Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

काँग्रेसका उम्मेदवारहरु गाउँ केन्द्रीत चुनावी अभियानमा ब्यस्त

Published on 2:52:00 AM //

पि.एम.मगर
गुल्मी, कार्तिक ७ । संविधानसभा चुनावको मिति नजिकिदैँ गर्दा गुल्मी जिल्लामा पनि राजनीति दलहरुद्धारा चुनावी प्रचार प्रसार तथा घरदैलो अभियानलाई तिब्रता दिएका छन् । अहिले राजनीतिक कार्यकर्ताहरु गाउँ केन्द्रीत अभियानमा जुटिरहेका छन् । दलहरुले अहिले अन्तरकृया तथा भेटघाट कार्यक्रमलाई तिब्र पारेका छन् । नेपाली काँग्रेसले पनि आफ्नो अभियानलाई तिब्र पारेको छ । आज जिल्लाका तीन वटै क्षेत्रका बिभिन्न स्थानहरुमा काँग्रेसले कार्यक्रमहरु सम्पन्न गरेको छ । क्षेत्र नं. १ को जयखानी गाविसमा जनभेटघाट तथा आमसभा सम्पन्न भएको छ ।
गुल्मी जिल्लाका तीनवटै क्षेत्रका कांग्रेसका उम्मेदवारहरु कृष्ण बहादुर छन्त्याल, चन्द्र भण्डारी र त्रैलोक्य प्रताप सेन
(क्रमश: बाँयाबाट दाँया) । तस्बिर: तारा भुषाल
आमसभालाई सम्बोधन गर्दै काँग्रेस क्षेत्र नं. १ का संविधानसभा सदस्य उम्मेदवार प्राध्यापक डाक्टर कृष्णप्रसाद छन्त्याल मगरले मुलुकको दीर्घकालीन बिकास र समस्या समाधानका लागि काँग्रेसलाई जिताउनुपर्नेमा जोड दिनुभयो । काँग्रेसको नेतृत्व बिना जनताको संविधान निर्माण संभव नरहेको बताउँदै उहाँले काँग्रेसको पक्षमा मतदान आग्रह समेत गर्नुभयो । उहाँले उत्पीडित जाती, समुदाय, गरिब, दलित लगायत आम नेपाली जनताको पक्षमा काँग्रेस लडिरहने बताउँदै त्यस अभियानमा सहयोग गर्न आग्रह गर्नुभयो । कार्यक्रममा समानुपातिक उम्मेदवार सुवर्ण ज्वारचन, महाधिबेशन प्रतिनिधी बेद थापा मगर, जिल्ला सदस्य पृथबहादुर फौजदार, तरुण दलका गाविस सदस्य भक्तबहादुर राना लगायतले काँग्रेसको भूमिकाका विषयमा बोल्नुभएको थियो ।
त्यस्तै चुनावी अभियानकै क्रममा नेपाली कांग्रेस क्षेत्र नम्बर २ ले आज बडागाउँ गाविसका दुई स्थानमा प्रचार प्रसार तथा अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेस क्षेत्र नं. २ का प्रत्यक्ष उम्मेदवार चन्द्र भण्डारीले राष्ट्रको संरक्षणका लागि काँग्रेसको जीत अपरिहार्य रहेको बताउनुभयो । उहाँले सही राजनीति दल र सही व्याक्तिको नेतृत्वको अभावले संविधान निर्माण हुन नसकेको दाबी गर्नुभयो । साथै प्रमुख अतिथि भण्डारीले गलतबाजी प्रचारको पछाडी नलाग्न र त्यस्ता कुरामा सचेत रहन समेत आग्रह गर्नुभयो ।
अब काँग्रेसले मुलुकको स्थायी निकाससँगै स्वास्थ्य, शिक्षा, रोजगार जस्ता मुद्धाहरुलाई प्राथमिकताका साथ अगाडी लिएर जाने बताउनुभयो । त्यस्तै नेपाली काँग्रेसका जिल्ला सभापति एबं समानुपातिक उम्मेद्वार चन्द्र के.सी.ले विकास निर्माण तथा मुलुकको निकासका लागि काँग्रेसको अहम भूमिका रहने बताउनुभयो । उहाँले काँग्रेसको बहुमत नआएकाले संविधान बन्न नसकेको आरोप समेत लगाउनुभयो । आफ्नो पार्टी रुपान्तरणबादी पार्टी भएकाले राणादेखि राजासम्म हटाईसकेकाले अवका समस्याहरुसँग पनि सजिलै सामना गर्ने बताउनुभयो ।
कार्यक्रममा काँग्रेसका पुर्व संसद भागवत ज्ञवाली, जिल्ला उपसभापति भुवनप्रसाद श्रेष्ठ, सचिव विष्णु बलाल, जिल्ला संगठन विभाग प्रमुख शालिक पन्थी, नेपाल तरुण दलका जिल्ला अध्यक्ष खिलध्वज पन्थी, नेपाल महिला संघकी जिल्ला सभापति विष्णु सापकोटा, प्रजातन्त्रवादी बुद्धिजीवि संघ गुल्मीका अध्यक्ष अनन्तराम पौडेल, नेपाल महिला संघ तमघास गाउँ कार्य समिति सभापति अमृतादेवी कुवँर, नेविसंघका जिल्ला सचिव पुर्ण केसी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । बडागाउँका काँग्रेस सदस्य कुञ्जरमणी रिजाल र युक्तबहादुर सिहँको स्वागत मन्तव्यसँगै शुरु भएको कार्यक्रमको अध्यक्षता गाउँ समिति सभापति यमबहादुर के.सी.को रहेको थियो भने सञ्चालन झविलाल भण्डारीले गर्नुभएको थियो ।
त्यस्तै क्षेत्र नं. ३ को पौँदीअमराईमा पनि काँग्रेसको भेला आज सम्पन्न भएको छ । भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि काग्रेस क्षेत्र न.. ३ का प्रत्यक्ष उम्मेद्वार त्रैलोक्यप्रताप सेनले जनताको संविधान निर्माण, मुलुकको संबृद्धि र शान्तिका लागि नेपाली काँग्रेस सधै प्रतिव्रद्ध रहेको बताउनुभयो । उहाँले नेपाली काँग्रेसको नेतृत्वले मात्रै जनताको बास्तबिक संविधान दिन सक्ने दाबी गर्दै आफ्नो पार्टी सधै जनताप्रति समर्पित तथा उत्तरदायी रहेकाले संविधानसभाको निर्वाचनमा काँग्रेसले बहुमत ल्याएरै छाड्ने बताउनुभयो । भेलामा पार्टीका जिल्ला सचिव छन्दबहादुर पहराई, क्षेत्रीय सभापति दामोदर भुसाल, महाधिबेशन प्रतिनिधी विष्णुप्रसाद पन्थी, सावित्रा श्रेष्ठ, नेविसंघका जिल्ला अध्यक्ष कृष्णप्रसाद अर्याल, लोकप्रसाद खरेल, दानबहादुर के.सी., टिका गिरी, चिरञ्जीवि थापा लगायतले बर्तमान राजनीतिक अवस्था, संविधानसभाको चुनाव र काँग्रेसको भूमिकाका विषयमा प्रकाश पार्नुभएको थियो । चुरामणी घिमिरेको स्वागत मन्तव्यसँगै शुरु भएको कार्यक्रम ताराबहादुर बलामीको अध्यक्षता र श्यामन्ता नेपालीको सञ्चालनमा सम्पन्न भएको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग