Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एलएलसीमा शत प्रतिशत ल्याउन विद्यार्थीको भविष्यमाथी खेलबाड

Published on 10:26:00 AM //

महेन्द्र उमाविका १२ विद्यार्थी विनाकारण  निश्कासित

भरत पाण्डेय
धुर्कोट् (गुल्मी) २६ पुस / रासस । १० वर्षसम्म अध्ययन गरेर आफ्नो क्षमता कति छ जाँच्ने परीक्षामा बस्न नपाउँदाको पिडा तपाईँलाई कस्तो हुन्छ ? पक्कै पनि सहन नसक्ने पिडाले सबैलाई सताउँछ । गुल्मीको सदरमुकाम तम्घास स्थित एक विद्यालयका १२ जना विद्यार्थी पढ्दापढ्दै विना कारण विद्यालयमा जान प्रतिबन्ध लगाएपछि रुँदै हिँडेका छन् ।
महेन्द्र उच्च माध्यममिक विद्यालय तम्घासमा एसएलसीको तैयारी गरीरहेका १२ जना विद्यार्थीलाई विद्यालयले ‘तिमीहरु भोलीदेखि विद्यालय नआउ’ भनेपछि उनीहरु न्यायका लागि शिक्षा कार्यालय गुल्मीमा समेत गुहार माग्न पुगेका छन् ।
१० वर्षसम्म पढेर परीक्षा दिन नपाएको पिडा त छँदै छ विद्यालयले आफूहरुलाई के कारणले गर्दा रोक लगायो भन्ने सम्म पनि बुझ्न नपाएपछि उनीहरु जिल्ला शिक्षा कार्यलयमा पुगेका हुन । ‘हामीलाई स्कूलबाट तिमीहरुले एक्जाम दिन पाउन्नौ भनेर निकालिदिनुभयो – तम्घासका अनुस्का पाण्डेले भन्नुभयो – एसएल सी दिन तिन महिना छ, हामीले एस एल सी पास गर्छौँ भन्दा भन्दै पनि खुरुक्क भनेको मान अव बैशाख ३ गतेदेखि नयाँ १० कक्षा पढ्न आउन भन्नुभएको छ । ’
विद्यालयले ३ जना सोही विद्यालयबाटै कक्षा ९ उर्तिण गरेका र बाँकी ९ जना अरु विद्यालयमा कक्षा ९ फेल भएर महेन्द्र माविमा कक्षा १० मा भर्ना गरेकाहरुलाई विद्यालय आउन रोक लागाएको हो । बाहिर विद्यालयबाट कक्षा ९ फेल भएर कक्षा १० मा भर्ना हुन आउनेहरुलाई पहिला नै जुनुकै बेला पनि विद्यालयले रोक्न सक्ने कागज गरीएको छ । ‘हामी ३ जना ९ कक्षामा सबै विषय पास गरेर आएकालाई सर टाईम दिनुस हामीले पास गर्छौँ भन्दा पनि नआओ भनेर रोके – अर्कि छात्रा सदिक्षा जिसीले भन्नुभयो  – अरु ९ जनालाई १० कक्षामा भर्ना गर्दा नै अर्धबार्षिकमा पास भएनौँ भने रोकिने छु भनेर कागज गराएर टाईमपासका लागि मात्रै बोलाएका थे ।’
ति विद्यार्थीहरुले आफूले पढेर पास गर्ने बेलामा सघाउनुपर्ने विद्यालय र शिक्षकहरुले अनावस्यक तनाव दिएर हैरान पारेको भन्दै दुःख समेत व्यक्त गरेका छन् । ‘पास गर्छौैँ भन्दा भन्दै पनि परीक्षा नै दिन नपाएर बस्दा एकदम दुःख ला’छ, अव के गर्ने रोएर बसेका छौँ ।’ – एक छात्राले आफूले डर लागेकोले नाम नबताउने शर्तमा भन्नुभयो । ति विद्यार्थीहरुले विद्यालयमा जानु भन्दा होम ट्यूसन पढ्ने भन्दै विद्यालयमा अनिवार्य ट्यूसनमा उपस्थित नभएपछि त्यही रीसले विद्यालयले आफूहरुलाई नआउने भनेको विद्यार्थीहरुको आरोप छ ।
१० वर्षसम्म मेहनेत गरेर पढाएका छोराछोरीलाई विनाकारण विद्यालयले बञ्चित गरेपछि अविभावकहरु पनि चिन्तित बनेका छन् । आफ्ना छोराछोरी असफल होउन भनेर कसैले पनि नचाहेने भएकोले आफूहरुले उनीहरुलाई सक्षम बनाउन ठूलो मेहनेत गर्दा गर्दै पनि परीक्षा दिनबाटै बञ्चित गराउनु दुःखको कुरा भएको तम्घासका राम प्रसाद पाण्डेले बताउनुभयो  । ‘३÷४ पटक बोलाएर गएँ , तपाईँका विद्यार्थी धेरै कमजोर छन् सक्दैनन् भने अनि मैले होम ट्यूसन राख्छु सर नरोक्नुस भनेर भने – उहाँले भन्नुभयो – तर हामीले कसरी हुन्छ भनेर मेहनेत गर्दा गर्दै छोरीलाई नआईजा पो भनेछन् ।’
एक श्रोतका अनुसार ति विद्यार्थीहरु पढाईमा केही कमजोर रहेकोले विद्यालयले एसएलसीमा शत प्रतिशत ल्याउनको लागि उनीहरुलाई विचैमा परीक्षा दिनबाट बञ्चित गराउन लागेको हो । महेन्द्र उच्च माविले सरकारी सामुदायीक विद्यालय भित्रै निजी बोर्डिङ्ग समेत अबैध रुपमा सञ्चालन गरेको छ । ‘विद्यालयको ईज्जतका लागि सदरमुकामका अरु विद्यालय भन्दा राम्रो प्रतिशत त ल्याउन प¥यो नि हैन र –  विद्यालय व्याबस्थापन समितिकै एकजनाले भन्नुभयो – ‘यसलाई अन्यथा लिन भएन ।’
उनीहरु अलि कमजोर भएपनि पछिल्लो पटक धेरै मेहनेत गरेकोले सिधै असफल हुन्छन् भनेर ठोकुवा गर्न नहुने सोही विद्यालयका एक शिक्षकले बताउनुभयो । ‘विद्यालयले शत प्रतिशत ल्याउनुपर्छ भन्ने त सबैको चाहना हो तर मेहनेत गरीरहेले उनीहरु फेल भईहाल्छन् भन्न सकिँदैन – महेन्द्र उच्च माविकै एक शिक्षक भन्नुहुन्छ – के गर्नु हामीले भनेको केही चल्दैन ।’
विद्यालयका प्राचार्य केशर बहादुर थापाले भने उनीहरुका अविभावक बोलाएर काउन्सिलिङ्ग गरेर धेरै कमजोर विद्यार्थीलाई रोक्न सहमत गराईएको बताउनुभयो । ‘हामीले पटक पटक आन्तरीक परीक्षा लिँदा कतिपय सातवटै विषयमा फेल भएका छन् – उहाँले भन्ुनभयो – त्यसैले अविभावको सहमतिमा सबै काम भएको छ ।’ उहाँले विद्यार्थीको विषयमा गुनासो गर्न कोही नआएकोले असहमति भए आएर छलफल गर्न सकिने बताउनुभयो ।  बाहिर विद्यालयबाट फेल भएर आएका विद्यार्थीलाई पैसाको लागि भर्ना लिने तर सबै शुल्क लिएपछि परीक्षामा सहभागी नगराउने गरेको पाईएको छ । विद्यालयका प्राचार्य थापाले अविभावकसंग आवस्यक परे फेल बनाउने लिखित प्रतिवद्धताका आधारमा अन्य विद्यालयमा फेल भएकाहरुलाई पनि भर्ना गरीएको स्विकार गर्नुभयो ।
ति मध्येका तीन जना विद्यार्थीले जिल्ला शिक्षा कार्यालयमा पेश गरेका छन् । उनीहरुले शिक्षा कार्यालयसंग आफूहरुले जसरी पनि परीक्षा दिन पाउँ भनेर गुहार गरेपछि विद्यार्थीहरुलाई विद्यालयमा हाजिर गराउन निर्देशन दिएको जिल्ला शिक्षा अधिकारी गोविन्द अर्यालले बताउनुभयो । उहाँले शिक्षा नियमावलीमा नै १० कक्षामा ७५ प्रतिशत हाजिर भएकाहरुलाई परीक्षाबाट बञ्चित गरान नपाउने नियम भएकोले सरकारी नियम मिचेर विद्यालयको छुट्टै नियम नहुने बताउनुभयो । ‘शिक्षा नियमावलीमा ९ कक्षामा पास गरेर १० कक्षामा ७५ प्रतिशत हाजिर भएकाहरुलाई एसएलसीमा सहभागी गराउनुपर्ने सकारी नियम मिचेर सामुदायीक विद्यालयले छुट्टै नियम बनाउने छुट छैन – अर्यालले भन्नुभयो  – तीन जना विद्यार्थीले निवेदन दिएपछि मैले तुरुन्त हाजिर गराउनुस् यसभन्दा बढी प्रकृया चाल्न नपरोस भनेर निर्देशन दिएको छु ।’
यस विषयमा सोध्ने क्रममा सो विद्यालयका व्याबस्थापन समितिका अध्यक्ष भुवन श्रेष्ठले पत्रकारहरुलाई अपमानजनक गालीगलौज गर्नुभएको थियो । उनले ‘पत्रकारका गँडियाहरु तिमीहरुले सबै कुरा खोतल्न मिल्छ, विगतदेखि के गर्ने खोजेको होस, ख्याल गर ’ भनेर धम्क्याएका थिए । यस विषयमा नेपाल पत्रकार महासंघले खेद प्रकट गर्दै विज्ञप्ती समेत निकालेको थियो ।


ति विद्यार्थीहरुले शिक्षा कार्यालयमा निवेदन दिएपछि अविभावक जम्मा पारेर उनीहरुलाई बाहिर कुरा नलैजान धम्याएको श्रोतले बताएको छ । एकातिर अफ्ना छोराछोरी फेल गराउने र अर्कोतिर न्याय माग्न समेत नदिएपछि अविभावक ईन्तु न चिन्तु भएका छन् ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग