Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मन्दिर प्रवेश विवाद ः मन्दिर सबैको साझा हुने सहमतिपछि जातिय विभेदको घटनामा मिलापत्र

Published on 5:43:00 PM //

घनश्याम गौतम
गुल्मी– मन्दिर प्रवेशको विषयमा दरबारदेविस्थानमा भएको जातिय विभेदको घट्नामा शुक्रवार दुवै पक्षबिच मिलापत्र भएको छ ।
मन्दिरमा दलित समुदायले धूपधजा चढाएको विषयमा भएको विवादले उग्र रुप लिएपछि दरबार देविस्थानका दलितका अगुवा नेता गोकर्ण नेपालीलाई ज्यान मार्ने धम्की आएको भन्दै सुरक्षा र न्याय माग्दै पाँच दिनदेखि तम्घासमा थिए । तिन दिनदेखिको छलफल शुक्रवार मन्दिरमा निर्वाध पुजाआजा गर्न तथा दुध चढाउन पाउने र मन्दिरमा हुने साप्ताहिक पुजामा दलितले चढाएको दुध मिसाएरै खिर पकाउने र त्यसलाई प्रसादको रुपमा सबैलाई वितरण गर्ने सहमतिपछि मिलापत्र भएको हो । मन्दिर व्यवस्थापन समिति, प्रहरी, अधिकारकर्मीहरु सहितको छलफलले यस अघि भएका घटनाका दोषीहरुले आगामी दिनमा त्यस्ता गल्ती नगर्ने र मन्दिरमा निर्वाध सबैले पुजाआजा गर्न पाउने सहमति भएको पीडित गोकर्ण नेपालीले बताए । मन्दिरमा प्रवेश गरेको विषयलाई लिएर नेपाली कांग्रेसका क्षेत्रीय सभापति समेत रहेका अशोक थापा र स्थानीय व्यवसायी मोती श्रेष्ठले गोकर्ण नेपालीलाई ज्यान मार्ने धम्की दिएको भन्दै नेपालीले प्रहरी कार्यालयमा कारवाहीको माग गर्दै उजुरी गरेका थिए ।
शुक्रवारको छलफलका लागि प्रहरीले मन्दिर व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराज अर्याल सहित सबै कार्य समितिका पदाधिकारी र सदस्यहरुलाई समेत कार्यालयमा उपस्थित गराएको थियो । छलफलपछि मन्दिर व्यवस्थापन समितिका सबै सदस्यहरु सबै समुदाय र जातीले मन्दिरमा सहजै पुजाआजा गर्न पाउनेमा सहमत भएको अर्यालले बताए । दरबार देविस्थान, ९ मा रहेको मालिका मन्दिरमा हरेक आईतवार पुजा हुने गर्दछ ।
एक वर्ष अघि स्थानीय सबै मिलेर मन्दिर निर्माण गरेको भएपनि दलितहरु मन्दिर प्रवेश र पुजाआजामा बञ्चित भएको भन्दै नेपालीको नेतृत्वमा दलितहरुले मन्दिर प्रवेशको अभियान शुरु गरेका थिए । अभियान शुरु गरेपछि मन्दिर व्यवस्थापन समिति, थापा र श्रेष्ठ सहित अन्य समुदायले विरोध गरेपछि विवाद बढेको थियो । ‘विवाद बढ्दै गएपछि अगुवाई गरेको भन्दै मलाई नै रुखमा झुण्ड्याएर मार्ने सम्मका धम्की दिए’, नेपालीले भने, ‘गाउ“मा बस्नै नसक्ने अवस्था आएपछि ज्यान जोगाउन प्रहरीमा उजुरी दिएको हु“ ।’ अब कसैले धम्की नदिने, आक्रमण नगर्ने र मन्दिर सबैको साझा हुनेमा सहमति भएपछि मिलापत्र गरेको नेपालीले बताए ।
प्रहरी निरिक्षक निशान्त श्रीवास्तवले पनि दुवै पक्षबिच आन्तरिक सहमति भएपछि मिलापत्र भएको बताए । ‘दलित समुदायका ५०÷६० जना, मन्दिर व्यवस्थापन समिति, कांग्रेस क्षेत्रीय सभापति सहितको छलफलमा मन्दिर व्यवस्थापन समितिको माईन्यूट बुकमै सहमति गरेर हस्ताक्षर गरेका छन’, श्रीबास्तवले भने, ‘मन्दिरमा दलित समुदायलाई पुजा गर्न दिने, दुध एकै स्थानमा चढाउने र त्यही दुधबाट बनेको खिर प्रसादको रुपमा सबैले खाने गरी दुवैपक्ष बिच सहमति भएको छ ।’ घटना गम्भिर भएकाले प्रहरीले मन्दिर व्यवस्थापन समितिका सबै पदाधिकारी सहित स्थानीयलाई समेत कार्यालयमै बोलाएर छलफल गराएको उनले बताए । आइतवार हुने मन्दिरको नियमित पुजामा सबै समुदाय मिलेर भब्यरुपमा पुजाआजा गर्ने सहमति समेत भएको प्रहरीले जनाएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग