Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

आचारसंहिता हनन् गरेको भन्दै गुल्मीमा १६ वटा मौखिक उजुरी

Published on 9:18:00 PM //

आचार संहिता उल्लंघन गर्नेलाई सचेत गराउँदै, मुख्य निर्वाचन अधिकृत

जनार्दन घिमिरे
गुल्मी, ९ कात्तिक ः संविधान सभाको निर्वाचन नजिकिँदै जाँदा गुल्मी जिल्लामा हालसम्म १६ वटा आचारसंहिता हनन्का उजुरीहरु परेका छन् । मुख्य निर्वाचन अधिकृत रिषीराम न्यौपानेले जिल्लाको क्षेत्र नं दुई र तीनमा गरि १६ वटा मौखिक उजुरीहरु परेको जानकारीदिनु भएको छ ।
विभिन्न राजनैतिक पार्टिका नेता तथा कार्यकर्ता र सर्वसाधारणले दिने गरेको मौखिक उजुरीहरुहरुमा कतिपय ठाउँमा शिक्षकहरु पार्टिको चुनाव प्रचारप्रसार समितिमा वसेर काम गरेको, गाविस सचिवहरुले राजनैतिक दलका प्रतिनिधिहरुलाई राखेर वृद्धभत्ता वाँढेको, सार्वजनिक स्थानहरुमा झण्डा तथा तुल व्यानरहरु टाँगेको, पार्टिका चुनाव चिन्ह अंकित टिसर्टहरु लगाएको जस्ता उजुरीहरु कार्यालयमा आउने गरेको वताईएको छ ।
आचारसंहिता विपरित भएको भन्ने मौखिक उजुरीका आधारमा कार्यालयले शुक्रवार राती सदरमुकाम तम्घासदेखि क्षेत्र नंम्वर ३ तर्फ ५५ थान काठको पोलहरु वोकेर जाँदै गरेको ना १ ख २२०० नम्वरको ट्रकलाई सुरक्षा निकायको सहयोगमा नियन्त्रणमा लिएको वताईएको छ । नियन्त्रणमा लिएको उक्त ट्रक लाई अस्थाई प्रहरी चौकि धनार्जिमा रोकि उक्त पोलहरु प्रहरीचौकिको निगरानीमा धनार्जिमा झारिएको क्षेत्र नंम्वर ३ का निर्वाचन अधिकृत हरिप्रसाद कोईरालाले जानकारी दिनु भएको छ । मौखिक उजुरी परेका विषयहरुमा कार्यालयले तत्काल पार्टि र पार्टिका उमेद्वार तथा अन्य कर्मचारीहरुलाई मौखिक रुपमा सचेत गराएको र उनीहरुले आगामि दिनमा त्यसो नगर्ने प्रतिवद्धता समेत व्यक्त गरिसकेको मुख्य निर्वाचन अधिकृत न्यौपानेले वताउनु भयो ।
जिल्लामा दुई र तीन नम्वर क्षेत्रमा आचारसंहिता हनन्का विषयमा मौखिक उजुरिहरु परेपनि क्षेत्र नंम्वर एकमा भने हालसम्म कुनै पनि उजुरी र गुनासाहरु आफुसँग नआएको निर्वाचन अधिकृत रामप्रसाद न्यौपानले वताउनु भएको छ । “शुक्रवार म आफै अनुगमनका गएर फर्केको हुँ, कहि कतै कुनै उजुरी र गुनासाहरु कसैले गरेनन् र अहिलेसम्म त्यहाँ शान्त वातावरणमा चुनाव प्रचारप्रसार भैरहेको छ ।”उहाँले भन्नु भयो । जिल्लामा आचारसंहिता अनुगमन अधिकृत सुवास कुमार भट्टराईका अनुसार निर्वाचन अधिकृतको कार्यालयमा कसैले पनि हालसम्म लिखित उजुरीहरु नदिएको र कार्यालयमा आएका मौखिक उजुरीहरुलाई मुख्य निर्वाचन अधिकृतसँग सम्मन्वय गरेर तत्काल समस्या समाधान गर्दै आईरहेको वताउनु भयो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग