Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

२० वर्षपछि कांग्रेसले गुल्मीमा आफ्नो किल्ला कम्युनिष्टहरुबाट खोस्यो

Published on 10:52:00 PM //

प्रेम सुनार
मंसिर ७, गुल्मी । गुल्मीमा नेपाली कांग्रेसले झण्डै विस वर्षपछि कम्युनिष्टहरुबाट आफ्नो किल्ला मानिएको क्षेत्र नम्वर १ र २ यसपाली खोसेको छ । २०४८ सालमा तिन वटै क्षेत्र जितेको कांग्रेस २०५१ साल पछिका सबै चुनावहरुमा एमाले र माओवादी दुवै कम्युनिष्टहरुबाट गुमाएको थियो । २०५१ र ५६ मा तिन वटै क्षेत्र जित्न सफल नेकपा एमालेले गत संविधान सभा चुनावमा दुई वटा क्षेत्र गुमाएर सो पार्टीका प्रभावशाली नेता प्रदिपकुमार ज्ञवालीको प्रभावबाट क्षेत्र नम्वर २ मात्र बचाउन सफल भएको थियो । जुन क्षेत्रबाट नेता ज्ञवाली यसपाली भने पराजित हुनु परेको छ । दुई दुई पटक जितेका ज्ञवाली र दुई दुई पटक हारेका नेपाली कांग्रेस नेता चन्द्र भण्डारीको जितलाई कांग्रेसले यसपाली आफ्नो सवै भन्दा ठुलो जित ठानेको छ ।
सदरमुकाम लगायतका स्थानमा गर्न थालिएको विजय जुलुसमा कांग्रेसजनहरुको नारा एमाले नेता ज्ञवालीको विरोध र ब्यंग्यमा बढि केन्द्रित देखिन्छ । भण्डारीले २१ हजार १ सय ८७ मत ल्याएर विजयी भएका हु्न भने निकतम प्रतिद्धन्द्धी ज्ञवालीले १८ हजार ६ सय १४ र एमाओवादीका अशोक थापाले ४ हजार ५ सय १८ मत ल्याएका छन् । उता क्षेत्र नम्वर १ मा पनि गत संविधान सभा चुनावमा जितेका एमाओवादी उम्मेदवार सुदर्शन बराललाई तेश्रो स्थानमा झारेर नेपाली कांग्रेसका कृष्ण छन्त्याल झिनो मतले विजयी भएका छन् । उनले १० हजार २ सय ९४ मत ल्याएर एमालेकी मैना भण्डारीलाई १ सय ५९ मतको अन्तरले जितेका हुन् । अघिल्लो पटकको विजेता एमाओवादी उमेदवार सुदर्शन वरालले भने जम्मा ५ हजार ४ सय ३२ मत मात्रै पाएका छन् । उता एमालले क्षेत्र नम्वर ३ भने माओवादीबाट फर्काउन सफल भएको छ । सो पार्टीका नेता गोकर्णराज विष्ट १८ हजार ४ सय ३२ मत लिई विजयी भएका छन् । कांग्रेसका त्रैलोक्यप्रताप सेन दुवै पटक उनै विष्टसंग पराजित हुनु परेको छ । उनले १० हजार २ सय ९४ र एमाओवादीका वामदेव क्षेत्रीले ६ हजार ४ सय ९७ मत ल्याएका छन् ।
विष्ट गत संविधान सभा चुनावमा एमाओवादीका चन्द्रबहादुर थापा ( सागर ) बाट २ हजार भन्दा बढि मतले पराजित भएका थिए । त्यो वेला सागरले १६ हजार ५ सय ८१ मत लिई विजय भएका थिए । विष्टले १४ हजार ५ सय ४३ मत ल्याएका थिए । तेश्रो बनेका कांग्रेसका सुरेशचन्द्र भुसालले ९ हजार १ सय ३२ मत ल्याएका थिए । त्यति बेला क्षेत्र नम्वर ३ मा ८२ हजार ७ सय ११ कुल मतदाता रहेकोमा ४५ हजार ५ सय १४ मत मात्र खसेको थियो । तर अहिले घटेर क्षेत्र त्यहाँ कुल मतदाता ५१ हजार १० पुगेको छ । त्यस्तै २०६४ सालमा क्षेत्र नम्वर २ मा नेकपा एमालेका प्रदिपकुमार ज्ञवालीले २३ हजार २ सय ५३ मत लिई विजय भएका थिए । उनले नेपाली कांग्रेसका चन्द्र भण्डारीलाई २१ सय ५२ मतले पराजित गरेका थिए । भण्डारीले २१ हजार १ सय १ मत ल्याएका थिए भने तेश्रो बनेका माओवादी उमेदवार निमबहादुर पाण्डेले ७ हजार ३ सय ३१ मत ल्याएका थिए । त्यतिबेला क्षेत्र नम्वर २ मा १ लाख ४८ हजार ८ सय ८८ मतदाता थिए । जस मध्ये ५६ हजार ५४ मत खसेको थियो । तर अहिले घटेर त्यहाँ कुल मतदाता ६० हजार ३ सय ८४ पुगेको छ र ३९ हजार ५ सय ६९ अर्थात ७७.५९ प्रतिशतले मत हालेका छन् ।
गत संविधान सभा चुनावमा क्षेत्र नम्वर १मा एमाओवादीका उमेदवार सुदर्शन बरालले १४ हजार १ सय ६५ मत लिई विजय भएका थिए । उनले नेपाली कांग्रेसकी सुवर्ण ज्वारचनलाई ४ हजार ४ सय ६४ मतले पराजित गरेका थिए । ज्वारचनले ९ हजार ७ सय १ मत ल्याएकी थिईन भने एमालेकी मैना भण्डारीले ९ हजार ६७ मत ल्याएकी थिईन । त्यति बेला क्षेत्र नम्वर १ को कुल मतदाता संख्या ४८ हजार ८ सय ८८ थियो । जस मध्ये ३७ हजार ३ सय ७६ मात्र मत खसेको थियो । तर अहिले घटेर त्यहाँको मतदाता संख्या ३९ हजार २ सय ७० रहेको छ ।
फोटो सहितको मतदाता नामावलीबाट गरिएको यसपालीको चुनाव एमाओवादीका लागि गम्भीर समिक्षा र आशंकाको विषय बनेको छ । यो चुनावी परिणामलाई आफुहरुले स्वीकार नगर्ने सो पार्टीका जिल्ला संयोजक सुदर्शन वरालले बताए । कांग्रेस, एमालेका नेता, कार्यकर्ताहरु भनेृ यो चुनावलाई ऐतिहाँसिक चुनावका रुपमा लिएका छन् । कांग्रेसले त यो चुनावलाई २५ वर्ष अघिको अर्थात २०४८साल सम्मको शाख फर्काउने चुनावका रुपमा लिएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग