Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

भोट हाल्न नपाउँदा विदेसिएका नेपाली खिन्न

Published on 6:12:00 AM //

नबिन पोख्रेल
लन्डन, कार्तिक १५ - संविधानसभा निर्वाचन नजिकिँदै गर्दा बेलायतमा रहेका नेपालीलाई पनि चुनावी माहोलले छोएको छ । सर्वसाधारण बेखबर रहे पनि कार्यकर्तामा उत्साह छ । तर, करिब ३० लाख बालिग मताधिकार समूहका नेपाली विदेशमा हुँदा पनि प्रवासबाटै भोट हाल्न पाइने व्यवस्था नहुनु दुःखद ठान्छन् उनीहरू ।
'देशमा चुनावी वातावरण बन्दै गएको खबरले सात समुद्रपार रहे पनि उत्साहित छु,' कांग्रेसको प्रवासी संगठन नेपाली जनसम्पर्क समिति, बेलायतका अध्यक्ष लोक गुरुङ भन्छन्, 'पार्टी सभापति मेरै क्षेत्र (चितवन) बाट उठ्नु भएकाले पनि चुनावप्रति झन् चासो बढेको छ ।' यथेस्ट सहयोग गर्न समितिले समितिमा आबद्ध सदस्यहरूलाई सर्कुलर जारी गरिसकेको गुरुङले बताए । 'पार्टीलाई आर्थिक, भौतिक, वैचारिक सबै खालका सहयोग गर्छौं हामी,' उनले भने ।
तर, कार्य व्यस्तताले चुनावका बेला नेपाल जान नसक्दाचाहिँ उनी खिन्न छन् । 'जान पनि सकिएन, प्रवासबाट मताधिकार पनि नपाउँदा खल्लो महसुस भइरहेको छ,' उनले भने ।
कांग्रेस महासमिति सदस्य विज्ञान प्रसाईंका अनुसार आफ्नो पार्टीको जित सुनिश्चित गराउन देशभित्र र बाहिरका कार्यकर्ताहरू चुनावी माहोल सिर्जना गर्न क्रियाशील छ । राज्यले देशमा रहेका नागरिकको बाँच्न पाउने अधिकार, मताधिकार त पूर्ण रूपमा सुनिश्चित गर्न नसकेको अवस्थामा प्रवासका नेपालीको मताधिकार सुनिश्चित गर्ला भन्ने आशा गर्नु बेकार रहेको उनको भनाइ छ ।
एमाले सम्बद्ध नेपाली लोकतान्त्रिक मञ्च, बेलायतका अध्यक्ष दिनेश घिमिरेले मनस्थितिगत र परिस्थितिगत रूपमा चुनावमा होमिइसकेको बताए । आफ्नो संगठनले सामाजिक सञ्जाल र साथीभाइ, इष्टमित्रहरूमार्फत प्रचारात्मक अभियान गरिरहेको उनले जनाए । नेपालमै गएर सहभागी हुने परिस्थिति नभए पनि मानसिक रूपले चुनाव लागिसकेको बताउँछन् अनेरास्ववियु पूर्वकेन्द्रीय उपाध्यक्ष एवं पृथ्वीनारायण क्याम्पस, पोखराका पूर्वस्ववियु सभापति भक्त गुरुङ । सामाजिक सञ्जाल र व्यक्तिगत सम्पर्कबाट आफ्नो पार्टीका उम्मेदवारलाई भोट माग्ने काम भइरहेको उनले जनाए । मुलुकमा शान्ति स्थापना र विकास, संविधान निर्माण र कानुनी राज्य स्थापना होस् भन्ने चाहना विदेश बस्ने आम नेपालीको रहेको उल्लेख गरे । तर, संविधानसभा निर्वाचनमा सबै शक्तिलाई लैजान नसक्नु ठूला दलहरूको कमजोरी ठान्छन् उनी ।
राप्रपा नेपाल निकट प्रवासी नेपाली एकता समाज युकेका अध्यक्ष रोशन सापकोटाले आफ्ना पार्टीका उम्मेदवारहरूलाई सोसियल मिडियाबाट सहयोग गरिरहेको जनाए ।
आगामी संविधानसभा निर्वाचनबाट राप्रपा नेपाल नयाँ शक्तिका रूपमा उदाउने दाबी सापकोटाको छ । तर, यो प्रविधिको युगमा पनि विदेशबाट मत हाल्न नपाइनु दुःखद ठान्छन् सापकोटा । एमाओवादी जिल्ला कमिटी बेलायतका सदस्य हरि पन्तले पनि चुनावी माहोल उत्साहजनक रहेको बताए । 'यसलाई हामीले पर्वकै रूपमा लिएका छौं, पार्टीलाई सक्दो आर्थिक सहयोग जुटाउने काम भइरहेको छ,' उनले भने ।
उता, चुनाव बहिष्कारमा लागिरहेको नेकपा माओवादी आबद्ध प्रगतिशील नेपाली समाज बेलायतका सचिव टीएन रिजालले जनतन्त्र, जनजीविका र राष्ट्रियता सम्बोधन नगर्ने अनि विदेशी प्रभुहरूको डिजाइनमा हुन लागेको निर्वाचनले कुनै निकास नदिने दाबी गरे । 'पर्दाविहीन र कलाविहीन यो चुनाव नयाू एजेन्टहरूलाई वैधानिक बनाएर सिक्किमीकरणको प्रक्रिया छिटो गराउन चालिएको षड्यन्त्र मात्र हो,' उनको प्रतिक्रिया थियो ।
बेलायतमा अध्ययनरत विद्यार्थीमा चुनाव मोह देखिएन । राजनीतिक दलका नेताहरू देश र जनताको भलाइ भन्दा आफ्नो स्वार्थ पूरा गर्न अग्रसर भएको ठहरसहित विद्यार्थी उनीहरूलाई जिताउनु मूर्खता ठान्छन् । 'तिनै नेता, उस्तै घोषणापत्र अनि फोस्रा आश्वासन फेरि सुनेपछि त मनबाटै झन् घृणा जागेर आउने रहेछ,' वेष्ट लन्डन युनिभर्सिटीमा अध्ययनरत मनिष भट्टराईले भने ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग