Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

नेता-कार्यकर्ता चुनावमा, किसान बाली भित्राउनमा खेत बारीमा

Published on 2:55:00 AM //

कविता घर्ती मगर
बागलुङ, १७ कार्तिक । यतिवेला गाउँघरमा तिन थरिको चटारो छ । संविधानसभाको चुनाव, खेती र चार्डपर्वको लहर एकैपटक छाउँदा गाउँका सर्वसाधारणलाई भ्याईनभ्याई छ । बारिमा रातै कोदो पाकेर झर्न थालेको छ । छेउमा लगाएको सिल्टुङ् र बोडीका कोसा पाकेर पढ्किन थालेका छन् भने खेतको धानलाई भकारीमा भित्राउने पनि चटारो छ । चुनावको प्रचार प्रसारमा रहेका राजनीतिक दल गाउँका मतदाताको दैलोमा दुई हात जोड्दै पुगेका छन् भने हिन्दुहरुको महान चार्ड तिहारले पनि गाउँघरका बस्ती झिलीमिली हुन थालेका छन् ।
संबिधानसभाको चुनावका लागि गाउँगाउँमा चुनावी अभियानलाई केन्द्रित गरेका दलका उम्मेदवारहरु चुनाव प्रचार प्रसारमा जुटिरहेका कृषकलाई भने बारीको कोदो र खेतको धान भित्राउने चटारोले छोएको छ । ‘बारीमा कोदो पाकेको छ, खेतमा धान’ जिल्लाको कुश्मीसेराका कृषक मोतीप्रसाद शर्माले भने, ‘हामीलाई त चुनावको भन्दा कामको चटारो बढि छ ।’ यसपटक कार्तिकको पहिलो सातासम्म पानी परेकाले कृषकलाई बाली भित्राउने चटारो परेको उनी बताउँछन् । ‘खेतबारीमा पाकेको बाली छ आकाशको भर छैन’ शर्माले भने, ‘मौका छोपेर पाकेको बाली नभित्राउने हो भने पानीले सत्यानाश पार्छ ।’
कार्तिक महिनाको पहिलो सातादेखीनै जिल्लाको तल्लो भागका फाँटहरुमा धान कोदो पाकेकाले कृषकहरु बाली भित्राउनमा ब्यस्त रहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । चुनावको प्रचारमा गाउँ गाउँमा पुगेका उम्मेदवार र राजनीतिक दलहरुलाई पनि चुनावी दबाव बढ्दै गएको छ । मंसिर ४ मा हुने चुनावका लागि भोट माग्न उम्मेदवारहरु दलबलसहित जनताको घरदैलोमा पुगेका छन् ।
अर्का तर्फ शुक्रबार देखि तिहार सुरु भएपछि स्थिानियलाई त झन चटारो परेको छ । ‘खेतबारीमा बाली पाकेको छ घरदैलोमा तिहारको रौनक’ जैमिनी ताजा तरकारी उत्पादक समुहका अध्यक्ष टुकनाथ शर्माले भने, ‘हामी कृषकलाई चुनावले भन्दा खेतबारी र चार्डले तताएको छ ।’ देशको राजनीति भन्दा बिहान बेलुका छाक टार्न खेत बारीको काम महत्वपुर्ण हुने उनी बताउँछन् । शर्माका अनुसार, खेतको धान केही क्षेत्रमा पाकेको भएपनि बारीको कोदो सबै ठाउँमा पाकेकाले किसानहरु यतिवेला खेतवारीको काममै व्यस्त रहेका छन् । त्यस्तै एसपालीको सिजनमा बागलुङ पश्चिमका गाउँ विकास समितीहरुमा पनि धान उत्पादनमा बृढि भएको छ यसरी परिश्रमको फल प्राप्त गर्न पाउदा कृषकहरु झन खेतबारीमा ब्यस्त देखिएका छन् ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग