Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

१२ वर्षदेखि सडक अलपत्र

Published on 11:01:00 AM //

घनश्याम गौतम
गुल्मी, मंसिर १२ । सडकको बीचमा परेको चट्टान सहितको पहरो फुटाउन नसक्दा सर्वसाधारणले रकम संकलन गरेर खनेको सडक १२ वर्षदेखि अलपत्र परेको छ । दिगामको तीन वार्डका झन्डै चार सय घरधुरी लाभान्वित हुने बोखरदेखि अँगाहासम्मको सडक निर्माण सम्पन्न हुन नसक्दा अलपत्र परेको हो । कृषि सडक नामकरण गरिएको सडक सम्पन्न हुन नसक्दा दिगामका विभिन्न स्थानमा उत्पादन हुने दूध र तरकारी बजारसम्म पुर्‍याउन समेत समस्या पर्ने गरेको छ ।

दिगाम ७, ८ र ९ का तीन सयभन्दा बढी घरधुरीले १२ वर्षअगाडि ४ लाख ५० हजार रुपैयाँ चन्दा संकलन गरेर सडक निर्माण गरेको तर बीचमा परेको एउटै पहिरो फाल्न नसक्दा सडक सुचारु हुन नसकेको उपभोक्ता समितिका अध्यक्ष हिमलाल भण्डारीले बताए । 'बीचसम्म जिप, ट्रयाक्टर सजिलै आवतजावत गर्न सक्छन्', भण्डारीले भने, 'तर पूरा गर्न गाविस, जिविस लगायत सबै स्थानमा पहल गर्दा पनि कसैले सुनुवाइ नगर्दा सडकको उपयोग हुन सकेन ।' पाँच लाख रुपैयाँ सहयोग भएमा सडक सम्पन्न हुने भण्डारीले बताए ।

सडक नहुँदा दिगाम ७ को तल्लो अमराई, उपल्लो अमराई, घट्टेखोला, राममियाँ, पाणेटोलका १ सय २० घर, ८ को बिसौना, बोखर, डाँडाखर्क, तल्लो बिसौनाका १ सय घर, ९ को भाँखर्क, एकुडाँडा, बोखर, घलाम, चिलामपोखरी र भुजेलमाराका १ सय २० घरधुरीसहित ३ सय ४० घरपरिवार प्रभावित भएको गाविस सचिव लीलाबहादुर सिंजालीले बताए ।

'हामीले चन्दा उठाएर र श्रमदान गरेर सडक खनेको १२ वर्ष नाघिसक्यो' समिति सदस्य गोकर्ण ढकालले भने, 'गाविस, जिविस जताततै धाउँदा पनि सुनुवाइ हुन नसकेपछि थकित भएर बसेका छौं ।' गाउँमै मोटरबाटो आउने खुसियालीमा गाउँका अधिकांशको खेतीयोग्य बारी र खानेपानीका मुहानसमेत नष्ट गरिए पनि अहिले न बारीमा खेती न सडकमा मोटर चल्न सकेको ढकालले बताए ।

गाविस सचिव सिंजालीले गाविसको रकमबाट मात्र सडक पूरा गर्न सम्भव नभएकाले जिविसमा पटक-पटक अनुरोध गरिएको बताए । 'गाविसमा आउने रकममध्येबाट हरेक वर्ष अर्को मुख्य सडकको ठूलो पहिरो मर्मत गर्दा ठीक्क छ', सिंजालीले भने, 'मुख्य सडक मर्मत गर्दागर्दै गाविसको बजेट सकिने हुँदा झन्डै ४ सय घर प्रभावित भएको शाखा सडक पूरा गर्न सकिने अवस्था नै छैन ।'

दिगामको ८ र ९ वार्ड व्यवसायिक तरकारी र दूध उत्पादनमा जिल्लाकै अग्रणी स्थान हो । सडक अभावमा दुई गाउँमा उत्पादन हुने गरेको दूध र तरकारीसमेत बजारसम्म पुर्‍याउन समस्या पर्ने गरेको किसानहरूको गुनासो छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग