Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

६० लाख खर्चेर गौंडाकोटमा पिकनिक स्थल

Published on 2:06:00 AM //

घनश्याम गौतम
गुल्मी, पुस ११ । सरदुमकाम नजिकको गौंडाकोट क्षेत्रमा करिब ६० लाख लगानीमा पिकनिक स्थल निर्माण गरिएको छ । रूरू-रेसुंगा क्षेत्र संरक्षण तथा पर्यटन विकास समिति, पर्यटन कार्यालय भैरहवा र स्थानीय उपभोक्ताको पहलमा गौंडाकोटको दारेढुंगामा करिब ४० लाख र म्यालपोखरीमा करिब २० लाख बजेटमा वनभोजस्थलहरू निर्माण गरिएको हो ।

पर्यटकीय एवं धार्मिक क्षेत्र रेसुंगाको फेँद गौंडाकोटको दारेढुंगामा निर्मित स्थल जिल्लाकै उत्कृष्ठ भएको छ । यस्तै, गौंडाकोटकै म्यालपोखरीमा निर्मित स्थलसमेत आकर्षक छ । सदरमुकाम तम्घासबाट करिब २० किमि दूरीको दारेढुंगामा सेनाले पैदल मार्ग निर्माण गरिदिएपछि पिकनिकमा जानेहरूका लागि थप सहयोग पुगेको छ ।
गुल्मीको गौंडाकोट गाविसको दारेढुंगामा निर्माण गरिएको पिकनिक स्पट । रूरू-रेसुंगा क्षेत्र
 संरक्षण तथा पर्यटन विकास समिति, पर्यटन कार्यालय, स्थानीय उपभोक्ता र
नेपाली सेनाको समेत सहयोगमा निर्माण गरिएको पिकनिक
स्पट जिल्लाकै उत्कृष्ठ भएको छ ।
तस्बिर: घनश्याम गौतम

समितिले करिब २५ लाखको लागतमा दारेढुंगा क्षेत्रमा पिकनिक र भ्रमणका लागि चारवटा गोल घर, एउटा भान्सा घर, पानी सुविधाका लागि प्लास्टिक पोखरी, धारा, खानेपानी संकलनका लागि ट्यांकी निर्माण गरिदिएको अध्यक्ष निमबहादुर पाण्डेले बताए । दारेढुंगा विकास समितिका अध्यक्ष क्याप्टेन रामबहादुर थापाका अनुसार अहिलेसम्म सडक, भवन र पूर्वाधार निर्माणमा ४० लाखभन्दा बढी खर्च भइसकेको छ ।

तम्घास-रिडी सडकबाट करिब १५ मिनटको पैदल दूरी र करिब एक किमि कच्ची मोटरबाटोले दारेढुंगालाई छोएको छ । उक्त क्षेत्रबाट गुल्मी, पाल्पा, बागलुङ, पर्वत, र स्याङ्जाका मनोरम बस्तीहरू दृश्यावलोकन, कालीगण्डकी र रुद्रावती नदी, अन्नपूर्ण, धौलागिरीलगायत विभिन्न हिमशृंखलाको समेत सजिलै अवलोकन गर्न सकिने भएकाले पनि धैरैको आकर्षण बढेको पर्यटन विकास समितिका कार्यकारी निर्देशक श्रीराम गौतमले बताए ।

गौंडाकोट बजार नजिकबाट १० मिनटको पैदल दूरीमा पुग्न सकिने दारेढुंगा क्षेत्रलाई थप आकर्षक बनाउन स्थानीय बासिन्दाले सेनाको सहयोगमा २ सय ५० पारिजात, ५० धूपी र इपिलइपिलका बिरुवासमेत रोपेका छन् । दारेढुंगा क्षेत्र करिब साढे २ हेक्टर क्षेत्रफलमा फैलिएको समितिका अध्यक्ष थापाले बताए ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग