Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सलमान खानका १० चर्चित लफडा

Published on 12:29:00 AM //


बलिउड सुपरस्टार सलमान खान सधैँ चर्चामा छाइरहने गरेका छन् । कहिले उनी सहकर्मीसँग झगडा गरेर त कहिले दुस्मनी अन्त्य गरेर पनि चर्चामा आउँछन् । त्यसभन्दा पनि बढी उनी हिट फिल्म दिएर र गलफ्रेन्डहरूसँगको सम्बन्धका कारण सधैँ मिडियामा छाइरहेका हुन्छन् ।
पहिलाको दाँजोमा सलमान अचेल निकै सुध्रिएका छन् । पहिला उनले कहिले हरिणको सिकार गरे त कहिले सडकमा सुतिरहेका मान्छेलाई नशाको सुरमा कारले किल्चिए । कहिले फेरि अन्डरवल्र्ड माफिया डनसँगको सम्बन्ध र उनीहरूलाई सुटिङ सेटमा ल्याएर मनोमानी गरेका कारण पनि उनी विवादमा आए । उनले गरेका लफडा अनेक छन् । तीमध्ये चर्चित र विवादित झमेला :

कार दुर्घटना

सलमान सबैभन्दा विवादित र आलोचित भएको लफडा हो– सन् २००२ को कार दुर्घटना । त्यो रात सलमानले चलाएको कारले फुटपाथमा सुतिरहेका मान्छेहरूलाई कुल्चिएको थियो । चारमध्ये एकजनाको स्पटमै मृत्य भएको थियो भने अरू घाइते भएका थिए । सलमान मदिराले मस्त भएर ल्यान्ड क्रुजर हाँकिरहेका थिए । उनीसँग बडिगार्डका रूपमा मुम्बई पुलिसका कन्स्टेबल रवीन्द्र पाटिल थिए । उक्त घटनाको छानबिनका लागि सलमान १७ दिन जेलमा बस्नुपरेको थियो । त्यतिवेला सलमानले आफूले कार नहाँकेको दाबी गरेका थिए । सो घटनामा सलमानलाई ज्यान मुद्दा चलाइएको थियो, जुन अहिले पनि विचाराधीन नै छ ।

हरिणको सिकार 

हम साथ साथ है फिल्मको सुटिङका क्रममा राजस्थानमा सलमानले हरिणको सिकार गरेको कुरा बाहिरियो । त्यसमा पनि उनी निकै झमेलामा परे । त्यतिवेला उनीसँग उनका केही साथी पनि थिए । सिकारका सोखिन सलमानले हरिण मारेको कुराले उनलाई पछिसम्म पनि अदालत धाइरहनुपर्ने बनाइरह्यो । पछि, सुप्रिम कोर्टले सलमानले सो मुद्दा सामना गर्नुनपर्ने आदेश दिएपछि उनलाई राहत मिल्यो ।
सलमानले आफ्नो वेबसाइट सलमान खान फाइल्स डटकम लन्च गरे । सो वेबसाइटमार्फत उनले कार दुर्घटना र हरिण सिकार काण्डको वास्तविकता उल्लेख गर्ने बताएका थिए । उनले सो साइटमा आफूमाथि लागेका मुद्दाका सबै कानुनी प्रक्रियाका विवरण पनि उल्लेख गर्न चाहेका थिए । तर, त्यो कुरा विवादित बन्यो ।

ऋतिकको चित्त दुखाए 

सहकर्मी, भाइहरूसँग पनि सलमानको विवाद परेको छ । त्यसमध्ये उनको एकपटक ऋत्विक रोशनसँग झगडा पर्‍यो । कारण थियो, सलमानले ऋत्विकको फिल्म गुजारिसबारे अन्टसन्ट कमेन्ट गरे । त्यसकारण ऋत्विक सलमानसँग बिच्किए । गुजारिसबारे सलमानले तथानाम बोल्नुको एउटा प्रमुख कारण के पनि थियो भने त्यो फिल्ममा ऐश्वर्या राय पनि थिइन् । तर, ऋत्विक र सलमानको मनमुटाव भने त्यतिवेला सुरु भएको थियो, जतिवेला सलमानको डेब्यु फिल्म मैने प्यार किया रिलिज भएको थियो । त्यो फिल्मबारे निर्देशक सुभाष घईले निकै विवादित टिप्पणी गरेका थिए । त्यतिवेलाका सहायक निर्देशक ऋत्विकले घईको पक्ष लिएका थिए ।

क्याट्रिनालाई हातपात

गर्लफ्रेन्डलाई पिटेको खबर फैलनाले पनि सलमानलाई खराब हिरोका रूपमा लिने गरियो । उनी र तत्कालीन उनकी गर्लफ्रेन्ड क्याट्रिना कैफबीच हुने गरेको मारपिटले मिडिया तताउने गथ्र्याे । त्यतिवेला सलमान र क्याट्रिना एउटा कफी सपमा थिए । तर, एकाएक उनीहरूबीच विवाद बढ्यो । सलमानले क्याट्रिनाको गाला पड्काइदिए । त्यो कुरा मिडियामा पुगिहाल्यो । त्यसपछि त के चाहियो ? केही समयपछि उनीहरूको ब्रेकअप नै भयो ।

माछावालाको उजुरी

एकपटक सलमानविरुद्ध एक माछावालाले पुलिसमा रिपोर्ट हाल्यो । विवादको सुरुवात त्यहाँबाट भएको थियो, जहाँ सलमानले जग्गा किनेका थिए । बान्द्राको त्यो माछावालाले सलमानको बडिगार्डले आफ्नो काममा बाधा पुर्‍याएको भन्दै उजुरी गरेको थियो । माछावालाले आफूले माछा मार्न जाँदा बडिगार्डले अवरोध गरेको भन्दै उजुरी गरेको थियो । तर, त्यो उजुरीको सुनुवाइ के भयो, कसैले चासो दिएन ।

ऐश्वर्यासँगको प्रेम र विवेकलाई धम्की 

ऐश्वर्या रायसँगको प्रेम र विछोडका कारण सलमान निकै तनावग्रस्त भए । हिन्दी फिल्मको रियल हिस्ट्रीमा सलमान–ऐश प्रेमलाई आइडल मानिन्छ । उनीहरूको रोमान्स सन् १९९९ बाट सुरु भएको थियो । त्यतिवेला उनीहरू हम दिल दे चुके सनमको सुटिङमा सँगै थिए । गहिरो प्रेममा परेका उनीहरूको सन् २००२ मा ब्रेकअप भयो । सलमानले ऐश्वर्यालाई निकै तनाव दिए । ऐश्वर्याले सलमानले आफूलाई गाली गर्ने, पिट्नेदेखि लिएर घरको सामान तोडफोड गर्नेजस्ता हर्कत गरेको आरोप लगाएकी थिइन् । ऐश्वर्याका कारण सलमानले विवेक ओबरायलाई ज्यान मार्ने धम्कीसमेत दिए । उनले विवेकलाई एकरातमा ४२ चोटिसम्म फोन गरेर धम्क्याएका थिए । त्यसको केही वर्षपछि सलमानले विवेकलाई भेटेर ‘सरी भैया’ भनेका थिए ।

बर्थडे पार्टीमा बबाल

सलमानले सञ्जय दत्तकी वर्तमान पत्नी मान्यताको बर्थडे पार्टीमा समेत बबाल मच्चाए । त्यस दिन उनको फिल्म निर्माता बन्टी बालियासँग झगडा भएको थियो । त्यो दिन उनलाई सम्हाल्न सञ्जयलाई समेत गाह्रो परेको थियो । सञ्जयले झगडा साम्य पार्न आफ्ना बिजनेस म्यानेजर तथा निकट मित्र धरम ओबरायलाई अघि सारी बन्टीलाई त्यहाँबाट भगाएका थिए ।
भन्सालीबारे भद्दा कमेन्ट

सलमानले गुजारिस फिल्मबारे भद्दा कमेन्ट गरेर निर्देशक सञ्जयलीला भन्सालीको समेत चित्त दुखाए । उनले गुजारिस रिलिजको समयमा एउटा बच्चाले गुजारिसबारे राखेको जिज्ञासामा सलमानले भने, ‘तिमी गएर भन्सालीलाई भेट । उसले तिम्रोबारेमा पनि फिल्म बनाउँछ र खुब कमाउँछ । तर, तिमीलाई एक सुको पनि दिँदैन ।’ यो कुराले निर्देशक भन्साली सलमानसँग चिढिए । सलमान रिसाएको वेला मुखमा जे आयो, प्याच्चै बोलिदिन्छन् । फेरि, आफूलाई मन नपरेको मान्छेबारे नराम्रो बोल्ने बानीले गर्दा उनलाई वेलावेलामा विवादमा तानिरहन्छ । पत्रकारहरूसँग उनको विवाद हुनुलाई बलिउडमा सामान्य मानिने गरिएको छ ।

जोनसँग झगडा

जोन अब्राहमसँग पनि सलमानको विवाद परेको थियो । उनीहरूको झगडा त्यतिवेला परेको थियो, जतिवेला उनीहरू रकस्टारको कन्सर्टबाट फर्किएका थिए । पछि, अक्षय कुमारले उनीहरूबीचको विवाद मिलाएका थिए । अक्षयले भनेपछि सलमानले जोनसँग काम गर्न मानेका थिए । त्यसपछि जोन आफ्नो फिल्मको प्रमोसनका लागि बिस बोसको पाँचाँै संस्करणको सेटमा आएका थिए, जहाँ सलमान होस्ट थिए । अहिले पनि उनीहरूको सम्बन्ध बाहिर देखिएझँै सुमधुर भने छैन ।

अन्तर्वार्ताका कारण लज्जित 

एउटा पाकिस्तानी च्यानलमा अन्तर्वार्ता दिने क्रममा सलमानले एउटा यस्तो कुरा बोले, जसले गर्दा उनी लज्जित हुनुपर्‍यो । मुम्बईमा भएको २६/११ को आक्रमणबारे उनले भनेका थिए, ‘यो आक्रमणमा अलि धेरै धनी मान्छेको ज्यान गयो । त्यसैले यो घटना धेरै उछालिएको हो ।’ यो कुराले सलमान आफैँ लज्जित हुनुपर्‍यो । पछि, उनले ‘साना सहरमा सधँैजसो रेलमा आक्रमण भइरहन्छ, मान्छेको हत्या हुन्छ, तर त्यसमा त्यति धेरै ध्यान दिइँदैन’ भनेर आफ्नो भनाइको बचाउ गर्न खोजे । सलमानको यस्तो गैरजिम्मेवार अभिव्यक्तिले उनलाई अप्ठ्यारोमा पार्ने गरेको छ । जसकारण उनले कतिपय अवस्थामा सार्वजनिक रूपमै माफी माग्नुपरेको छ ।

प्रियंकासँग विवाद

सलमान र प्रियंका चोपडाबीचको विवाद पनि निकै चर्चित भएको थियो । सलमानले आफ्नो फिल्म मै और मिसेज खन्नामा प्रियंकालाई केमियो रोलका लागि आग्रह गरेका थिए । तर, उनले अस्वीकार गरिन् । सोही कारण उनीहरूबीच विवाद भयो । त्यसपछि प्रियंकाको शाहरुख खानसँग निकै राम्रो दोस्ती भयो । प्रियका शाहरुखसँग नजिकिएपछि सलमानले उनीसँग सम्बन्ध सुधार्न जरुरी ठानेनन् । त्यही कारण सलमान र शाहरुखको झगडा पनि पर्‍यो । पछि, उनीहरूले आफ्नो सम्बन्ध सुधारे ।

(नयाँ पत्रीकाका लागि एजेन्सिको सहयोगमा लक्ष्मणले तयार पारेको रिपोर्ट ।)

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग