Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सडकका खाल्डाखुल्डीले जोखिमपूर्ण यात्रा, दशैँमा घर फर्कनेहरुलाई सास्ती

Published on 1:42:00 PM //

घनश्याम गौतम
गुल्मी, आश्विन २२ । मर्मत र स्तरोन्नति हुन नसक्दा जिल्लाकै बढी व्यस्त सडक समस्याग्रस्त र जोखिमपूर्ण बन्दै गएको छ । समयमै सडक मर्मतको पहल नहुँदा दसैंमा घर र्फकने यात्रुहरूले सास्ती भोग्नु परेको छ ।

दैनिक १ सय २० भन्दा बढी सवारी साधन ओहोरदोहोर गर्ने रिडी-रुद्रवेणी-वामिटक्सार सडक जीर्ण र जोखिमयुक्त बन्दै गएको हो । सडक डिभिजन कार्यालय, जिविस, केन्द्रीय योजनाबाट अहिलेसम्म करोडौं लगानी भएको ४६ किलोमिटर सडक साँघुरो र खाल्डैखाल्डा भएको छ । सडकका अधिकांश क्षेत्रमा नालीसमेत छैन ।

सडकमा ग्रामीण पहुँच सुधार तथा विकेन्द्रीकरण परियोजनाले तीन वर्षदेखि सडक मर्मत र स्तरोन्नतिको काम गरिरहेको छ । सडक चौडा गर्ने र नाली बनाउने कार्य निरन्तर भइरहे पनि राम्रोसँग काम नभएको र भएको पनि सम्बन्धित निकायले अनुगमन नगर्दा सडक झन् बिगि्रएको सवारी चालकहरूले बताए । 'बाटोमा सवारी साधन चलाउन सक्ने अवस्थै छैन,' लु१ख ६९१० ट्रकका चालक देवी ज्ञवालीले भने, 'बाटो बनाउने भन्दा झन् बिगार्ने काम भएको छ ।' जिविस र सडक डिभिजन कार्यालयको लापरबाहीले बाटो हरेक वर्ष झन् बिगँ्रदै गएको उनले बताए ।

रिडीदेखि रुद्रवेणीसम्मको सडक अत्यन्तै साँघुरो रहेको र कालीगण्डकीको किनारै किनार यात्रा गर्नुपर्ने भएकाले पनि बढी जोखिमयुक्त छ । त्यस्तै रुद्रवेणी देखि साघाट र खैरेनी खण्डको सडकमा सवारीका टायर नै भास्सिने गरी खाल्डाखुल्डी रहेको ज्ञवालीले बताए । सडक अप्ठ्यारो भएकै कारण एक पटक ओहोरदोहोर गर्दा सवारीमा ८ देखि १० हजार रुपैयाँसम्मका बढी खर्च आउने गरेको उनले गुनासो गरे ।

परियोजनाले सडक मर्मतमा २ करोड ५० लाख रुपैयाँ खर्च भइसक्दा पनि सडक राम्रो नभएको गुनासो आएपछि जिल्लाको सर्वपक्षीय टोलीले शनिबार र आइतबार सडकको अनुगमन गरेको स्थानीय विकास अधिकारी हरिप्रसाद ज्ञवालीले बताए । टोलीले रिडीदेखि वामिटक्सारसम्मको ४६ किलोमिटर सडक खण्डको अनुगमन गरेको थियो । जिविसले सम्झौता गरेको झन्डै ४ करोड रुपैयाँमध्ये १ करोड ५० लाख रुपैयाँको काम अझै बाँकी नै रहेकाले त्यस्ता काम तत्काल सम्पन्न गर्न अनुगमनका क्रममा निर्माण व्यवसायीलाई निर्देशन दिइएको जिल्ला इन्जिनियर लालु गिरीले बताए । 'अनुगमनका क्रममा सबै स्थानमा देखिएका समस्याका बारेमा स्थानीयसँगै छलफल गरिएको छ', गिरीले भने, 'खाल्डाखुल्डीको मर्मत र नाली बनाउनसमेत निर्देशन गरेका छौं ।'

सडकको अवस्थाले ठूला सवारी ट्रक, बससँगै साना सवारी साधनहरू झन् मर्कामा परेका छन् । दैनिक १ हजारभन्दा बढी सर्वसाधारण ओहोरदोहोर गर्ने जिपहरू सडकमा परेका ठूला खाल्डाले बढी समस्यामा परेको लु १ज १३६२ नम्बरका जिप चालक लेखबहादुर कार्कीले बताए । 'बाटोको अधिकांश भाग गाडी चल्न मिल्ने बाटो नै भन्ने जस्तो छैन', कार्कीले भने, 'दसैंमा घर र्फकनेहरूलाई समस्या पर्ने भएकाले जबर्जस्ती गाडी चलाउनु परेको छ ।' साँघुरो सडक त्यसमा पनि खाल्डाखुल्डी भएकाले साना-ठूला दुवै सवारी साधनहरूका पट्टा भाँच्चिने, क्राउन जाने, गेयर बक्स बिग्रने लगायतका समस्या दिनहुँ हुने गरेको कार्कीले बताए ।

जिल्लाकै ठूलो सडक मानिएको रिडी-रुद्रवेणी-वामिटक्सार सडक जनश्रमदानमा २०४० सालदेखि निर्माण सुरु भएको थियो । २०५२ मा रुद्रवेणीमा पक्की पुल बनेदेखि अहिलेसम्म नियमित रूपमा सवारी चल्दै आएका छन् । निर्वाचन क्षेत्र नं. १ का २५ गाविस, २ का झन्डै  १० र ३ का समेत केही गाविस त्यस्तै बागलुङको इलाका सदरमुकामसमेत रहेको बुर्तिबाङ सहित झन्डै २५ गाविसका लागि प्रत्यक्ष सेवा पुर्‍याएको यो सडकमा सरकार र योजना आयोगले समेत ध्यान नपुर्‍याएको सर्वसाधारणको गुनासो छ ।

'महत्त्वको हिसाबले यो सडक सदरमुकाम जोड्नेभन्दा पनि ठूलो हो', एमाले जिल्ला सचिवसमेत रहेका वामिटक्सारका सोमनाथ सापकोटाले भने, 'तर सवारी चल्न थालेको ३० वर्ष पुग्नथाल्दासम्म सडकको अवस्था स्तरोन्नति हुनुको साटो झन् बिग्रँदै गएको छ ।' सडकमा परियोजना बाहेक सडक डिभिजन कार्यालय पाल्पा, जिविस र केन्द्रीय योजनाबाट समेत १ करोड ५० लाखभन्दा बढी लगानी भइसकेको छ । सडक मर्मतका लागि सडक, जिविसबाट थप पहल पनि भैरहेको इन्जिनियर गिरीले बताए ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग