Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

६ हजारका लागि ५५ बर्षदेखी निरन्तर

Published on 12:37:00 PM //

टुटेन विद्यालय सहयोगीको जिम्मेवारी
यो पनि पढ्नुस्: ५५ बर्ष देखी बिद्यालयका पियन ८७ बर्षिय बृद्व

घनश्याम गौतम
गुल्मी, आश्विन ३१ - मासिक छ हजार रुपैयाँ आम्दानीका लागि ८७ वर्षीले विद्यालयमा कार्यालय सहयोगीको जागिर खाँदै आएका छन् ।
हुँगाको जनजागृति उच्चमाविमा हुँगा ६ ठुटेपिपलका भीमलाल सुवेदीले नियमित आम्दानीका लागि ५५ वर्षदेखि नियमित कार्यालय सहयोगीको काम गर्दै आएका हुन् । विद्यालयमा निःशुल्क सेवा हुँदै मासिक ४५ रुपैयाँबाट सुरु भएको सुवेदीको तलब ५५ वर्ष पुग्दा ६ हजार पुगेको हो । उनी ०१६ सालमा विद्यालय स्थापना भएदेखि नै निरन्तर कार्यालय सहयोगी रहँदै आएका छन् ।
विद्यालय स्थापनाका तीन वर्षसम्म निःशुल्क काम गरेर ०१९ सालमा विद्यालयले मिडिल क्लासको मान्यता पाएपछि मासिक ४५ रुपैयाँमा सेवा सुरु गरेका सुवेदीको पारिश्रमिक अहिले ६ हजार पुगेको भीमलालले बताए । उनको सक्रियता, परिश्रम र इमान्दारीताकै कारण विद्यालयले अहिलेसम्म उनलाई हटाउन सकेको छैन ।
बिहान ६ बजेदेखि बेलुका ५ बजेसम्म नियमित काम गर्ने सुवेदीलाई विद्यालयका प्राचार्य, शिक्षक, कर्मचारी र विद्यार्थीले भीमलाल बुबा भनेर बोलाउने गर्छन् । 'स्थापनाका बेला काठ, ढुंगा, माटो सबै मैले बोकेर विद्यालय स्थापना गरेको हुँ, उनले भने, 'त्यसैले मैले कहिल्यै तलबको कुरा गरिन र विद्यालयले मलाई बूढो भइस् छोड् भन्न पनि सक्तैन ।' उमेरले वृद्ध भए पनि सक्दासम्म विद्यालय नछोड्ने सुवेदीले बताए ।
विद्यालयमै सबैभन्दा पुराना र निडरसमेत भएकाले शिक्षकदेखि विद्यार्थीसम्म सबै भीमलाल बा भनेपछि डराउने गर्छन् । 'उमेर ८७ भए पनि उहाँ हामीभन्दा जोशिलो र फुर्तिलो हुनुहुन्छ', प्राचार्य विजयकुमार झाले भने, 'युवाको भन्दा उहाँको कार्यशैली राम्रो भएकाले हामीलाई पनि उहाँ विद्यालयमा भएकै राम्रो छ ।' काम गर्न सक्दासम्म सुवेदीलाई हटाउन आवश्यक नरहेको झाले बताए ।
विद्यालयमा विद्यार्थीलाई अनुशासित राख्नसमेत अन्य शिक्षकको तुलनामा सुवेदीको भूमिका बढी छ । शिक्षकसँग नडराउने विद्यार्थी पनि सुवेदी बा भनेपछि डराउने गरेको झाले बताए । विद्यालयमा आएपछि सबै कक्षा कोठाका ढोका खोल्नेदेखि सरसफाइ गर्ने, चिया पकाएर शिक्षक एवं कर्मचारीलाई खुवाउने, घण्टी बजाउनेदेखि विद्यार्थीलाई अनुशासनमा राख्ने काम पनि उनकै जिम्मेवारीमा छ ।
व्यवस्थापन समितिका अध्यक्ष रणबहादुर पल्लीले सुवेदीको विद्यालयमा आवश्यकता भएकै कारण अहिलेसम्म न्यूनतम पारिश्रमिक दिएर भए पनि काममा लगाई राखिएको बताए । जिल्ला शिक्षा अधिकारी गोविन्दप्रसाद अर्यालले पनि उमेर, लगनशील र परिश्रमका हिसाबले सुवेदी सबैका सम्मानका पात्र भएको बताए । 'उमेरको हिसाबले उहाँको सक्रियता, इमान्दारिता र परिश्रमलाई हामीले सम्मान गर्नैपर्छ', अर्यालले भने ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग