Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दलितका घरमैं दलित अपहेलित (प्रेम सुनारको भोगाई)

Published on 8:15:00 PM //

प्रेम सुनार
गुल्मी  । विवाहको निमन्त्रणा कार्ड आयो । त्यातिले पनि नभएर फोन गरेर भनियो–‘लौ हजुर आउनु भएन भने जिन्दगीभर आफ्नो मान्छे न भन्नु ....। ’ यता सदरमुकाममा एक जना ठुलै मान्छेको छोराको विवाह थियो । अघिल्लो दिन  सदरमुकामकै ति ब्राम्हण थरका ब्याक्तिको विवाहको भोज खाईयो । जहाँ सिडियो देखि सर्वसाधरण सम्म र ब्राम्हण देखि दलित सम्मले आफै झिक्दै खाँदै गरियो । कुनै समय व्राम्हण क्षेत्रीको विवाह भोज पाटाको कुनामा बेग्लै बसेर टपरीमा खाँदाको सम्झना आयो । त्यो सम्झेर लाग्यो जातिय विभेदका ति दिनहरु गएछन्.........।
यसरी सदरमुकामको त्यो भोज सकेको अर्को दिन लागियो गाउँतिर आफन्तको विवाहतिर । विवाह भोज भब्य रहेछ । एकथरी बुढापाकाहरु रक्सीले टिक्न नदिएर पाटाको कुनामा धुलै र फुर्सै भएर लडेका थिए । उनिहरुको मुखमा माखा भन्की रहेका थिए ।  म जान वित्तिकै निकै स्वागत गरियो ।  मलाई चिन्नेहरुले नचिन्नेहरुलाई चिनाउन थाले । त्यस पछि दिदी बहिनीहरु झुम्मीन थाल्नु भयो ।  दुइ तिन जना आफन्तले हात समातेर भान्सातिर लैजानु भयो । भान्सा दुई वटा रहेछन् । एकातिर खसीको मासु सहितको क्षेत्री बाहुनको भान्सा अर्कोतिर पाडाको मासु सहितको दलितको भान्सा ।
रक्सी खाने व्राम्हण क्षेत्री लगायतलाई उता बंगालाको तलामा ब्यवस्था रहेछ । उनिहरुले खाने रक्सी सिक्नेचर, खुकुरी रम र वियर पनि रहेछ । अनि दलितहरुलाई घरको ओसारीको कोठामा ब्यवस्था रहेछ । जहाँ त्यही विवाहमा मागिएको पानी जस्तो रक्सी र पाडाको रक्ती भुटुवा । उता खसीको मुटु कलेजा, टाउको र हेकुलाको भुटुवा । अनि वजारमा पाईने.........खै के हुन पनि रहेछ । यता काँक्राको अचार रहेछ । भात खान बस्नु पुर्व ति बेग्लै ब्यवस्थातिर लगियो । त्यति बेला ताना तान जस्तो  भयो । क्षेत्री व्राम्हण साथीहरु जसले मलाई नजिकबाट चिन्नु हुन्थ्यो उहाँहरुले उहाँहरुको ब्यवस्था स्थलतिर जाउ भन्नु भयो र गएर खान पिन गरियो । पछि एक जना पुसैं पर्नेले कर गर्नु भयो र उता ओसारी तिर पनि पुगियो ।
वेहुली नानी पढे लेखेकी, वेहुला बाबु पनि पढे लेखेका । वुवा आमा पनि शिक्षित र सम्पन्न दलित परिवार । त्यसो भएको हुनाले पनि विवाह पाटी गाउँको हकमा यता सदरमुकामको सम्पन्न परिवारमा भन्दा कम थिएन र निम्तालुहरु पनि विशिष्ट ब्याक्तिहरु धेरै थिए । दलका जिल्ला देखि गाउँ नेताहरु खान वसीरहेका थिए । जहाँ जनयुद्धमा एक अर्काका चुलामा वसेर खाने नेताज्युहरु त्यस विवाह भोजमा अलग अलग बसेर खाँदै थिए । उता क्षेत्री व्राम्हण नेताज्युले खाने ठाउँमा बाँसकै भए पनि कुर्ची टेवुल यता गुन्द्रो र मान्द्रो ओछाईएको थियो । उताका जुनियर नेता कुर्ची टेवुलमा बसेर खाँदै थिए भने यता सिनियर नेता (दलित ) टुक्रुक्क भुईमा बसेर खाँदै थिए ।
बेहुला बेहुलीका बाबु आमा पनि एक प्रगतिशिल भनिने पार्टीका नेताहरु थिए । २०४६ पछि उदाएका नेता उनि  कैयौं पटक दलित आन्दोलनमा पनि सहभागि हुँदै आएका थिए । त्यो ताका उनको ओठमा झुण्डीएको शब्द ब्राम्हणवादी, सामन्त आदि थियो । उनैको घरमा आजोजित त्यो विवाह पार्टीको भोजमा देखिएको विभेदले खास विभेदी र सामन्त उनै हुन भन्ने लाग्यो मलाई । त्यात्रो खसी काटेका छन् । त्यो भन्दा बढिको विदेशी महँङ्गो दारु खुवाईएको छ । यता दलितलाई पाडाको मासु र पानी जस्तो ठर्रा खुवाएर खुबै गरे भोज जस्तो गरेका छन् ।
कालो कोट र रातो गलबन्दीमा सजिएका उनि यसो हेर्दा शुसिल, झलनाथ र प्रचण्ड भन्दा के कम को ? नेतागिरी ठाँटमा कहिले यता कहिले उता भान्सा ब्यवस्थापनमा निगरानी बढाएका छन् । उनको ध्यान यता दालितहरुको भान्सातिर कम थियो । उतै ग्रैह दलितको भान्सामा के पुगेन, कसो पुगेन ? त्यसैमा उनको बढि ध्यान थियो । म अपमानित भएर होईन, म लगायत केहि सामाजिक क्षेत्रमा परिचित दलितहरुको सक्दो सत्कार दुवै भोजमा गरिएको हो । तर त्यहाँ विभेद र अपमान गरिव  दलितको प्रष्ट देख्न सकिन्थ्यो ।
त्यो दलितको भान्सामा  कुनैले पछि थपेको पानी जस्तो झोल सित गिल्लो भात खाएर गएको पनि देखियो । टाँठा बाठाहरु डेक्सीमा गत्तिलो गत्तिले मासु गोप्य स्थानतिर ओसार्दै थिए । रहेको पाडाको हाड छालामा कति निम्तालु उम्काउनु पर्ने थियो । विभेद नचाहने पढे लेखेका दलित युवा युवतीहरु अछट्टै बसेर खाँन अफ्ट्यारो मानिरहेका थिए । मैले त्यो भान्सामा बसेर खानै मानिन् । क्षेत्री ब्राम्णको भोजमा जाँदा त पछिल्लो चरण विभेद नभोगेको मान्छे अझ झन दलित कै विवाह भोजमा बेग्लै बसेर को खान्छ भन्ने लाग्यो अनि एक जना साथीलाई कान फुकें र उनले ओसारीको कोठा मै खान मगाई दिएर खाँए 
मलाई उता दलितको भान्सको मासु थिएन खसी कै थियो । एक चोटी बुढालाई बोलाएर थुर्नु थुरुँ कि जस्तो नलागेको होईन तर विवाह पार्टी सवैले रक्सी खाएका छन् ठुलो विवाद निक्लेला, भो नेता नबन भन्ने लाग्यो र चुप लागे । त्यसपछि नाच्ने ठाउँतिर गएँ । तानेरै सवैले मलाई नचाए । म पनि के कम ? हल्का ड्याँस दिएरै एउटा गित निकालेर नाचे । मलाई विवाहमा गित गाउनु प¥यो भने बमबहादुर कार्की दाई कै भाका मुखमा झुण्डीन्छ । उनैको भाका थियो–‘डाँडैको देवि देउराली........’  म पछ एउटी प्लस टु पढ्ने नानी नाच्न तम्सीईन् । गोरी पातली उनि भारततिरको विवाहमा युवतीहरुले लगाउने पहिरनमा सजिएर कम्मर मर्काउन थाले पछि युवाहरु सिठी मार्न र उनि सितै नाच्न तम्सीए । केहि बेर मै उनिसंग नाच्न खोज्ने युवाहरु सम्हाल्नै गाह्रो  भयो । उनि दलितकी छोरी थिईन् । उनी नाच्दा नाच्दै तिनै दुलहीका बाबु आएर प्याच्च भनि हाले ......ठकुरीकी छोरी जस्ती छ हाम्रा..दाईकी छोरी त ’
ल हेर्नुस् त ? यसो सभ्य र रुपासे भए दलितका छोरी ठुकुर्नी, बाहुनी र क्षेत्री नि जस्ता रे । उफ... यो मानसिकता दलितहरुमा कहिले हट्ला भन्ने लाग्यो । सायद त्यही कारणले पनि ति बुढाका छोरी भतिजीहरु ग्रैह दलित युवाहरु तिर आकर्षित हुने र पछि घैटा जत्रो पेट बनाएर घर न घाट हुने गरेको होला भन्ने लाग्यो । ति नानीले गाएको त्यो गित अहिले सम्म पनि मेरो मानस पटलमा  गुञ्जीन्छ । तर दुर्भाग्य उनैको विचल्लीको खवर मैले बनाउनु प¥यो । उनलाई त्यसै गाउँको ठुला जात भनिने विवाहित पुरुषले गर्भ धारण गराएर भाग्यो । अहिले त्यो छट्टुले मैले मात्रै हो र ? भनेर उल्टै उनको चरित्रमा दाग लगाउने गरेको छ रे । उनि भन्छिन् उ शिवाय म अरुसंग बसेकी छैन् । कति राम्रो सन्तान जन्मेको छ तर समाजका त्यस्ता  छट्टुहरु उहिं क्या ‘...मैले त है दाई माकुरीले हो.........भने र्झैै गर्छन् ।
उनलाई त्यो विवाह लगायतका स्थानमा ठकुर्नी जस्ती भनेर फुरुक्क नपारेको भए सायद उनि बिग्रने थिईनन् कि भन्ने लाग्छ । दलितका घरको विवाहमा दलितबाटै दलित अपेहिलत भएको मेरो संष्मरण त एउटा उदाहराण मात्रै हो । जिल्लामा अहिले प्रायः प्रत्येक दलितको घरमा हुने विवाह र अन्य कार्यको भोज भतेरमा दलिहरु अपमानित हुने संष्कृति मौलाएको छ भने ग्रैह दलितहरुको विवाह लगायतको भोज भतेरले सु–संष्कृतिको विजारोपण भएको छ ।  जसलाई गाउँ स्तर सम्म अनुशरण गर्न सकिए हाम्रो समाजले काँचुली फेर्ने छ ।
तर दलिहरु जसले आफुलाई निकै सभ्य र सम्पन्न ठान्छन् उनिहरुले  गर्न थालेको यस्ता दुई खाले भोज भतेरलाई म त  कलंक निम्ताईएको हो भन्छु ।  अरु कुरा छाड्नु न , निकै दलित आन्दोलनमा लागेको भनिएको र आफुलाई परिवर्तनको संवाहक हुँ भन्दै दलितहरुका भोट तान्ने विभिन्न दलका नेता रहेका दलित अगुवाहरुको विवाह भोजमा झन दलितहरु बढि अपमानित हुने गरेका छन् । आफुहरु क्षेत्री वाहुनहरुको विवाहमा गएर थोरै मात्र विभेद भएको पाए भने पाखुरा निमोठ्न थाल्ने सदरमुकाम कै  केहि दलितहरुको विवाहमा के सम्म गरियो भने विवाहको निमन्त्रण कार्ड सम्म दलितलाई र गैह्र दलितलाई बेग्ला बेग्लै छपाईयो ।
एक दिनको भोजका लागि दलितलाई कार्ड अर्को दिनको भोजका लागि ग्रैह्र दलितलाई कार्ड बाँड्ने उनि जिल्लाका पुराना र निकै कहलाएका दलित नेता मध्ये एक हुन् । कुनै समय दलितको आवाज वुलन्द गरेर राजनितिमा लागेका उनि अहिले आफुलाई दलित हुँ भन्ने ठान्दैनन् । कुनै समय घरमा पाडो काड्दा गर्धन छिन्न नसकेर घरको तलामा मुर्छित पाडो उफ्रदै वल्लो कोठा र पल्लो कोठा गर्दै तला नै भत्काई दिएको देख्नेहरु साँछी छन् तर उनले अहिले पाडो खान त्यति रुचाउँदैनन् । अन्य दलितहरु पनि कतिपय यस्ता भई सके जसले कुनै समय पारेको पास ( रक्सी बनाई सकेको जाँड ं) सम्म खाए । जो जसलाई अहिले सिक्नेचर र खुकुरी रम नभई हुन्न ।
उनिहरुका विवाह भोजमा कुनै गरिव दलित नगए हुन्छ । जनता जान त त्यस्ता दलितलाई बोलाईदैन । किन कि पहिरन मिल्दैन । यि र यस्ता विभेद सिर्जना गर्नेहरु नै फेरी दलितका नाममा सरकारी कुनै कार्यक्रम आयो कि सबै भन्दा पहिला विलो खोज्छन उनिहरु नै । पक्की घर छ , बाथरुम , शौचालय भन्ने हो भने फाईव स्टार होटलमा भन्दा कम छैन तर जव दलितहरुलाई साईफन बाडियो भने उनिरुले नै लैजान्छन र पछि घर मै काम गर्ने उपल्लो जाति भनिने गरिवलाई बेच्छन् । अनि थर बिश्वकर्मा, सुनार, परियार आदि न राख्ने कसैलाई खडगथोकी, गौतम,  कसैलाई पन्थी , वराल र गौतम लगायत लेखाउनु पर्ने । यर्थात उनिहरु नै आफ्नो जातलाई घृणा गर्छन भन्ने बुझाउछ ।
यो तितो सत्य कसैलाई नपच्न पनि सक्छ तर सत्य यहि हो र स्थान न तोकौं , दलितका नाममा आएका प्राय धेरै जसो  कार्यक्रमबाट  ति गरिव दलितहरु  बञ्चीत हुने गरेका छन् । जिल्लाका कैयौं दलितहरु सुकुम्वासी छन् । म जुन विवाहमा गएको थिएँ त्यो विवाह घर भन्दा बाहेकका छिमेकी दलितहरु झण्डै एक दर्जन घरधुरी सुकुम्वासी छन् । उनिहरुका छोरा छोरी अशिक्षित र बेरोजगार छन् तर त्यस विवाह घरका छोरा छोरीले एसएलसी पास ग¥यो कि त कुन कुनै स्कुल मैं भए पनि रोजगार पायो भनेर जाने हुने अवस्था छ ।
अतः त्यस्ताले सिंङ्गो दलित समुदायलाई अपमानित हुने गरी किन त्यस्ता भोज भतेर गर्छन त ? कारण त्यही ईस्टा राख्ने काम पटाउने । अहिलेको परिवर्तित समाजमा निम्ता एक अर्को समुदायलाई गर्ने क्रम बढेको छ र यो सकरात्मक कदम पनि हो तर किन ग्रैह दलितहरुले झैं समान रुपले एकै स्थानमा भोज गर्न सक्दैनन त्यस्ता दलितहरु ? एकै स्थानमा भोज गर्ने, सवै समुदायलाई बोलाउने ईच्छा लागे खान्छ नत्र खाँदैन गरे के हुन्छ ? यहि प्रश्न गर्दै फर्किएको थिएँ म तर एक वर्ष नवित्दै सदरमुकाम मै ग्रैह दलितको भोजमा दलितलाई सम्मान–सत्कार र दलितहरु कै विवाहमा अपमान खपेको गुनासो सुन्नु प¥यो । मेरो यो संष्मरण पाठकले मन पराई दिए  र सवैलाई पाच्य भए रेडियोमा पनि पढिने छ । जो आज्ञा पाठक महानुभावको................


Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग