेस गरेर त्यसैका आधारमा बिल भरपाई गराउने र ठूलो रकम अनियमित तवरबाट लैजाने गरेको खुलेको छ । शिक्षा कार्यालयले स्रोत व्यक्ति र विद्यालय निरीक्षकको कार्यक्षेत्र परिवर्तन गरी विद्यार्थीको छड्के अनुगमन सुरु गरेको थियो । ०६८ मा गरिएको पहिलो छड्केमा विद्यालयले पेस गरेभन्दा करिब २७ हजार कम विद्यार्थी देखिए । शिक्षा कार्यालयका तथ्यांक अधिकृत हरिलाल अर्यालका अनुसार विद्यालयले ०६७ मा करिब ९२ हजार विद्यार्थी संख्या पेस गरेका थिए । ०६८ मा ८९ हजार ९ सय ७५ विद्यार्थी संख्या पेस गरे । अर्यालले भने, 'अनुगमनमा ठूलो संख्यामा भर्ना नभएका विद्यार्थी देखाएर रकम निकासा लाने गरेको देखियो ।' ०६८ मा देखिएको वास्तविक विद्यार्थी संख्याका आधारमा पाठ्यपुस्तकको रकम वितरण गर्दा ६२ लाख रुपैयाँ खर्च नभई फिर्ता गएको अर्यालले बताए । जिल्लाभरमा ३ देखि ५ हजार विद्यार्थी कम देखिनु सामान्य मानिएपछि गुल्मीमा ठूलो संख्यामा फरक देखिएको उनले बताए ।

शिक्षा कार्यालयले ३ वर्षअघिसम्म विद्यालयले पेस गरेको विद्यार्थी संख्याका आधारमा पाठ्यपुस्तकसहित छात्रवृत्ति, पीसीएफ, दलित, गरिब, अपाङ्ग विद्यार्थीको नाममा रकम माग गर्ने गरेको थियो । ०६८ को विद्यार्थी संख्याका आधारमा पाठ्यपुस्तकमा मात्र ६२ लाख फिर्ता गएपछि विभागले त्यति नै रकम घटाएर ०६९ का लागि १ करोड ९२ लाख मात्र निकासा गरेको थियो । गत वर्ष विद्यालयहरूले ७२ हजार ६ सय ९६ विद्यार्थी संख्या पेस गरेकोमा छड्केमा ६३ हजार ७ सय ६८ मात्र विद्यार्थी फेला परेका थिए । जसका कारण गत आवमा १० लाख ५० हजार खर्च नभई फिर्ता गएको छ । बर्सेनि ठूलो संख्यामा नक्कली विद्यार्थी देखिन थालेपछि अनुगमनलाई अझै कडाइका साथ कार्यान्वयन गरिने जिल्ला शिक्षा अधिकारी गोविन्द अर्यालले बताए । उनका अनुसार केही विद्यालयले अनुगमनलाई समेत बेवास्ता गर्दै भर्ना नभएका विद्यार्थी संख्या पेस गरेकाले कारबाही प्रक्रिया अघि बढाइएको छ । अर्यालले भने, 'अझै पनि केही विद्यालयले नियतवश नक्कली विद्यार्थी पेस गरेका छन्, त्यसका लागि अनुगमन अझै प्रभावकारी बनाउँछांै ।'

पहिलो चरणमा अटेर गर्ने र नियतवश नक्कली विद्यार्थी संख्या पेस गर्ने विद्यालयका प्रधानाध्यापकलाई लिखित स्पष्टीकरणसहित सचेत गराउने तथा त्यसको पनि अटेर गरेमा थप कारबाही सुरु गरिने अर्यालले बताए । उनका अनुसार नक्कली विद्यार्थी पेस गर्दा पाठ्यपुस्तक, छात्रवृत्ति, विद्यार्थी संख्याका आधारमा विद्यालयमा जाने थप अनुदानलगायत रकम दुरुपयोग हुने गरेको देखिएको छ । जिल्लामा प्रावि, निमावि र मावि गरी ८ सय ४७ सामुदायिक विद्यालय छन् । विद्यालय सुधारका लागि गत वर्षमात्र २० करोड २३ लाख ९७ हजार आएको थियो । त्यसमध्ये १८ करोड ९२ लाख ८६ हजार खर्च भएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग