Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

हराँउदै छ जातीय बिभेद, दलितका बाहुन हली

Published on 1:43:00 AM //

प्रेम सुनार
असौज २, गुल्मी । स्थानिय बिश्वकर्मा समुदायको घरमा जोत्न जाँदा गुल्मी बडागाउँ ७ का ३५ वर्षिय उपाध्याय बाहुनका छोरा वासु रिजाललाई सबैले ‘कामीको हली’ भनेर खिसीटिउरी गर्थे तर अहिले उनै खिसीटिउरी गर्नेहरु नै हलो जोत्न थालेपछि रिजाललाई गर्व लागेको छ ।
कुनै समय उज्यालो नहुँदै दलित वस्तीका घर घरमा हली खोज्न पुग्ने त्यस वडाको भराह, कालिमाटी, मुसिकोट गाविस समेत जोडिएको पोखरेल टोलका ब्राम्हणहरु अहिले त्यस वडाको चुँदरीगाउँ  र अन्य गाउँका दलितहरुको खेतवारीमा अर्मपर्माका लागि जोत्न जान्छन् । वासु  लगायतका केहि व्राम्हण युवाहरु भने ज्याला बुझेरै दलित होस वा जुनसुकै जाती, हली काम गर्न हिँड्छन ।
एक समय प्राय: सवै क्षेत्री व्राम्हणहरुको हली बनेका चुँदरीगाउँका बिश्वकर्माका छोराहरु कोही सेना प्रहरी, अन्य पेशा त कोही बैदेशिक रोजगारमा छन् उनिहरुको खेतवारी जोतवाह अहिले उनै गोरु पालेका व्राम्हण, क्षेत्रीहरुले गरी दिन कत्ति हिचकिचाउँदैनन् । भुपाल सुनारका छोराहरु कोही सेनामा छन् त कोही शहरमा पत्रकारिता गरेर बस्छन् उनको खेतवारीमा जोतवाह, खनीखर्सी गरी दिने नजिकका सहयोगी कहिले उनै वासु त कहिले छिमेकी हरि रिजालका परिवार बनेका छन् ।
करिव १२ वर्षसम्म  भारतको मजदुरी र चार वर्ष सम्म खाडीको तातो घाम खाएर आएका चुँदरीगाउँका ताराचन सुनार अहिले किराना पसलका अलवा आफै गोरु पालेर जोत्न हिँड्छन । ‘विदेश गयो वा कुनै स्वदेशमा जागिरे भयो र अलिअलि पैसा कमायो कि हलाको अनौं छोयो कि घटिन्छ जस्तो गर्न थालेका छन् हाम्रै समुदायका मान्छेहरुले’ सुनारले भने –‘हेर्नुस त वासु, लगायतका यो गाउँका व्राम्ह्णका छोराहरु अहिले हलो जोतेर मनग्ये आम्दानी गरेका छन्, त्यसैले मैले पनि गोरु पालेर जोत्न हिँड्ने गरेको छु ।’  त्यस गाउँमा राँगा र गोरु पाल्न प्रेरित गर्ने उनै वासुका पिता टिकाराम रिजाल थिए । उनी जिवित छउञ्जेल  खेत रोपाईँ गर्दा खोकमा कसका गोरु कति दौडिने ? अनि कसका गोरु जुधाउँदा कसकाले हार्ने , कसकाले जित्ने भन्ने प्रतिष्पर्धा चलाउँदा  युवाहरु आफै घाँस काटेर , घिउ तेल खुवाएर गोरु पाल्ने गर्दथे । स्वर्गिय टिकारामले राँगा पनि एक अर्को गाउँ संग प्रतिष्पर्धा गर्ने गरी पाल्ने गर्दथे । जिवनभर कृषि र पशु पालनलाई मुख्य पेशा बनाएर सधै गाई गोरु, राँगाको पछि लागेर हिँड्ने टिकारामलाई पण्डित्याँई गरेर हिँड्नेहरुले ‘गोठालो वाहुन’ भन्न समेत पछी परेनन् । तर उनि पछि त्यसै पेशालाई लोभ लाग्ने बनाए । बाबु टिकारामबाटै प्रभावित भई आफु  कृषि र पशुपालनलाई मुख्य पेशा बनाएको वासु बताउँछन् ।
उनि भन्छन् ‘आठ नौ वर्ष भारतमा वसीयो, त्यहाँबाट फर्केर बुवा वितेपछि उहाँको बिँडो थाम्न राँगो पाल्ने कार्यलाई निरन्तरता दिएँ  अनि आफुले सकिनसकी गोरु पाल्ने, दलितलाई जोत्न दिने त्यो ठिक लागेन र आफैले जोत्न सुरु गरे, यसवाट घर परिवार राम्रै चलेको छ ।’  जोत्न हिँडेको आम्दानीले घर खर्च चलेको र राँगाको आम्दानीबाट वार्षिक झन्डै ९० हजार जति वचाउने गरेको उनि बताउँछन् । उनका ३ जना दाजुभाईहरु पनि राँगा पाल्ने र जोत्ने पेशाबाटै विदेश उडेका हुन् । "दाजुभाईहरु धेरै पैसा कमाउने लोभले विदेश हिँडे तर अहिले भन्छन त्यहाँको घाम खाएर जती कमाए पनि यहि पेशा नै ठिक रैछ उनिहरुले भनेको ।’
‘मेरी आँवै, एक ताका त गरी खानु गराएका थिए र हाम्रा केहि बाहुनहरुले ? वासुले भने –‘म र हाम्रा दाजुभाईहरुले हलो जोत्न के थालेका थियौं हाम्रो घरको भात वार्ने सम्मको चुनौति दिए ।’ बाहुनको छोरो भएर हलो जोत्ने ? अझ कामी दमाईको ? भन्दै साह्रै हिंसा गरे’– उनले भने । ‘दलितको घरमा हली बन्न त जान्छु तर अर्नी (खाजा) भने घरैबाट मगाउँछु ’ उनले भने –‘दलितले बनाएको अर्नी  भने अझै खान सकेको छैन, बुढापाकाहरुको  डरले ।’ उनि जस्ता युवाहरुमा आएको परिवर्तनका कारण  छुवाछुत, एक अर्को समुदाय विच मनमुटाव छैन यस गाउँमा’ स्थानिय दलित अगुवा गोमबहादुर सुनारले भने–‘ हिजो व्राम्हण, समुदायका वाल वालिकाहरुले समेत हामी पाका मान्छेहरुलाई तँ, तिमी  शब्दमा हेपेर बोल्थे अहिले नाता लगाएर हजुर, तपाई भनेर बोल्ने गर्छन् र खेतीपातीको काममा पनि सघाउने गर्दछन्  ।’
छिमेकी मुसिकोट २ जलजलेका थापा परिवार कृषि, पशुपालनमा सदियौंदेखि निकै पौरखी हुन् । उनिहरुले पनि एक अर्को समुदाय विच जोतवाहमा आदन प्रदान गर्र्दै आएका छन् ।  त्यस गाउँका फुर्सा थापाले त गोमबहादुर सुनारको खेतवारीमा धेरै वर्ष हलो थेगे । वडागाउँ ७ कै ठुलापोखराका कार्की र टोमटा परिवार, चौरका मगर परिवार,  पोखरेल  परिवार , नेपाली परिवाार , भराहका घिमिरे र  रिजाल , खासु मगर , सेनीपिप्लेका बिश्वकर्मा,घर्ति,  ठुलाचौरका  रिजाल, घिमिरे, पौडयाल, थुम्काका कुमाल, परियार र क्षेत्री व्राम्हण विचको सामाजिक कार्य र  खेती पाती लगाउँदाको सम्वन्वय अरु गाउँका लागि अनुशरणीय बन्न सक्छ । खेत रोपाई सकेर कोदो रोप्नको माचोमा लागेका त्यस गाउँका सवै समुदाय मिलेर हुद्धा बानेका छन् , अर्मपर्म गरेका छन् । स्थानिय जनजागृति नि.मा.वि.का शिक्षक टेकहरी फुल्देल भन्छन्–‘यस गाउँको जातिय सत्भाव अरु गाउँको तुलनामा नमुना लाग्छ तर पनि  यस गाउँमा दलितहरुलाई चुलो भित्र पसाउन भने  अझै सकिएको र्छैन, अन्य कुरामा भने जातिय विभेद छैन, दलित समुदाय पछाडी परेकै हो भनेर उनिहरुलाई हरेक अवसरहरुमा हामीले नै प्राथमिकता दिने गरेका छौ । ’  त्यसो गरियो भने जातिय द्धन्द्ध नहुने उनको ठम्याई छ ।
कुनै समय थियो कालिकाटीका उनै टेकहरी र भराहका  वासुको परिवार लगायतका  व्राम्हण समुदायको हलो थाम्ने गर्दथे वढाएँ दाई भन्ने बडागाउँ ८ का कालेबिश्वकर्मा, ७ का लाहुरे घर्ति लगायतका जनजाती र दलितहरुले  । अहिले ठिक उल्टो छ ।  ‘वुवाको पाला सम्म उनिहरुले जोत्ने गर्थे’ वासुले भने–‘ वुवाको शेखापछि  आफ्नो घरको हलो आफैले थेक्दै आएका छौं र अन्यत्र पनि जाने गरेका छौं ।’ त्यसै गाउँका केहि धार्मिक अतिवादीहरु भने  अझै अरुलाई हलो जोताउँने , मान्छे मान्छेमा छिछिः र दुरदुर गरेर घृणा गर्ने गरेको बताउँदै ताराचन सुनार भन्छन–‘ त्यो पुरानो पिढी हो तर नयाँ पिढीमा आएको यो परिवर्तन जाती जाति विचको द्धन्द्धले होईन्, वर्गिय एकता र सत्भावले आएको हो ।’ उनका अनुसार जातिय समनता नचाहने र पछाडी परेको समुदायलाई माथी उठाउन हुँदैन भन्ने मानसिकता बोकेका त्यस गाउँका कतिपय मानिसहरु कोही दलित एकता र कोही व्राम्हण क्षेत्री एकता भन्दै सदरमुकाममा बेला बेलामा  आन्दोलन गर्न जाने गरेका छन् ।
‘त्यो परिवर्तनका विरुद्ध प्रतिक्रान्तिको छनक हो ’ शिक्षक टेकहरीले भने–‘ यसरी नै सवै जात जातीले काम गर्ने, एकले अर्कोलाई विभेद र उपेक्षा नगर्ने हो भने किन चाहियो जातै पिच्छेका संगठन ?, बरु  वर्गिय एकता गरौं । ’  जिल्लाका अन्य गाविसहरुमा पनि अधिकांस व्राम्हणहरुले हलो जोत्न र सवै समुदायको घरमा देहडीमा जान थालेको धेरै वर्ष भई सक्यो । पहाडी जिल्ला गुल्मीमा एक दशक अघि सम्म वाहुनले हलो जोत्नु भनेको जिब्रो टोकाईएको विषय बन्ने गर्दथ्यो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग