Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

झुठा आश्वासन बाँडेर मत माग्दै उम्मेदवार

Published on 2:56:00 PM //

बिष्णु पौडेल
गुल्मी, कार्तिक २५ । संविधानसभा निर्वाचनको मिति आउन केहि दिन मात्र बाँकी रहँदा राजनीतिक दलहरू भोट तान्न व्यस्त छन्। विभिन्न दलका उमेद्वारहरू अन्तिम अभियान लिएर अहिले मतदातालाई ढोग्दै घरघर पुगिरहेका छन्।
जितेर काठमाडौ छिरेपछि एकपटक पनि गाउँ नछिर्ने नेताहरू अहिले विकास निर्माणका झुट्टा आश्वासन बाँड्दै भोट मागिरहेका छन्। गुल्मीमा उमेद्वारी दिने १३ दल भएपनि चुनावको प्रतिस्पर्धी मुख्य तीन दल नै छन्।
०६४ को चुनाव अगाडि एमाले र कांग्रेस बिच नै प्रतिस्पर्धा हुने भएपनि एमाओवादीको उदयपछि उक्त दल पनि प्रतिस्पर्धीमा थपिएको छ। अहिलेको चुनावमा जिल्लामा नेकपा एमाले, एकीकृत नेकपा माओवादी र नेपाली कांग्रेसबीच नै कडा प्रतिस्पर्धा हुने देखिएको छ। उम्मेदवारी दिएका सबै दलको संगठन गाउँस्तरसम्म मजबुत नहुँदा पुरानै दलबीच प्रतिस्पर्धा हुने भएको हो।
२०४८ को चुनावमा तिनवटै क्षेत्र जितेको नेपाली कांग्रेसले त्यसयताका चुनावमा सिट जित्न सकेको छैन्। भने एमालेले २०५१ र २०५६ सालमा जिल्लाका तीन वटै सिट जितेर ०६४ मा हम्मेहम्मे पर्दै एउटा मात्रै सिट जितेको थियो। एमाओवादीले ०६४ को चुनावमा दुई सिट जितेको थियो। यो इतिहासलाई अंगिकार गर्दै दलहरुले नयाँ चुनाव रणनीतिका साथ चुनावी मैदानमा होमिएका छन्।
क्षेत्र नम्वर १ मा एमाओवादी र एमालेका पुरानै अनुहार प्रतिस्पर्धामा छन्। अघिल्लो निर्वाचनमा जितेका एमाओवादीका सुदर्शन वराल अहिले पनि चुनावी मैदानमा छन्। उनले अघिल्लो चुनावमा कांग्रेसकी महिला उमेद्वार सुवर्ण ज्वारचनलाई पराजित गरेका थिए। बरालले १४ हजार १ सय ६५ मत ल्याएर विजयी हुँदा ९ हजार ७ सय १ मत ल्याएर ज्वारचन पराजित भएकी थिईन्।
एमालेकी मैना भण्डारी ९ हजार ६७ मत ल्याएर तेस्रो स्थानमा उभिएकी थिईन्। अहिले वराल र भण्डारी चुनावका प्रतिस्पर्धी छन् भने यही मैदानमा कांग्रेसका कृष्ण छन्तेल पनि छन्।
यस्तै जिल्लाकै सबैभन्दा धेरै मतदाता भएको क्षेत्र नम्वर २ मा पनि पुरानै उमेद्वारको टक्कर छ। अघिल्लो चुनावमा एमालेका प्रदीप ज्ञवालीसँग पराजित भएका नेपाली कांग्रेसका चन्द्र भण्डारी अहिले जित्ने योजनाका साथ चुनावमा होमिएका छन भने स्वच्छ छविको व्यक्तित्व नै जित्ने आधार भएको दावी गर्दै आएका ज्ञवाली पनि जितलाई निरन्तरता दिने रणनीतिमा छन्।
अघिल्लो चुनावमा ज्ञवालीले ४३.१५ प्रतिशत अर्थात २३ हजार २ सय ५३ मत ल्याएर विजयी हुँदा भण्डारी २ हजार १ सय ५२ मतले पछि पर्दै ३९.१६ प्रतिशत अर्थात २१ हजार १ सय १ मत ल्याएर पराजित भएका थिए। भने एमाओवादी १३.५९ प्रतिशत मत ल्याएर तेस्रो स्थानमा थियो।
एमाओवादीले राज्य समिति सदस्य अशोक थापालाई चुनावी मैदानमा उतारेको छ। थापाले मन्दिर ढोगेर होईन ज्युँदा भगवान जेष्ठ नागरिकको आशिर्वाद लिनुपर्छ भनेर ज्येष्ठ नागरिकका खुट्टा ढोग्दै हिँडेका छन्। उनी भन्छन, 'मुर्ति ढोगेर भन्दा ज्युँदा भगवान ज्येष्ठ नागरिकका खुट्टा ढोगेर चुनावी मैदानमा प्रवेश गरेको हुँ उहाँको आशिर्वाद लाग्छ।' यो क्षेत्रमा ०५६ र ०६४ को चुनावमा ज्ञवालीले नै जितेका थिए।
यस्तै क्षेत्र नम्वर तीनमा पनि तीन दलकै टक्कर देखिन्छ। एमालेवाट ०५६ को चुनाव जितेर ०६४ को चुनाव हारेका उर्जामन्त्री हुँदा नाम कमाएका गोकर्ण विष्ट चुनावी मैदानमा छन भने एमाओवादीवाट नयाँ अनुहार वामदेव क्षेत्री चुनावी मैदानमा छन्। कांग्रेसवाट भने त्रैलोक्यप्रताप सेन पनि यही क्षेत्रकै चुनावी मैदानमा छन्।
अघिल्लो चुनावमा एमाओवादीका चन्द्र वहादुर थापा सागरसँग पराजित भएका विष्ट जित्ने रणनीतिका साथ चुनावी प्रसार तथा घरदैलोमा छन् भने एमाओवादी र कांग्रेसका उमेद्वार पनि आ–आफुले जित्ने दावी गर्छन्। अघिल्लो चुनावभन्दा अहिलेको चुनावमा दलहरु विच कडा प्रतिस्पर्धा हुने देखिएको छ।
यी तीन दलका अतिरिक्त जिल्लामा नामै नसुनिएका केही दलका र स्वतन्त्रसहित ३५ जना चुनावी मैदानमा छन्। अघिल्लो चुनावमा २९ जना उमेद्वार थिए। उमेद्वार वढेपनि अघिल्लो चुनावभन्दा करिव ४० हजार मतदाता घटेको निर्वाचन कार्यालय वताउँछ। -सेतोपाटी 

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग