Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जहाँ हार्ने ठाउँ त्यहाँ महिलालाई उठाईयो

Published on 3:35:00 AM //

प्रेम सुनार
गुल्मी १३ मंसिर । राजनैतिक दलहरुले महिला अधिकारका चर्का कुरा गरेपनि चुनावमा महिलाहरुलाई उपेक्षा गरेर हार्ने संभावना भएको ठाउँमा मात्रै महिला उमेदवार उठाउने गरेको गुल्मीका सरोकारवालाहरुले टिप्पणी गरेका छन् । उनीहरुले राजनीतिका नाममा महिलालाई विभाजन गर्ने र दल भित्र उपेक्षा गर्ने गरेका कारण नै संविधानसभामा महिला सहभागीता कम हुने गरेको बताएका हुन् ।
सञ्चरीका समूहले ‘संविधानसभामा महिला सहभागीता र लैंगिक मुद्धा’ विषयक अन्तरक्रिया कार्यक्रममा यहाँका राजनैतिक दल, महिला नेतृ, अधिकारकर्मीहरुको यस्तो टिप्पणी आएको हो । ‘गुल्मी जिल्लाबाट एकमात्र महिला उम्मेदवार एमालेकी मैना भण्डारी उठ्नुभएको थियो – लोकतान्त्रिक महिला संजालकी अध्यक्ष विष्णु कुमारी सापकोटाले भन्नुभयो – म महिलाले उहाँलाई जीताउन प्रचारमा जानु पर्दथ्यो तर दलको पारिधी भित्र बाँधिनाले एकमात्र महिला उम्मेदवारलाई पनि जीताउन सकिएन ।’ जील्लामा मात्र नभएर केन्द्रमा समेत दलहरुले महिलाहरुलाई फूटाउने काम गरेको भन्दै सापकोटाले जवसम्म महिलामा एकता हुँदैन तवसम्म राज्यको निकायमा सहभागीता पनि नहुने र महिला हिँसा पनि झन् बढ्दै जाने बताउनुभयो ।
अनेमसंघकि केन्द्रिय सदस्य ललिता गौतमले दलहरुले जहाँ हार्ने देख्छन त्यहीँ मात्र महिलालाई उम्मेदवार उठाउने गरेको आरोप लागाउनुभयो । अव महिलाको सहभागीताका लागि सञ्चारमाध्यमले समेत पहल गर्नुपर्ने उहाँको भनाई छ । कार्यक्रममा महिला मानवअधिकार रक्षक सञ्जालकी अध्यक्ष सिता भुसालले देशका ठूला नेताहरुमा पितृसत्तात्मक सोँच परीवर्तन हुन नसकेको भन्दै समानताका लागि अव महिलाले भन्दा पुरुषले अगुवाई गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष घनश्याम गौतमले अधिकारका लागि महिलाहरु राजनैतिक रुपमा बाँडिन नहुने र एक भएर लाग्नुपर्ने बताउनुभयो । ‘राजनितीमा नबाँडिएको भए सबै महिला मिलेर केहीलाई त संविधानसभामा प्रत्यक्षमा जीत्न सक्नुहुन्थ्यो नि – उहाँले भन्नुभयो – तर फरक फरक राजनीतिमा हुनाले आधा भन्दा धेरै मतदाता महिला हुँदा पनि महलिा उम्मेदवारले हार्नुप¥यो ।’ त्यस्तै नेकपा एमालेका सचिवालय सदस्य गणेश श्रीपालीलले सबै पार्टीका पाका नेताहरुको पितृसत्तात्म सोँच रहेको बताउँदै अव यूवाहरुले त्यलाई चिर्ने तर्क गर्नुभयो । ‘हरेक पार्टिमा पितृसत्तात्मक सोँच छ, त्यसैले महिला अधिकारको कुरा स्थापित हुन समय लाग्यो– श्रीपालीले भन्नुभयो – त्यसैले अव यूवा र महिलाहरु त्यसका विरुद्ध लडिरहेका छन् ।
महिला अधिकारको आवाज उठाउन माओवादीले ठुलो संर्घष गरेकोले महिलाहरु अहिले आफ्नो लागि लड्न सक्ने भएको तर अव अधिकारका लागि नीति निर्माण पनि हुनुनपर्ने हुँदा त्यसको नेतृत्व एमालेले गर्ने बतउनुभयो । ‘संघर्ष र आवाज बुलन्द गर्न माओवादीले महिलाका लागि ठूलो सहयोग ग¥यो – उहाँले भन्नुभयो – अव एमालेले अधिकार स्थापित गर्नका लागि संविधानसभावाट त्यो भूमिका निर्वाह गर्छ ।’
एकीकृत नेकपा माओवादीका राज्य समिति सदस्य यूवराज केसिले जसले अधिकारका लागि संघर्ष गरेको छ उसैलाई उपेक्षा गरेर महिला अधिकार मास्न खोजीएको आरोप लगाउनुभयो । आफ्नो पार्टिले १० वर्षे जनयुद्धदेखि हालसम्म महिला लगायतका उपेक्षित र पिछडीएको बर्गलाई अधिकार सम्पन्न गराउन संघर्ष गरको तर ती अधिकार स्थापित हुन नदिन आफ्नो षड्यन्त्रपूर्वक हराईएको उहाँको आरोप थियो । कार्यक्रमा प्रमुख अथिती नेपाली काँग्रेसका केन्द्रिय सदस्य चन्द्र भण्डारीले अन्यायमा परेका महिलालाई न्याय दिलाउनका लागि अधिकारकर्मी महिलाहरु दलहरुमा विभाजन नभई एकजुट भएर लाग्न सुझाव दिनुभयो । ‘काँग्रेस एमाले माओवादी केही नभन्नुस्, आफ्नो अधिकारका लागि एकजुट हुनुहोस – उहाँले भन्नुभयो – दलका नेताहरुको फोन आयो कि डराएर भाग्ने काम नगर्नुहोस, त्यो प्रवृत्तिले महिलालाई अन्यायमा पारीरहने छ । ’
कार्यक्रमा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष जनार्दन घिमीरेले कार्यपत्र प्रस्तुत गर्दै महिलाहरु नै राजनैतिक दलको चेपुवामा पर्नुले सिँगो महिला जगतको हार भएको बताउनुभयो । ‘ समयमै निर्वाचन आयोगले गरेको प्रत्यक्षतर्फ कम्तिमा ३३ प्रतिशत उम्मेदवारी दिनुपर्ने पटक पटकको सचेतनालाई पालना नगर्नु राजनैतिक दलको मूख्य कमजोरी हो – उहाँले भन्नुभयो – महिलाहरु नै राजनैतिक दलको चेपुवामा पर्नु, व्यक्तिगत स्वार्थ, नाता सम्बन्धले बढी गाँजीनु समेतले संविधानसभामा महिलाको सहभागीता कम रहेको हो ।’ सञ्चारीका समूह गुल्मीकी अध्यक्ष गगनशिला खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संगीता कुँवरको स्वागत र सीता भण्डारीको सञ्चालन रहेको थियो ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग