Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा लाख मतदाता घटे

Published on 2:42:00 AM //

घनश्याम गौतम
गुल्मी, भाद्र ९ । अघिल्लो संविधानसभाको निर्वाचनको तुलनामा अहिले जिल्लामा १ लाख ७ हजार ८ सय ९२ मतदाता घटेका छन् । लामो समयदेखि मतदाताको संख्या थपिने तर बसाइसराइ र मृत्यु भएकाहरूका हटाउने कार्य नहुँदा मतदाता संख्या निरन्तर बढ्दै आएको थियो । यस वर्षदेखि निर्वाचन आयोगले फोटोसहितको मतदाताको व्यवस्था गरेपछि जिल्लामा मतदाता ठूलो संख्यामा घटेका हुन् । निर्वाचन आयोगले थप गरेको समयमा जिल्लाभरबाट ८ सय २२ मतदाता थपिएको कार्यालयले जनाएको छ ।

निर्वाचन कार्यालयका सूचना अधिकारी लक्ष्मण पाण्डेका अनुसार २०६४ सालको संविधानसभामा २ लाख ६१ हजार ६ सय ६९ जनाले मतदान गरेका थिए । अबको दोस्रो संविधानसभा निर्वाचनमा भने १ लाख ५३ हजार ७ सय ७७ जनाले मात्र मतदान गर्ने छन् । यसमा बाहिरी जिल्लाहरूमा नाम दर्ता गराउनेहरूको संख्या थप हुने र उमेरका कारणले ४ हजार २ सय, दोहोरो पर्ने २ सय र मृत्यु भएका ५ सय गरी झन्डै ५ हजार संख्या अझै घट्न सक्ने पाण्डेले बताए ।

पाण्डेका अनुसार ७९ गाविसमध्ये सदरमुकाम रहेको तम्घास गाविसमा सबैभन्दा बढी ४ हजार ९ सय ८ जनाले दर्ता गराएका छन् । त्यस्तै सबैभन्दा कम दर्ता हुनेमा निर्वाचन क्षेत्र नं. १ को जयखानी परेको छ । अधिकांश जनजातिहरूको बाहुल्यता रहेको जयखानीमा ७ सय ३५ जनाले मात्र नाम दर्ता गराएका छन् । अघिल्लो संविधानसभाको निर्वाचनको तुलनामा तम्घास गाविसमा २ हजार २ सय ७७ जना कम भएका छन् । जयखानीमा भने ५ सय ५३ जना मात्र कम छन् ।

'३३ गाविसमा २०६८ को जनसंख्याभन्दा २०६४ को संविधानसभा निर्वाचनका मतदाता धेरै देखिएका छन्', पाण्डेयले भने, 'बसाइसराइ गर्ने, विवाह भएर अन्यत्र जिल्ला जाने र मृत्यु हुनेहरूको संख्या नघटाउने गरेका कारण त्यस्तो देखिएको हो ।'

त्यस्तै ३० देखि ४० हजार रोजगारीका लागि विदेश गएको निर्वाचन कार्यालयको अनुमान छ । थानपति, हुँगा, दरबारदेवीस्थान, खड्गकोट, मुसिकोट, बलिथुम, वीरवास लगायतका गाविसमा जनसंख्याभन्दा मतदाता बढी देखिएको पाण्डेले बताए ।

निर्वाचन कार्यालयका अनुसार असार मसान्तसम्म निर्वाचन क्षेत्र नं. १ मा ४० हजार ४ सय २३ मतदाता छन् । त्यस्तै २०६४ को निर्वाचनमा देशभरिमै बढी मतदाता रहेको क्षेत्र नं. २ मा अहिले ६० हजार ८ सय ८२ र ३ मा ५१ हजार ६ सय ५० मतदाता रहेको कार्यालयले जनाएको छ ।

२०६४ को निर्वाचनका मतदाताभन्दा क्षेत्र नं १ मा ३३ हजार ६ सय ४७, २ मा ४४ हजार ६ र ३ मा ३१ हजार ६१ जना मतदाता घटेका छन् ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग