Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

लोपोन्मुख बन्दै प्रचलित लाखे नाच

Published on 8:40:00 AM //


घनश्याम गौतम
गुल्मी, आश्विन । नेवार समुदायमा बढी प्रचलित रहेको लाखे नाच जिल्लाबाट लोप हुने अवस्थामा पुगेको छ । डेढ दशकअघिसम्म नेवार समुदायको बाहुल्यता रहेका जिल्लाका दर्जनौं स्थानमा हरेक वर्ष नाग पञ्चमीदेखि तीजको ऋषि पञ्चमी एवं काठमाडौंको इन्द्रजात्राको दिनसम्म देखाइने लाखे नाच जिल्लाभर प्रचलित थियो ।

गुल्मीको बलेटक्सार गाविसमा गत बर्ष देखाईएको लाखे नाच नाच्दै । नेवार
समुदायमा  प्रचलित लाखे नाच पछिल्ला वर्षहरूमा युवा पुस्ताको चासो
कम हुँदा हराउँदै जान थालेको छ । तस्बिर : घनश्याम गौतम
माओवादी जनयुद्धको सुरुवातसँगै ग्रामीण क्षेत्रबाट हराउँदै गएको लाखेनाच शान्ति स्थापनापछि पनि नियमित हुन नसक्दा पछिल्लो पुस्ताले यसको संस्कृति र महत्त्वसमेत बिर्सन थालेको छ । दुई वर्षअगाडि लाखे नाचको संरक्षणका लागि भन्दै तम्घासको नेवाः खलले ३५ वर्षपछि लाखे नाचको आयोजना गरेको थियो । तर त्यो पनि पछिल्ला दुई वर्ष भन सञ्चालन भएन ।

कृष्णलाई मार्नका लागि कंसले बहिनी पुतनालाई प्रयोग गरेको र पुतनाको मृत्युको कामना गर्दै राक्षसको स्वरूपमा सजिएर नेवार समुदायमा लाखे नाच नचाउने गरिन्छ । नाग पञ्चमीका दिनबाट सुरु गरिएको पुतनाको मृत्युको कामना ऋषि पञ्चमीका दिन मृत्यु भएको सम्झँदै बन्दुक पड्काएर विर्सजन गरिने परम्परा छ । राक्षसको स्वरूपमा बनाइने खप्पर, कालिकाको वस्त्रसहित व्यक्तिलाई सिंगारेर लाखे नचाउने गरिन्छ । पहिले नेवार बस्ती रहेका दर्जनौं स्थानमा नचाइने लाखे नाच पछिल्ला वर्षहरूमा वामिटक्सार र बम्घामा मात्र सीमित भएको तम्घास नेवाःखलका अध्यक्ष गोमराज श्रेष्ठले बताए ।

नेवार समुदायमा लाखेको खप्पर बनाउने र लाखे निकाल्ने बेलामा पूजापाठ गर्नुपर्ने प्रचलन रहे पनि पछिल्लो पुस्तामा लाखे नाच हराउँदै गएकाले पूजापाठको परम्परासमेत नरहेको श्रेष्ठले बताए । मुख्यगरी कृष्णजन्माष्टमीका दिनदेखि ऋषि पञ्चमीसम्म बढी नचाइने लाखे नाच हेर्न अन्य समुदायका सर्वसाधारणको नेवार बस्ती रहेका ठाउँमा घुइँचो लाग्ने गर्दछ । जिल्लाभरबाट बम्घा र बलेटक्सारमा मात्र हुने गरेको लाखे नाच हेर्न शनिबार हजारौं सर्वसाधारणको भीड लागेको थियो ।

लाखे नाचमा ढोलक, ट्याम्को, सनाई, मजुरा लगायतका बाजा बजाइन्छ । भूतप्रेत नलागोस् र मरेको आत्माले दुःख नदेओस् भनेर यो नाच रातिमा देखाइने बूढापाका बताउँछन् । टाउकोमा राक्षसको खप्पर लगाएर कालिकाको फरिया, ब्लाउजमा सजिएको व्यक्तिलाई स्याउलाको लुगा, बाँदरको खप्पर र बोराको पुच्चर बनाएको बुच्चाले जिस्क्याउँदै र लात्तीले हान्दै नाचिने यो नाच हेर्नसमेत निकै रोमाञ्चक हुने बलेटक्सारका प्रवीण कार्कीले बताए । 'यस्तो नाचमा नयाँ पुस्ताले पनि निरन्तरता दिनु जरुरी छ', उनले भने । पछिल्ला वर्षमा लाखे नाचसँगै हराउँदै गएको रोपाइँ, घोडेलगायतका जात्राहरूसमेत हराउँदै जान थालेकोमा समेत कार्कीले गुनासो गरे ।

 बलेटक्सारको लाखे नाच हेर्न खैरनीबाट आएका सुनिल मुखियाले भने आजभोलि लाखेनाच नाच्नै छोडिएको बताए । 'आजभोलि हाम्रो गाउँतिर लाखे नाच हुनैछाड्यो', उनले भने । २० वर्षअगाडिसम्म उनी जिल्लाका शान्तिपुर, बलेटक्सार, वामिटक्सार लगायतका स्थानहरूमा लाखे नाच नाच्ने र पुरस्कार जित्ने गरेको भए पनि अहिलेको पुस्ताले यसप्रति चासो नै देखाउन छाडेकाले हराउँदै गएको उनले बताए । २० वर्षअगाडि लाखे नाच प्रतियोगिता जितेर ५ सयदेखि १ हजार रुपैयाँसम्म आफूले जितेको मुखियाले बताए । ऋषि पञ्चमीका दिन शान्तिपुरमा हुने सात लाखे एकै पटक नाचेर हुने प्रतियोगिता जिल्लाकै प्रचलित प्रतियोगिता थियो तर शान्तिपुरमा १०/१२ वर्षदेखि नै लाखे नाच हुन छाडेको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग