Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दलित-गैरदलित संयुक्त पुजारी

Published on 9:23:00 PM //

घनश्याम गौतम
गुल्मी, आश्विन ३१ - जातीय विभेद अन्त्य गर्न दुर्गम गाउँको एक कोटमा दलित समुदायबाट पनि मन्दिरमा पुजारी राख्न सुरु गरिएको छ । जयखानी, लम्सराङ्गस्थित देवीकोट मन्दिरमा दलित युवा ९ वर्षीय विनम विश्वकर्मा पुजारी बसेका हुन् । क्षत्री, मगर र दलित समुदायको मात्र बसोबास रहेको मन्दिरमा केही वर्षअघिसम्म पर्वतबाट ब्राह्मण ल्याएर पुजारी राख्ने चलन थियो ।
पछिल्ला वर्षमा मगर समुदायबाटै पनि पुजारी राख्न थालिएको थियो । स्थानीय राजनीतिक दल, समाजसेवी र 'दलित' समुदायबीच सहमति गरी जातीय विभेद अन्त्य गर्न दलित समुदायबाट पनि पुजारी राख्न थालिएको कोट व्यवस्थापन समिति अध्यक्ष मोतीप्रसाद श्रीशले बताए । 'दलित समुदायबाट पनि पुजारी राख्न पाउनुपर्छ भन्ने माग आयो', अध्यक्ष श्रीशले भने, 'शुद्ध व्यक्ति भए राख्न सकिन्छ भन्ने छलफल चलेपछि ९ वर्षीय किशोरलाई पुजारी राख्ने निर्णय गरिएको हो ।'
पुजारी बस्न थालेका किशोर विनम स्थानीय एमाओवादी नेता ईश्वरी विश्वकर्माका छोरा हुन् । उनकै १९ वर्षीय छोरा विनोदलाई भने गैरदलित समुदायले पुजारी राख्न अस्वीकार गरेका थिए । विश्वकर्माका अनुसार विनमले अहिलेसम्म माछामासु नखाएको र एक वर्षअघिदेखि पूणिर्माको व्रतसमेत बस्दै आएकाले पुजारी राख्न सहज भएको हो ।
एमाले जिल्ला सदस्यसमेत रहेका जयखानीका देउकुमार काउछा मगरले मन्दिरमा दलित मात्र नभएर मगर समुदायबाट पनि एक जना र दलित समुदायबाट एक जना पुजारी संयुक्त रूपमा राख्न सुरु गरिएको बताए । 'तीन वर्षअघिदेखि दलित समुदाय पनि मन्दिरमा सहज प्रवेश गरी पूजा गर्न पाउने व्यवस्था थियो', उनले भने, 'अहिले पुजारी पनि राख्न पाउनुपर्ने माग गरेपछि मन्दिर आफैमा पवित्र संस्था भएकाले हामी सबैको सहमतिमा दुई समुदायकै पुजारी राख्ने निर्णय गरेका हौं ।' १ सय ५० घरधुरी रहेको लम्सराङ्गमा ३ घर क्षत्री, २४ घर दलित र अन्य सबै जनजाति रहेको एमाओवादी अध्यक्ष विश्वकर्माले बताए । जयखानी गाविसमा ६० घर दलित समुदाय छन् ।
अहिलेसम्म मन्दिरमा दलितले बाजा बजाउने, हतियारमा सान लगाउने, सरसफाइ गर्ने जस्ता काम मात्र गरेकामा यस वर्षदेखि सहज रूपमै पुजारीसमेत बस्न पाउने भएपछि आफूहरू उत्साहित भएको उनले बताए । मन्दिर सञ्चालनका लागि प्रतिव्यक्ति १ सय ५० संकलन गर्ने गरेको मन्दिरमा राँगा, बोका र परेवा बलि चढाउने गरिन्छ । दलित र मगर युवा पुजारी बसेपछि मन्दिरमा दुवै समुदायबाट पूजा गर्नेको भीड लागेको देउकुमारले बताए ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग