Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पाठेघर फुटेकी सुत्केरीले पाईन नयाँ जीवन

Published on 10:12:00 PM //

प्रेम सुनार
कार्तिक–३, गुल्मी । गत सुक्रवार रातको १ वजेको थियो । सुत्केरी ब्याथा लागेर जिल्ला अस्पताल तम्घासमा ल्याईएकी अर्घखाँची, अर्घातोष १ की २७ वर्षिया  मिना बिश्वकर्मालाई डाक्टरले परिक्षण गर्दा उनको पाठे घर नै फुटेको फेला पारे र त्यस अस्पतालमा शल्यक्रिया गर्न सकिँदैन भनियो । दुई दिन देखि लगातार बत्ति नआएको बेला । त्यही कारण देखाएर उनलाई कि त पाल्पा, या त तम्घासकै रेसुङ्गा अस्पतालमा जान सल्लाह दिईयो ।
मध्य रातको समय, साथमा पर्याप्त पैसा नभएर सरकारी अस्पतालमा श्रीमति मिनालाई लिएर आएका भुवन बिश्वकर्मा पाल्पा लैजानुको साटो श्रीमतिको मृत्यु स्वीकार्न विवश थिए । त्यस सरकारी अस्पतालका डाक्टर किशोर बञ्जाडेले तत्काल रेसुङ्गा अस्पतालका डाक्टर लक्ष्मण भुषाललाई फोन गरेर सोधे–‘सकिन्छ त यस्तो खालको अप्रेशन गरेर सुत्केरीको ज्यान बचाउन ?’ डाक्टर भुसाल भन्छन् त्यति बेला रातको करिव सवा एक बजेको थियो, ल्याउनुस कोशिस गरालौं भनें ।
मध्य रातमा सरकारी अस्पतालबाट रिफर भएर रेसुंगा अस्पतालमा सफल अप्रेशन पछि नव जिवन पाएकी सुत्केरी मिना र डाक्टर भुसाल ।
‘मेरो अहिले सम्म कै अनुभवमा उनको अप्रेशन जोखिमपुर्ण थियो’ डाक्टर भुषालले भने ‘कमसेकम शिसु जिवित निकाल्न नसके पनि सुत्केरीको ज्यान बचाउन सकिन्छ कि भनेर राति करिव २ वजेको समयमा अप्रेशन सुरु गरियो ।’ उनले थपे–‘सुत्केरीको पाठेघर फुटेको थियो । शिशु पाठे घरको आधा बाहिर निस्केको थियो, यदि एक घण्टाको अन्तरालमा हामीले अप्रेशन सफल पार्न नसकेको भए उनको ज्यान जाने निश्चत थियो, जो ४५ मिनेट मैं सफल भयो, आमा र शिशु दुवैको ज्यान बच्यो ।’
 गत वर्ष जिल्ला अस्पताल तम्घासमा उनै मिना सुत्केरी ब्याथा लागेर आउँदा पनि समस्या पाठे घरकै थियो । त्यति बेला भने डाक्टर  कासीम शाहले त्यसै अस्पतालमा अप्रेशन गरेर उनको ज्यान बचाएका थिए । ‘२०६९ जेठ २५ गते त्यसै सरकारी अस्पतालका डाक्टर कासीमले यस्तै समस्याको अप्रेशन गरेर श्रीमतिको ज्यान बचाई दिनु भएको थियो’ मिनाका श्रीमान भुवनले भने–‘ तर यसपाली त्यसै जिल्ला अस्पतालले यहाँ सकिन्न भनेर मध्य रातमा रिफर गरी दियो । ’
‘म विपन्न, वेरोजगारको पाल्पा लैजान सक्ने अवस्था थिएन’  उनले भने –‘जसो होला–होला भनेर रेसुङ्गा अस्पतालमा ल्याएँ, माया मारी सकेकी श्रीमतिको र बच्चाको समेत ज्यान बच्यो ।’  उनले डाक्टर भुषालप्रति आभार प्रकट गर्दै भने –‘मध्य रातमा अप्रेशन गरेर यसरी दुवैको ज्यान बचाई दिनु भयो, म उहाँको गुन कहिल्लै भुल्ने छैन ।’ डाक्टर भुसालका अनुसार आईतवार सम्म मिनालाई उच्च रक्तश्राप भई रहेपनि स्वास्थ्य अवस्था सुधार उन्मुख छ । यि दम्पतिको पहिलो सन्तान गत वर्ष जन्मेको चार महिना पछि मृत्यु भएको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग