Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अबको प्रधानमन्त्री को?

Published on 8:12:00 PM //

काठमाडौं । नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन हुने निश्चित भए पनि कांग्रेसका तर्फबाट सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयचाहिँ अझै स्पष्ट हुन सकेको छैन। सभापति सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल र वरिष्ठ नेता शेरबहादुर देउवाबीचको सम्भावित टक्करको परिणामबारे अहिले नै निष्कर्षमा पुग्न सकिने स्थिति छैन।
अप्ठ्यारो स्थितिमा प्रधानमन्त्री पदको उम्मेदवार बनेर सत्रपटकसम्म पराजित भइदिन तयार भएकोले रामचन्द्र पौडेललाई प्रधानमन्त्री बनाइनुपर्छ भन्ने तर्क कतिपय कांग्रेस नेताहरूको छ । स्वयं रामचन्द्र पौडेल पनि प्रधानमन्त्रीको जिम्मेवारी आफैँले पाउनुपर्नेमा दृढ हुनुहुन्छ । पराजित हुने निश्चित भएका बेलामा आफूलाई उम्मेदवार बनाउने र प्रधानमन्त्री बन्ने निश्चित हुँदाचाहिँ अरू–अरू नै अघि सर्ने कुराले नेता पौडेललाई दुःखी बनाएको छ । पौडेलका तर्क र अभिव्यक्ति जायज भए पनि भावी प्रधानमन्त्रीको टुङ्गो कांग्रेस संसदीय दलको बैठकले लगाउने निश्चित छ ।
विजयी सभासद्हरूमध्ये अभिकांश कोइराला या देउवाका समर्थक भएकोले दुईमध्ये एक संसदीय दलको नेता बन्ने विश्वास गरिन्छ । कांग्रेसमा प्रत्यक्षतर्फ विजयी सभासद् (१०५) मध्ये करिब चार दर्जन शेरबहादुर देउवा पक्षका रहेको बताइन्छ । खुमबहादुर खड्काको साथ देउवालाई भएको अवस्थामा प्रत्यक्षतर्फको ‘बहुमत’ देउवाको पक्षमा हुने देखिन्छ । पार्टीभित्र आफ्नो बेग्लै टिम बनाउन नसक्ने या नचाहने नेता रामचन्द्र पौडेललाई संसदीय दलको नेता बनाउन पहिले कोइराला पक्षले सघाएको हो । तर, यसपालि सुशील कोइराला आफैँ प्रधानमन्त्री बन्न इच्छुक भएकोले उहाँको समर्थन रामचन्द्र पौडेललाई प्राप्त हुन मुस्किल छ । त्यस्तो अवस्थामा ‘स्वतन्त्र’ लडेर पौडेल संसदीय दलको नेता बन्न कठिन मानिन्छ । यद्यपि कसलाई दलको नेता बनाउने भन्ने विषयमा पौडेलको भूमिका निर्णायक बन्नेचाहिँ निश्चित छ ।
कोइराला र देउवाबीच सहमति नभई प्रतिस्पर्धाको स्थिति बनेमा पौडेलको समर्थन जसलाई हुन्छ उही संसदीय दलको नेता बन्न सक्नेछन् । तीन शीर्षस्थ नेताहरूबीच टक्करको स्थिति रहेमा नयाँ पुस्ताका कुनै नेतालाई दलको नेता र प्रधानमन्त्री बनाइनुपर्छ भन्ने आवाज पनि सशक्त छ । नयाँ पुस्ताबाट डा.रामशरण महत र महामन्त्री प्रकाशमान सिंहलाई सम्भावित प्रधानमन्त्रीका रूपमा हेरिएको छ । लामो समय अर्थमन्त्रीको जिम्मेवारी सम्हालेको अनुभव र वैचारिक स्पष्टता एवम् राजनीतिक अडानमा दृढ डा. महतलाई प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्दा त्यसको सकारात्मक सन्देश जाने ठम्याइ कांग्रेस भित्र धेरैको छ । त्यस्तै प्रकाशमान सिंहलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्नु उपयुक्त हुने मत पनि बलवान देखिन्छ । तर, तत्कालको स्थिति चाहिँ सुशील कोइराला र शेरबहादुर देउवा मध्ये एक संसदीय दलको नेता तथा प्रधानमन्त्री बन्ने छ ।
कोइराला र देउवा मध्ये जसलाई रामचन्द्र पौडेलले समर्थन दिनुहुन्छ उही व्यक्ति संसदीय दलको नेता बन्ने भएकोले पौडेलको मन जित्न दुवै नेताले प्रयास गर्ने स्थिति छ । हालसम्म पौडेलको साथ सुशील कोइरालालाई रहँदै आएको छ । यदि कोइरालाले ‘विश्वासघात’ गरेको ‘इम्पे्रसन’ पौडेललाई पर्यो भने पौडेल देउवाको पक्षमा उभिन पनि सम्भव मानिएको छ । तर, कोइरालाले पार्टीको कार्यवाहक सभापति पौडेललाई बनाएको अवस्थामा भने उहाँको समर्थन कोइराला तिरै हुने देखिन्छ । समानुपातिक तर्फ साठी प्रतिशत उम्मेदवार कोइरालाको र चालीस प्रतिशत मात्र देउवाको रहेकोले दुई नेताबीच चुनावी प्रतिस्पर्धा भएमा कोइराला नै विजयी बन्नुहुने सम्भावना छ । तर, राजनीतिक चालबाजीमा कोइरालाभन्दा देउवा अगाडि रहनुभएकोले देउवाले नै बाजी मार्ने सम्भावनालाई पनि इन्कार गर्न सकिन्न।
विक्लीनेपाल डट कमबाट सभार

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग