Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सडक खन्न डोजर प्रयोगले विनाशै–विनाश

Published on 10:35:00 PM //

गगनशिला खड्का
गुल्मी, २१ असोज । छापहिले गाविसबाट विनियोजित एक लाख ६७ हजारबाट त्यहाँका ४० युवाले दैनिक ज्यालादारीमै सात किलोमिटर सडक खने । उनीहरूले ९० दिन लगाएर खनेका हुन् । यति लामो समय लगाएर आफैँले मोटरबाटो खन्नुको एउटै मात्रै उदेश्य भूक्षयबाट बचाउनु हो ।

डोजर प्रयोग गरी निर्माण गरिएका मोटरबाटोमा यातायातका साधन सीमित समयका लागि मात्रै चल्ने र भूक्षय धेरै हुन थालेपछि छापहिलेका युवा आफैँ सडक खन्न र मर्मत गर्न कस्सिएका हुन् । उनीहरूले घिउखोलाबाट टुनीखोला, माचकोटेका पोखरा, देवीथान र जमलपोखरा हँुदै पैयाँखर्कसम्म मोटरबाटो खनेका छन् । विगतका वर्षमा भूक्षय र भूकम्पीय दृष्टिकोणले कम जोखिममा रहेको छापहिले गाविस अहिले उच्च जोखिममा रहनुको मुख्य कारण नै डोजर भएको युवाहरूको भनाइ छ ।

राजनीतिक दलका प्रतिनिधिको सहमतिमा मनपरी तरिकाले डोजर प्रयोग गर्दा प्राकृतिक स्रोतमा खलबल पुगेको छापहिले मोटरबाटो मर्मत उपभोक्ता समितिका अध्यक्ष देवीराम गिरीले बताए । छापहिले–३ का गिरीले भने, ‘हामी युवालाई विकासका कुनै काममा सहभागी गराइँदैन, राजनीतिक दलका एक/दुईजना व्यक्ति मिलेर डोजर लगाउने निर्णय गर्छन् र मनपरी हिसाबमा काम हुन्छ ।’
प्रहरीका अनुसार गुल्मीमा गत दुई महिनामा मात्रै २४ परिवार पहिरोका कारण विस्थापित भएका छन् । जथाभावी सडक खन्दा जोखिममा परेका घर पहिरोले बगाएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा गुल्मीका कार्यक्रम अधिकृत कृष्ण खनालले बताए ।

नयाँ निर्माण गरी ट्रयाक खोलिएका मोटरबाटो डोजर प्रयोग गरी निर्माण गरिएका कारण छापहिले अहिले भूक्षय र भूकम्पीय दृष्टिकोणका हिसाबले उच्च जोखिममा रहेको गाविस हो । डोजर प्रयोगले खानेपानीको अभाव पनि सुरु भएको छ । केही वर्ष पहिलेसम्म छापहिले गाविसमा रहेका खानेपानीका मुहान अहिले सुख्खा भएका छन् । छापहिलेबाटै खानेपानी लगेर पिउँदै आइरहेका अर्जे, अम्मरपुर, इस्मारजस्थल, दोहली, दर्लामचौर, हस्तीचौर र घमिरलगायतका आधा दर्जन गाविसमा पनि खानेपानीको समस्या बढ्दै गएको छ ।

गत वर्ष दसैँका अवसरमा मर्मत गरिने शाखा बाटामा जिविसले मर्मतका लागि डोजर पठाएको प्रति अमरअर्वाथोकका स्थानीयले सार्वजनिक सुनुवाइ कार्यक्रममा चर्को आलोचना गरेका थिए । मोटरबाटो मर्मतका लागि भन्दै जिविसले स्थानीयलाई जानकारी नदिई रातरात डोजर पठाएका कारण त्यस दिन काम गर्न नदिई फिर्ता पठाएको अमरअर्वाथोक गाविसका रामकृष्ण कँडेलले बताए । -नयाँ पत्रिकाबाट 

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग